बालुवाटारमा योगेशले प्रधानमन्त्रीलाई भने : पार्टी जोगाऊँ, माधव-झलनाथसँग संवाद थाल्नुस्

काठमाडौं : सत्तारुढ नेकपा एमालेका एकजना नेता योगेशकुमार भट्टराई बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। एमालेमा ओली र माधव-झलनाथबीचको द्वन्द्व चुलिइरहेका बेला योगेशले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई बालुवाटारमा भेटेर संवाद प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्। 

माधव-झलनाथ समूहमा रहेर पनि पछिल्लो समय निष्कृय बनिरहेका योगेशले प्रधानमन्त्रीलाई विगतका तीतामीठा भुलेर संवादलाई उदार मनका साथ अघि बढाउन अपिल गरेका हुन्। 'तपाईं पार्टी अध्यक्ष भएकाले एमालेलाई एकतावद्ध बनाइराख्न तपाईंको प्रमुख भूमिक सबै नेता कार्यकर्ताले खोजेका छन्', बालुवाटारमा उनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका एकजना सल्लाहकारले भने, 'अब विगतका तीतामीठा भुलेर उदार मनका साथ तपाईंले पार्टीका नेताहरु समेट्नुपर्यो। यसमा तपाईंकै विशेष भूमिका चाहिएको छ। माधव-झलनाथ कमरेडहरुसँग संवाद थाल्नुस्, पार्टीलाई बचाउन सकिन्छ।'

नेता भट्टराईले प्रधानमन्त्रीले यदि यसरी एकताका लागि कदम चालेमा आफूले पनि साथ दिने बताएका छन्। 'तपाईंले एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नु जरुरी छ', उनले बालुवाटारमा भनेका छन्, 'त्यसका लागि हामी साथ दिन तयार छौँ, म पनि तयार छु।'

नेता भट्टराईले एमाले फुटेर जाँदा प्रतिक्रियावादी मात्रै खुसी हुने कुरा आफूले प्रधानमन्त्रीलाई सम्झाएको बताएका छन्। 'एमालेको विभाजनबाट प्रतिक्रियावादी मात्रै खुसी हुन्छन्, जनता निराश हुन्छन्', उनले प्रधानमन्त्रीलाई भने, 'त्यसैले अब केही ढिला नगरी संवाद अघि बढाउनुस्, सबै नेतालाई बोलाएर कुरा गर्नुस्, अझै पनि हामी जोगिएर अघि बढ्न सक्छौँ।'

उनले प्रधानमन्त्रीलाई एमालेलाई बचाउने गरी सर्वोच्च अदालतले फागुन २३ गते दिएको फैसला अनुसार २०७५ जेठ २ मा फर्किन आग्रह गरेका छन्। 'नेताहरूसँग संवाद गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउनुस्', उनले प्रमलाई भने, 'सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसला अनुसार २०७५ जेठ २ मा फर्किएर अघि बढ्नुस्, यसो गर्दा एमाले एकतावद्ध भएर अघि बढ्छ।'

पार्टी अध्यक्ष ओलीले एमाले सांसदसमेत रहेका भट्टराईसहित २७ जना सांसदलाई मंगलबार स्पष्टीकरण सोधेका थिए। माधव र झलनाथसहितलाई २ दिने र योगेशसहितलाई ३ दिने म्याद दिएर ओलीले स्पष्टीकरण सोधेका थिए। यो स्पष्टीकरण प्रकरणसँगै माधव-झलनाथ पक्ष सर्वोच्च जाने तयारीमा छ।



सोमबार बालुवाटारमै बसेको एमाले केन्द्रीय कमिटी बैठकमा माधव पक्षीय विष्णु रिजाल, सोम मिश्र र तिलकुमार नेम्वाङ सहभाी भएका थिए। उनीहरु तीनैजना माधव पक्षमा थिए। तर पछिल्लो समय उनीहरुले आफूलाई एकताको पक्षमा उभ्याएको भन्दै बालुवाटार गएका थिए। योगेशको बालुवाटार प्रवेशलाई पनि अर्थपूर्ण मानिएको छ। पछिल्लो समय उनी माधव-झलनाथ पक्षमा कम सक्रिय भएर पार्टी विभाजन रोक्ने अभियानमा लागेका छन्। 



  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १६:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया