वरिष्ठ नेता नेपालसँग वार्तापछि होटल मेरियटबाट बाहिरिए प्रधानमन्त्री

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब डेढ घण्टा लामो वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली होटल मेरियटबाट बाहिरिएका छन्। असन्तुष्ट नेता नेपालसँग सहमति खोज्न पार्टी अध्यक्षसमेत रहेका ओली बालुवाटारबाट नागपोखरीस्थित होटल मेरियट पुगेका थिए।

त्यहाँ दुई नेताबीच वार्ताको वातावरण मिलाउन अर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेल पुगेका थिए। दुई नेतालाई वान टु वान वार्तामा राखेपछि नेता पौडेल मेरियटबाट निस्किएका थिए।

दुई नेताबीच वार्ता चलिरहँदा होटलका हरेक तलामा कम्तीमा १० देखि १५ जना सुरक्षाकर्मी तैनाथ गरिएको थियो। होटलमा खटिएका सुरक्षाकर्मीले सञ्चारकर्मीलाई त्यहाँको दृश्य तथा तस्बिर खिच्न पनि कडाइ गरेका थिए।

एमालेमा देखिएको विभाजनतर्फको विवाद मिलाउने अन्तिम प्रयासस्वरुप यो वार्ता भएको हो। एमाले नेता योगेश भट्टराईले बुधबार दिउँसो बालुवाटार पुगेर प्रम ओलीलाई पार्टी एकता बचाउन तत्कालै संवाद थाल्न भनेका थिए। 

यसअघि चैत २ गते एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा वार्तामा बसेयता दुई नेताबीच संवाद टुटेको थियो। त्यसयता नेता नेपाल बरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बाक्लो भेटघाटमा थिए। तर ओलीसँग पानी बाराबारको अवस्था थियो। दुई नेतालाई दोस्रो तहका नेताले मिल्न बारम्बार दबाब बढाएपछि वार्ता सम्भव भएको हो।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १९:५५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया