प्रश्नपत्र आउट गर्नेलाई तत्काल कारबाही गर्न क्रान्तिकारीको माग

पूर्वाञ्चल विश्वविद्यालयमा एउटा विषयको प्रश्नपत्र बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै अर्को विषयको प्रश्नपत्र समेत आउट गर्ने परीक्षा समितिलाई तत्काल निलम्बन गरी कडा कारबाही गर्न नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियू (क्रान्तिकारी)ले माग गरेको छ ।

केही दिनअघि मात्र इन्जिनियरिङ संकायको स्नातक तहको दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा दुई घण्टाअघि बाहिरिएको थियो । त्यसभन्दा अघि प्रश्नपत्र आउट भएकोमा अहिलेसम्म कसैलाई कारबाही भएको छैन ।

बुधबार अनेरास्ववियु (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालयका संयोजक बालकुमार केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– पूर्वाञ्चल विश्वविद्यालयमा एउटा विषयको प्रश्नपत्र बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै अर्को विषयको प्रश्नपत्रसमेत परीक्षाअघि नै सार्वजनिक भएको घटनाप्रति हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको छ ।

शृङखलाबद्ध रुपमा घटेका यस खालका घटनाले सिङ्गो विश्वविद्यालयको साख र गरिमामा गम्भीर आँच पुगेको संयोजक केसीले बताएका छन् ।  उनले  पछिल्लो समयमा  राजनीतिक दलको भागबण्डा  र खिचातानीले विश्वविद्यालय अस्तव्यस्त  भएको आरोप लगाएका छन् ।

एकपछि अर्को अमर्यादित घटना घट्दा पनि विश्वविद्यालय प्रशासनको लाचारी, उदासीनता र लापरबाही अत्यन्तै आपत्तिजनक र निन्दनीय रहेको केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  

क्रान्तिकारीले  विश्वविद्यालयको साख र गरिमालाई गिर्न नदिन परीक्षा समितिमा रहेका सबैलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गरेर दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार २०:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया