होटल मेरियट : जहाँबाट बाबुरामका कार्यकर्ताले सांसद यादवलाई भगाएका थिए

सत्तारुढ नेकपामा विवाद चर्किँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाख ८ गते राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटीमध्ये एकमा ४० प्रतिशत संख्या पुग्ने गरी अध्यादेश ल्याए।

नेकपामा विवाद चर्किँदै गएर आफूलाई अल्पमतमा पार्ने बुझेपछि ओलीले वैशाख ८ मा उक्त अध्यादेश ल्याएका थिए। त्यो अध्यादेशको सबैभन्दा ठूलो प्रभाव तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीमा परेको थियो।

ओलीले ल्याएको अध्यादेशको तरंगका कारण रातारात दुई पार्टी एक भए। तर ओलीको उक्त अध्यादेश ४८ घण्टा नबित्दै आफैंले रद्द गर्नुपर्यो। गत वर्ष लकडाउनकै समयमा तनहुँका सांसद किसान श्रेष्ठ, भक्तपुरका एमाले नेता महेश बस्नेत र पूर्व आइजीपी सर्वेन्द्र खनालले सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट ल्याएका थिए।

सांसद यादव अपहरणको हल्लासँगै समाजवादी पार्टीका सात सांसदले नयाँ दल दर्ता गर्ने तयारी गरेका थिए। सरकारले ल्याएको अध्यादेशमै टेकेर नयाँ दल दर्ताका लागि समाजवादी पार्टीका सह-अध्यसमेत रहेकी रेणु यादवले नेतृत्व गर्दै सांसदको हस्ताक्षरसहित सभामुखलाई जानकारी दिएकी थिइन्

समाजवादी पार्टी फुट्ने निश्चित जस्तै भएको थियो। यो फुट जोगाउन डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवमाथि दबाब परेको थियो। दबाबबीच राजपा नेपालका नेताबीच छलफल भयो। छलफलको निष्कर्ष जनता समाजवादी पार्टी बन्यो।

काठमाडौंबाट गएको तीन जनाको टोलीले २०७७ वैशाख १० गते राति नै सांसद यादवलाई नागपोखरीस्थित मेरियट होटलमा ल्याएर राखेका थिए। तर जनकपुरबाट सांसद यादवलाई तीनजनाले ल्याएको थाहा पाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका कार्यकर्ताहरूले वैशाख ११ मा होटल घेरे। 



होटल घेरेर आन्दोलन नै गरेपछि सांसद यादवबाट त्यहाँबाट भागेर नेता भट्टराईको सम्पर्कमा पुगेका थिए। समाजवादी पार्टी फुटाउन निर्देशन प्रधानमन्त्रीबाटै आएको भन्दै उनीहरु महोत्तरी पुगेका थिए।

 त्यहाँबाट उनीहरुले फोनमै सांसद यादवलाई कुरा गराएका थिए। त्यसक्रममा पूर्वमन्त्री बस्नेतले सांसद कल्लुदेवी विश्वकर्मा आफूहरुको पक्षमा आएको बताएका थिए। त्यहीँबाट रातारात सांसद यादवलाई मेरियटमा ल्याइएको थियो। 



प्रधानमन्त्री कै निर्देशनमा समाजवादी पार्टी फुटाउने योजना बनेको बताइएको थियो। सांसद यादवसहितलाई प्रलोभन देखाएर मेरियट होटलमा राखिए पनि पार्टीबाट तीव्र दबाब आएपछि उनी त्यहाँबाट भागेका थिए। 

त्यसपछि राजनीतिक रुपमा हुने आफ्नो ड्यामेज ढाकछोप गर्न सांसद यादव आफूलाई अपहरण गरेको भन्दै बस्नेत, खनाल र श्रेष्ठविरुद्ध अपहरण मुद्दा लिएर प्रहरीकहाँ पुगेका थिए। तर पूर्व प्रहरी महानिरीक्षक खनाल र बस्नेतले काठमाडौंबाट फोन गरेर महोत्तरी पुगेको बताउँदै सल्लाहमै यादव काठमाडौं आएको दाबी गरेका थिए।

मोतीलाल दुगड के भन्छन् ? 

ओली-नेपाल वार्ता गराएका दुगडले भने आफूले व्यवस्थापन मात्रै गरेको बताएका छन्। उनले चैत २ यता पहिलो पटक जुटेका ओली-माधवकुमार नेपालबीचको वार्ता फलदायी भएको बताएका छन्। 

'आजको वार्ताबाट दुवैजना नेता प्रफुल्लित हुनुहुन्छ', उनले मुस्कुराउँदै भने, 'वार्ता सकारात्मक भएको छ। आशा छ यसले चाँडै राम्रो नतिजा दिने छ।'

उनले दुई नेतालाई वार्ताका लागि आफूले नमिलाएको भन्दै टार्ने प्रयास गरे। 'मैले कहाँबाट मिलाउनु, उहाँहरु आफैं मिलेर वार्तामा बस्नु भएको हो', उनले भने। तर उनकै नाममा होटलको रुमसमेत बुक गरेर दुवै नेतालाई जुटाइएको थियो।  

दुवै नेताको वान टु वान वार्ताअघि अर्थमन्त्री विष्णु पौडेल पनि पुगेका थिए। त्यहीँ बुधबार दिउँसो बजेटसम्बन्धी छलफलमा जुटेका पौडेल दुई नेतालाई वार्तामा राखेर आफू भने बाहिरिएका थिए। 

नेता नेपाल बालुवाटार आउन नमानेको अवस्थामा दुगडकै सल्लाह अनुसार प्रधानमन्त्री नेता नेपालसँग वार्ताका लागि मेरियट पुगेका थिए। जहाँको एउटा स्विट रुममा दुई नेताबीच डेढ घण्टाभन्दा लामो वार्ता भएको थियो। 

  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार २०:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया