सेयर बजारमा कोराना त्रास, ३२.४१ अंकले घट्यो बजार

साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ३२.४१ अंकले घटेको छ । निकै उतार चढावबीच मंगलबार झिनो अंकले सुधार भएको सेयर बजारमा बुधबार पुनः पहिरो गएको छ । 

यस दिन समग्र नेप्से परिसूचक १.२२ प्रतिशतले घटेको हो । यससँगै बुधबार नेप्सेमा अन्तिम कारोबार हुँदै २६३२.२१ बिन्दुमा पुगी बजार बन्द भएको छ । 

त्यस्तै बजारमा ठूला तथा राम्रा कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यस दिन १.२९ प्रतिशतले घटेको छ । ६.२१ अंकले घट्दै यस दिन सेन्सेटिभ इन्डेक्स ४७३.४० बिन्दुमा झरेको नेप्सेले देखाएको हो । 

समग्र नेप्से परिसूचक घटे पनि यस दिन कारोबार रकममा भने केही सुधार देखिएको छ । मंगलबार २१६ कम्पनीको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर कुल ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँमा खरिद-बिक्री भएको थियो । बुधबार भने २१४ कम्पनीको १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता सेयर कुल ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

पछिल्लो केही दिन यता सेयर बजारमा कोरोना असर देखिन थालेको छ । नेपालमा दोस्रो चरणको कोरोना भाइरस तिब्र रूपले फैलिन थालेसँगै सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिन थालेको हो ।

सरकारले मंगलबार मात्रै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरेका निर्णयहरू राजपत्रमा प्रकाशित गरेका थिए । सरकारले काठमाडौं उपत्यका लगायतको विद्यालय बन्द गर्ने, सार्वजनिक सभा सम्मेलन, भेटघाट, पूजाआजा गर्न नपाउने, २५ जनाभन्दा बढी भेला हुन नपाउने जस्ता निर्णय गरेको छ । त्यससँगै लगानी कर्ताहरू फेरि लकडाउन हुने आशंका गर्न थालेको देखिन्छ ।



पुनः लकडाउन हुने आशंकामा खर्चको जोहो गर्न लगानीकर्ताहरूले सेयर बिक्री गर्न थालेको जानकारहरू बताउँछन् । जसका कारण पछिल्लो समय सेयर बजारमा गिरावट देखिएको उनीहरूको भनाइ छ । 

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फन्डको सूचक मात्रै ०.१२ प्रतिशतले बढेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ । त्यसैगरी, फाइनान्स, उत्पादन तथा प्रशोधन, बैङ्किङ, हाइड्रोपावर, निर्जीवन बिमा र माइक्रोफाइनान्स परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।



यस दिन बजारमा गिरावट देखिए पनि ४ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबार ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्य भने सर्वाधिक ५.१७ प्रतिशतले घटेको छ । यसबाहेक, हिमालयन पावर पार्टनर, नारायणी डेभलपमेन्ट बैंक, आइसिएफसी फाइनान्स, पाँचथर पावर, ग्लोबल आइएमई लघुवित्त लगायतको सेयरमूल्य पनि ओरालो लागेका छन् ।

  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १६:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया