माधव नेपाललाई फोन गरेर ओलीले भनेका थिए– भेटौँ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आज साँझ होटल मेरियटमा भएको भेटले राजनीति फेरि तरंगित बनेको छ । 

फुटको संघारमा रहेको एमाले यी दुई नेताको भेटले जोगिन सक्ने अनुमान धेरैले गर्न थालेका छन् ।

त्यसैले पनि ओली–नेपाल भेटको तस्वीरहरु अहिले सामाजिक सन्जालमा चर्चाको विषय बनेका छन् । यति मात्र होइन, एमालेका नेता तथा कार्यकर्ताले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

पछिल्लो समय एकअर्काका चर्का विरोधी ओली र नेपालबीच यो भेट खासमा कसरी सम्भव भयो त ? 

यसबारे बुधबार दिनभरको घटनाक्रमलाई लिऔँ । 

बुधबार दिउँसो नै एमाले नेता योगेश भट्टराई र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेट भएको थियो । पछिल्लो समय एमालेको विभाजन हुने सम्भावना बढ्दै गएपछि भट्टराई, घनश्याम भुसाल, ठाकुर गैरेलगायत नेताहरुले यसलाई रोक्न सार्वजनिक अपिल गर्दै आएका थिए । एकातिर नेकपाका दुई नेता माधवकुमार नेपाल र केपी ओलीबीच दूरी थप बढ्दै गएको थियो भने अर्कोतिर दोस्रो वा तेस्रो पुस्ताका नेता र कार्यकर्ताले यसको विरोध गरिरहेका थिए ।



यहीबीच ओली र भट्टराईको बुधबारको भेटले एमालेमा नयाँ मोड ल्याउन सक्ने संकेत देखिएको हो ।

हो, बुधबारको भेटपछि बाहिरिएका ओली र माधवकुमार नेपाल दुवैले कुनै पनि विषयमा केही पनि बताएका छैनन् । तर, प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगडले यो वार्ता सकारात्मक भएको सन्देश दिएका छन् । यही एउटा कारण र लामो समयपछि ओली र नेपालबीच भेट भएकाले एमालेमा देखिएको संकट विस्तारै हट्दै जानसक्ने अनुमान गरिएको हो ।



स्रोतका अनुसार बुधबार दिउँसो भट्टराईसँगको भेटपछि प्रधानमन्त्री ओलीले नेपाललाई फोन गरेका थिए र भनेका थिए– भेटौँ । 

ओलीले नेपाललाई बालुवाटारमा नै भेट्न बोलाएको तर माधव नेपालले नमानेपछि होटल मेरियटमा यी दुईको भेट भएको हो । यसको सहजीकरण दुगडले गरेको स्रोतको दाबी छ ।

यस भेटबारे दुवै पक्षबाट कुनै पनि विषय सार्वजनिक नभइसकेकाले यसको परकम्प के हुने हो भन्ने चाहिँ अहिले नै एकिन भइसकेको छैन ।

  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार २१:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया