ओलीविरुद्ध सर्वोच्च अदालत जाँदै खनाल-नेपाल समूह

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल सर्वोच्च अदालत जाने भएका छन्। खारेजीमा परेको नेकपाको जस्तै विवाद एमालेमा पनि जारी रहेका बेला नेपाल-खनाल समूह ओलीविरुद्ध अदालतको ढोका ढक्ढक्याउन तयारीमा रहेको हो। 

ओलीले नेकपा एमाले विभाजनको योजनामा लागेको भन्दै संसदीय दलमार्फत स्पष्टीकरण पत्र पठाएपछि खनाल-नेपाल समूह सर्वोच्च अदालत जान लागेको हो। यो समूहले आफूहरुले समानान्तर गतिविधि गरिरहे पनि एमाले विभाजनको कुनै निर्णय नलिएको भन्दै ओलीको पत्रविरुद्ध अदालत जाने निचोड निकालेको हो। 

नेपाल-खनालका सांसदहरु दलसम्बन्धी कानुन प्रतिकूल हुनेगरी समानान्तर गतिविधिको आरोपमा सांसदहरू माथि कारबाही गर्न स्पष्टीकरण पत्र पठाइएको भन्दै अदालत जाने निर्णयमा पुगेका हुन्। उनीहरुले आफूनिकट कानुन व्यवसायीमार्फत ओलीविरुद्ध सम्प्रेषणसम्बन्धी मुद्दा दर्ता तयारी गरेका हुन्। 

कर्णाली प्रदेशमा दलको ह्विप उलंघन गर्दै माओवादीका मुख्यमन्त्रीको पक्षमा नेपाल समूहका सांसदले भोट हालेपछि ओली सशंकित भएका छन्। उनले संघमा पनि त्यही कदम चाल्न सक्ने भन्दै संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधिसकेका छन्। 

तर नेपाल-खनाल समूहले ओलीको पत्र अनधिकृत रहेको दाबी गरेका छन्। उनीहरुले पार्टीको ह्विप अहिलेसम्म उलंघन नगरेको भन्दै कुनै कारणबिना स्पष्टीकरण सोधिएको गुनासो गरेका छन्। त्यहीकारण उनीहरुले उत्प्रेषण आदेश माग्न लागेका हुन्। यो समूहले कानुन व्यवसायीमार्फत सके आजै नभए भोलि रिट दर्ता तयारी गरेको छ।

यो समूहले आफूहरु एमालेमै बसेर संघर्ष गरिरहने जनाउँदै स्पष्टीकरणको उत्तर पनि दिने तयारी गरेको छ। ओलीले नेपाल-खनाल, भीमबहादुर रावलसहितलाई दुई दिनभित्र स्पष्टीकरण दिन भनेका छन्। अन्य सांसदहरुलाई भने ३ दिनको समय दिइएको छ।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १३:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया