६ वर्षमा उठेको धरहरा : निर्माण नसकिँदै उद्घाटनको हतार
टावरसहित ६० प्रतिशत पुनर्निर्माणकाे काम सकियो

निकै लामो चर्चा र विवादका बीच अन्ततः धरहरा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ६ वर्षअघि भूकम्पका कारण पूर्णरुपमा क्षति भएको धरहराको २२ तला निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको हो । धरहरा निर्माणको कार्य अन्तिम चरणमा पुगे पनि धरहराको अन्य भौतिक संरचनाको निर्माण कार्य भने पूर्णरुपमा सम्पन्न भइसकेको छैन । 

प्राधिकरणका अनुसार, हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक संरचना निर्माण कार्य सम्पन्न भएको छ । आइतबार मात्रै धरहराको टुप्पोमा सुनको गजुर राख्ने कामसमेत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । 

१२ वैशाख २०७२ को भूकम्पले नौ तले धरहरा ध्वस्त बनायो । पुरानो धरहराको भग्नावशेषलाई त्यहीँ राखेर नजिकै २२ तले नयाँ धरहरा निर्माण गरिएको छ । यतिबेला २२ तलाको धरहरा ठडिएर त्यसमा सुनको गजुर समेत राखिएको छ भने १/२ दिनमा धरहरा टावरको साज सज्जाको सम्पूर्ण काम सकिने छ । 

भौतिक संरचना निर्माण अगावै उद्घाटनको तयारी 
विनाशकारी भूकम्पका कारण ढलेको धरहराले पुनर्जीवन पाएसँगै यही वैशाख ११ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । यद्यपि हालसम्म धरहरा टावरको मात्रै निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिएका छन् । 

भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भएपनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने उनले स्पष्ट पारेका छन् । मानन्धरका अनुसार, औपचारिक रुपमा सर्वसाधारणका लागि आगामी मंसिरदेखि मात्रै खुला गरिने छ । 



वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको प्रधानमन्त्री ओलीले विधिवत रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए । 



रमन कन्स्ट्रक्सनले जिम्मा पाएको धरहरा निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ । समग्र रुपमा अहिले ६० प्रतिशत मात्र काम सकिएको मानन्धर बताउँछन् ।  

धरहरा पुनर्निर्माणको आयोजना म्यानेजर श्याम श्रेष्ठका अनुसार आयोजनाले प्राधिकरणसँग थप २१ महिनाको समय माग गरेको तर आठ महिना मात्रै थपिएको छ । त्यसकारण थप समयभित्र सबै काम सक्न मुस्किल रहेको उनी बताउँछन् । 

‘धरहरा निर्माणको मुख्य काम सकिएको छ । तर, सौन्दर्यीकरण र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुनसक्छ,’ म्यानेजर श्रेष्ठले भने । रमन कन्स्ट्रक्सनले ठेक्का पाएको धरहराको पुनर्निर्माणमा ३ अर्ब ४८ करोड लाग्ने अनुमान गरिएको छ । त्यस्तै हालसम्म निर्माणका लागि २ अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको श्रेष्ठले बताए । 

सबैले हात झिकेपछि प्राधिकरणलाई निर्माणको जिम्मा
विवादबीच सुरु भएको धरहरा निर्माण कसले गर्ने भन्ने विषयमा हानथाप जस्तै भयो । सुरुमा धरहरा निर्माण नेपाल टेलिकमले बनाउने गरी प्रक्रिया अघि बढाइएको थियो । २९ असार ०७३ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहराको निर्माण गर्ने जिम्मा टेलिकमलाई दिइएको थियो । 

टेलिकमले धरहरालाई व्यावसायिक रुपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि विभागले अस्वीकार ग¥यो । टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिइएको हो ।

धरहरा पुनर्निर्माणका लागि प्राधिकरणले २१ वैशाखमा टेन्डर आह्वान गरेको थियो । जसमा सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्स्ट्रक्सन र कुमार सिएफइसी गरेर ६ वटा निर्माण कम्पनीले आवेदन दिएका थिए । यीमध्ये आशिष कन्स्ट्रक्सन प्राविधिक मूल्यांकन बाटै बाहिरिए पछि रमन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो ।


 
१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहरा निर्माण गरेका थिए । उनले महारानी त्रिपुरासुन्दरी देवीको सम्झना स्वरुप यो स्मारक निर्माण गरेको किंवदन्ती छ । त्यतिबेला बनेको ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो । त्यसपछि नौ तला पुनर्निर्माण गरिएको हो । 

