स्वाब नै नलिइ कोरोना परीक्षण, नौ हजार तिरेपछि घरैमा आइपुग्थ्यो रिपोर्ट
अस्पताल सञ्‍चालकसहित आठ जना पक्राउ परे

देशमा कोरोना संकट बढिरहेका बेला अनेक किसिमका फर्जी र ठगी धन्दा पनि बढ्दै गएका छन्। कोरोना जस्तो गम्भीर स्वास्थ्य समस्यालाई पनि फर्जी काममा संलग्नले रातारात कमाउने माध्यम बनाइरहेका छन्।

वैदेशिक रोजगारीमा जाने युवाहरूबाट प्रतिव्यक्ति नौ हजार रुपैयाँ लिँदै नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा प्रहरीले मंगलबार एउटा गिरोहलाई नै समातेको छ। 
महानगरीय अपराध महाशाखाको टोलीले सिनामंगलस्थित एक ल्याबमा छापा मारेपछि नक्कली पिसिआर रिपोर्ट बनाउने गिरोहको पर्दाफास भएको हो। 

उक्त ल्याबले मानिसबाट स्वाब नै नलिइ कोरोना भाइरस संक्रमण पोजेटिभ या नेगेटिभ रहेको पिसिआर रिपोर्ट दिने गरेको खुलेपछि प्रहरीले छापा हानेको थियो।

नेपालबाट रोजगारी या अन्य काममा जाने नेपाली र विदेशीहरु समेत कोरोनाको नेगेटिभ रिपोर्ट देखाउँदै उड्ने गरेका थिए। तर जब उनीहरु उता पुगेर परीक्षण गर्थे तब पोजेटिभ रिपोर्ट आउन थालेपछि एक कान दुई कान हुँदै ल्याबको फर्जी धन्दा प्रहरीसम्म पुगेको थियो। 

अपराध महाशाखामा पनि यही कुरा आइपुगेपछि  अनुसन्धान थालेर छापा हानिएको जानकारी प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले बताए। 'नेपालमा पिसिआरको नेगेटिभ रिपोर्ट देखाएर युवाहरु विदेश पुगेका हुन्थे तर विदेश पुगेपछि परीक्षण गराउँदा आउने पोजेटिभ रिपोर्टले देशकै अपमान भएको छ', उनले भने, 'यसले गर्दा नेपालमा गरिएको पिसिआर परीक्षणलाई मान्यता नै नदिने चर्चा हुन थालेपछि फर्जी धन्दामा संलग्नको खोजी थालेका थियौँ।'

नक्कली पिसिआर रिपोर्ट बनाउने ल्याबको खोजी गर्दै जाँदा महाशाखाको टोली सिनामंगलस्थित सुरिया हेल्थ केयर प्रालिको ल्याबमा पुगेको थियो। जहाँबाट सम्भावित संक्रमितको स्वाब नै संकलन नगरी नक्कली कोरोना रिपोर्ट बनाउने गरेको पुष्टि भएको थियो। त्यसपछि महाशाखाका एसपीसहितको टोलीले उक्त ल्याबमा छापा हानेको हो। प्रहरीले स्वास्थ्य मन्त्रालयका प्राविधिकलाई समेत बोलाएर ल्याब छिरेको थियो।



प्रहरी र स्वास्थ्य मन्त्रालयको टोलीले ल्याबमा छापा हान्ने क्रममा स्वाब नै संकलन नगरी पिसिआर रिपोर्ट बनाइसकेका केही विवरण नै फेला पार्यो। उक्त ल्याबले स्वाब नै नलिई एकजनाबाट ९ हजार रुपैयाँ लिएर नक्कली रिपोर्ट बनाउने गरेको प्रमाण तत्कालै त्यही फेला पार्‍यो।

प्रहरीले चारवटा नक्कली पिसिआर रिपोर्ट भेट्टाएपछि कान्तिपुर अस्पतालका प्रमुखसमेत रहेका सुरिया ल्याबका सल्लाहकार खेलानन्दप्रसाद सिंहलाई पक्राउ गरेको छ। नक्कली ल्याबका अध्यक्ष भारतीय नागरिक सिपी श्रीकुमार रहेको डिएसपी रेग्मीले बताए। उनी भारतमै बसेर नेपालमा फर्जी धन्दामा संलग्न रहेको खुलेको छ।



प्रहरीले ल्याबमा छापा हानेर सल्लाहकार सिंहसहित आठ जनालाई हिरासतमा लिएको छ। नक्कली पिसिआर रिपोर्टमा मुछिएर समातिनेमा झापा गौरादहका चित्रबहादुर रायमाझी, सप्तरीको राजविराजका प्रमोद कुमार यादव, महोत्तरीको गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीको सोनामका अमनकुमार यादव, मोरङको विराटनगरका वजेश पोखरेल, महोत्तरीको गौशालाका बादल मिरिङछिङ, दोलखाको बैतेश्वरीका सरोज क्षेत्री र सप्तरीको मध्यपुराका डा. खेलानन्दप्रसाद सिंह छन्।

पक्राउ परेका सबैले मिलेमतोमा जनही नौ हजार लिएर दुई घण्टाभित्रै कोरोनाको पिसिआर रिपोर्ट बनाइदिन्थे। उनीहरुले नौ हजार लिएपछि पिसिआर रिपोर्ट पनि सम्बन्धित व्यक्तिको घरमै पुर्‍याइदिने गरेको पनि खुलेको छ।

यो ल्याबबाट नक्कली कोरोना रिपोर्ट बनाउनेको संख्या खोजी भइरहेको डिएसपी रेग्मीले जानकारी दिए। तर अहिलेसम्म यहाँबाट नक्कली रिपोर्ट बनाउनेको संख्या एकीन नभएको रेग्मीले बताए। 

कोरोना फैलिँदै गएपछि स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षणका क्रममा सरकारी र निजी दुवै ल्याबका लागि दुई हजार रुपैयाँ तोकेको छ। उता एन्टिजेन परीक्षण चाहिँ एक हजार रूपैयाँमै गर्न सकिन्छ। पिसिआर प्रविधिबाट स्वाब लिएर परीक्षण गरेको रिपोर्ट अहिले एकदेखि दुई दिनमा तयार भइसक्छ। एकै दिनमा निकाल्दा पनि ५ देखि ६ घण्टा कुर्नै पर्ने हुन्छ। 

  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार २२:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया