नेकपा माओवादी केन्द्रले तत्कालै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। ओलीलाई दिएको समर्थन फिर्ता लिन दबाब बढिरहे पनि माओवादी तत्कालै पछि नहट्ने भएको हो।
माओवादीले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्न बहुमत नपुगेसम्म समर्थन फिर्ता नलिने रणनीति बनाएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई भनिसकेका छन्।
कांग्रेसले पनि अविश्वास प्रस्ताव अघि बढाएर आफ्नै नेतृत्वमा सरकार बनाउने टुंगो गरिसकेको छ। तर सरकारबाट ओलीको बहिर्गमन झन् झन् जटिल बन्दै गएपछि कांग्रेस र माओवादी असमञ्जसमा परेका छन्। कांग्रेसले तत्काल सरकार गठनमा रुची नदेखाएको निचोड निकालेको माओवादी अविश्वास फिर्ता लिँदा ओलीलाई नै सहज हुने ठहरसहित पर्ख र हेरको रणनीतिमा छ।
मंगलबार सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुरा भएको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई माओवादीको समर्थन नरहेको स्पष्टीकरण दिँदै प्राविधिक कारणले लेखेर मात्रै पठाउन नसकेको बताएका थिए।
प्रवक्ता श्रेष्ठले पनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित भएपछि मात्रै समर्थन फिर्ता लिने पक्षमा माओवादी रहेको संकेत गरेका छन्। माओवादीको बैठक आज पनि पेरिसडाँडामा बसिरहेको छ। उक्त बैठकमा समर्थन फिर्ताको विषयमा भन्दा विधान केन्द्रित छलफल हुने एकजना नेता गिरिराजमणि पोखरेलले बताएका छन्।
अहिले कांग्रेसले माओवादीलाई अविश्वास फिर्ता लिनु भनिरहेको छ भने माओवादीले कांग्रेसलाई अविश्वास प्रस्ताव दर्ताको ग्यारेन्टी खोजिरहेको छ। यहीबीचमा दुई पार्टी अड्किएका छन्। यसैबीच नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अविश्वास अघि बढाउन आग्रह गरेका थिए। उनीहरुले अविश्वास अघि बढाए ओलीलाई बिदा गर्न आफ्ना सांसदहरुले फ्लोर क्रस गर्ने बचन दिएका छन्।
अहिले माओवादीको नेतृत्वमा सरकार गठन हुने कुनै सम्भावना देखिएको छैन। नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय कांग्रेसले गरिसकेको छ। नेता पोखरेलले आफूहरुसँग पर्याप्त संख्या नभएपछि कांग्रेसलाई नै पहलकदमी अघि बढाउन भनिएको बताए।
वर्तमान सरकारको विकल्प कांग्रेस नेतृत्वको सरकार हुने निचोड माओवादीको छ। कांग्रेस सभापति देउवा पछिल्लो समय अमेरिकी परियोजना एमसिसी पास गर्ने र पार्टीको १४ औँ महाधिवेशन भदौ आसपासमै गर्नेतिर केन्द्रित भएका छन्। किनभने उनी फेरि पनि पार्टी सभापतिमा दोहोरिने रणनीतिमा छन्। देउवा ओलीलाई बिदा गरेर केही समयका लागि आफू प्रधानमन्त्री बन्ने भन्दा मध्यावधिमा गएर बहुमतसहित सरकारमा फर्किने योजनामा छन्।
माओवादीको पनि आशंका यही छ। उसले देउवा अहिले आफूहरुसँग संवाद पनि गर्ने तर ओली र महन्थ ठाकुरसँग मिलेर निर्वाचनको वातावरणमा लागिरहेको अनुमान गरेको छ। कांग्रेसले चुनाव चाहिरहेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीलाई नै फाइदा हुने माओवादीको निचोड छ। संवैधानिक हिसाबमा पनि यो सरकार ढलेपछि प्रधानमन्त्रीका लागि राष्ट्रपतिले संसदको ठूलो दल अर्थात एमालेलाई नै आह्वान गर्नुपर्छ। त्यसपछि मात्रै अन्य दल विकल्पमा आउन सक्छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।