धरहरा वरपरको सबै काम समयमै गर्न कठिन : प्राधिकरण
धरहरा टावरको निर्माण कार्य सकिएपनि त्यस वरपर निर्माण हुने संरचना भने तोकिएकै समयमा सकिने सम्भावना छैन । धरहरा निर्माण दुई वर्षमा सम्पन्न हुने गरी २०७५ मा रमन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सोही वर्षको कात्तिकदेखि कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । 

सम्झौताअनुसार गत २० असोजभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेको थियो । तर, प्राधिकरणले भने नौ महिना मात्रै समय थपेको छ । 

थपिएको समयमा पनि काम सम्पन्न गर्न चुनौतीपूर्ण रहेको विज्ञ इन्जिनियर मानन्धरले बताउँछन् । ‘तीन महिनामा काम सम्पन्न गर्न गाह्रो छ । बगैँचा बनाउने, बाटो बनाउनेदेखिका काम अझै बाँकी छन्,’ उनले भने, ‘दिनको दुई, तीन सिफ्टमा काम गरेर, रातारात चार–पाँच सय कामदार राखेर गरियो भने काम सकिएला, होइन भने अहिले भएको जस्तो सयजना कामदार राखेर गर्दा समयमा काम सम्पन्न हुँदैन ।’ 

धरहरा निर्माण कार्यमा लकडाउनअघि कुल तीन सय ५० जनाले काम गरेका थिए । लकडाउन अवधिमा त्यो संख्या घटेर २०–२५ जनामा सीमित भएको थियो । 

यस्तो बन्दै छ २२ तले धरहरा
सरकारले पुनर्निर्माणको क्रममा नौ तले धरहरालाई २२ तले बनाउने निर्णय गर्यो । धरहरा ऐतिहासिक सम्पदा भएपनि अहिले यसको पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनको रुपमा भएको छ । यहाँ तीनतले पार्किङ स्थलको निर्माण कार्य जारी रहेको छ । 

सुन्धारा, न्युरोड, रत्नपार्क क्षेत्रमा आउने गाडी यहाँ सःशुल्क पार्किङ गर्न सकिने छ । न्युरोड क्षेत्रको पार्किङ समस्या समाधान गर्न यो सुविधा थप्न लागिएको प्राधिकरणले बताएको छ । आधुनिक ढंगले पुनर्निर्माण गर्न जमीन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल राष्ट्र बैंक र सुन्धारामा रहेको सबै जमिन एकीकृत रुपमा विकास गर्नेगरी लिएको थियो । जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा भएको धरहराले अब भने ४२ रोपनी क्षेत्रफल ओगटेको छ ।

प्राधिकरणबाट पारित डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत बनाइएको छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिने व्यवस्था रहेको छ । यसबाहेक धरहरा चढ्नका लागि भर्याङको पनि निर्माण गरिएको छ । 

नयाँ बन्ने धरहराको संरचना अपांगमैत्री पनि हुनेछ । धरहराको २०औँ तलामा ‘अब्जर्भेसन डेस्क’ निर्माण गरिनेछ । यहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ । बीस तलाबाट धरहराको टुप्पासम्म जान प्रयोग गरिने लिफ्ट पारदर्शी हुनेछ । धरहरालाई हरियालीयुक्त बनाउन एउटा बगैँचा बनाउने काम अघि बढाइएको छ । बगैँचालाई ‘ह्यांगिङ गार्डेन’ नाम दिइएको छ ।

धरहरा पुनर्निर्माणका क्रममा सुन्धारा पनि मर्मत गरिने प्राधिकरणले जनाएको छ । डिजाइनअनुसार धरहरा प्रवेश गर्ने मुख्य ढोकामा पानीको अत्याधुनिक फोहोरा बनाइने छ । धरहरामा राखिने पानीको फोहोरा ५० फिट अग्लो हुनेछ । यहाँ सङ्ग्रहालयसमेत निर्माण गर्ने तयारी छ । संग्रहालयमा पुराना सिक्का छाप्ने मेसिन राखिने छ । यसको १०औँ तलामा मिनी थिएटर रहने छ । जहाँ प्रोजेक्टरबाट धरहराको इतिहासबारे भिडियो देखाइने छ । 

  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १४:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया