नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब २ घण्टा लामो वार्ता गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि टेलिफोन संवाद गरेका छन्।
होटल मेरियटमा नेता नेपालसँग लामो संवादपछि बाहिरिएका एमाले अध्यक्ष ओलीले प्रचण्डलाई संवादको प्रस्ताव गरेका हुन्। पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि संवाद टुटेको अवस्थामा प्रधानमन्त्रीले अग्रसरता लिएका हुन्।
यसअघि पनि ओलीले प्रचण्डलाई तीन पटक फोन गरिसकेका छन्। तर प्रचण्डले ओलीलाई धोकेबाजको संज्ञा दिँदै वार्ता र सहकार्य असम्भव रहेको बताउँदै आएका छन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले प्रचण्डसँग पनि संवाद गरेर अघि बढ्न आग्रह गरेको जानकारी दिए।
'माधव नेपालसँग जस्तै उहाँले प्रचण्डसँग पनि संवाद गर्नु भयो', थापाले भने, 'प्रधानमन्त्रीले प्रचण्डलाई पनि विगतका तिक्तता बिर्सिएर कुराकानी गर्न भन्नु भएको हो। उहाँले व्यक्तिगत रुपमा साना ठूला कयौँ नेतासँग निरन्तर संवाद गरिरहनु भएको छ।'
ओलीले आजै एमाले नेता योगेश भट्टराईलाई बालुवाटारमा बोलाएर कुरा गरेका छन्। उनले आफू नेताहरुसँग संवादका लागि तयार रहेको बताएका थिए। एमालेभित्र विवाद चलिरहँदा ओलीले पछिल्लो समय संघीय सांसददेखि माधव समूहमा लागेका साना ठूला कयौँ नेतासँग कुरा गरिसकेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।