सुरियाको पिसिआर रिपोर्ट : खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं : कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइएको हो। 

कोरोना जाँचका लागि गरिएको पिसिआर परीक्षणको नक्कली रिपोर्टले गर्दा ती कामदारहरूले विमानस्थलबाटै यात्रा रोक्नु परेको हो। सिनामंगलस्थित सुरिया हेल्थ केयर प्रालिबाट जारी भएका सबै पिसिआर रिपोर्ट नक्कली पाइएपछि रोजगारीमा खाडी हिँडेका सबै १२६ नेपाली र भारतीय कामदार फिर्ता गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश नाथ बास्तोलाले बताए।

बास्तोलाका अनुसार ती नेपाली र भारतीय कामदार बुधबार बिहान एअर अरेबिया र एअर जर्जियामार्फत् साउदी अरेबिया र युएईसहितका मुलुकमा जान तयारी अवस्थामा विमानस्थल पुगेका थिए।

सुरिया ल्याबकै नाममा नक्कली पिसिआर रिपोर्ट बनाएको पुष्टि भएपछि प्रहरीले डाक्टरसहित ८ जनालाई मंगलबार पक्राउ गरिसकेको छ। प्रहरीले ल्याबमा छापा हानेर कान्तिपुर अस्पतालका प्रमुखसमेत रहेका सुरिया ल्याबका सल्लाहकार खेलानन्दप्रसाद सिंहसहित आठ जनालाई हिरासतमा लिएको छ। 

नक्कली पिसिआर रिपोर्टमा मुछिएर समातिनेमा झापा गौरादहका चित्रबहादुर रायमाझी, सप्तरीको राजविराजका प्रमोद कुमार यादव, महोत्तरीको गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीको सोनामका अमनकुमार यादव, मोरङको विराटनगरका वजेश पोखरेल, महोत्तरीको गौशालाका बादल मिरिङछिङ, दोलखाको बैतेश्वरीका सरोज क्षेत्री र सप्तरीको मध्यपुराका डा. खेलानन्दप्रसाद सिंह छन्।



उक्त ल्याबले कोभिड–१९ परीक्षण अनुमति लिएको थियो। उनीहरुसहित एजेन्ट, ल्याब टेक्निसियन र चिकित्सको मिलेमतोमा प्रतिव्यक्ति ९ हजार रुपैयाँमा पिसिआर रिपोर्ट बेच्ने गरेको खुलेको थियो। उनीहरुले पिसिआर रिपोर्ट पनि घरमै पुर्‍याइदिने गरेको खुलेको छ।



  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १३:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया