प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदन नगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन्। सरकारी निवास बालुवाटारबाट निस्किएर उनले बल्खुमा नयाँ आधुनिक भवन शिलान्यास गरेका हुन्।
भवन शिलान्यासमा जानुअघि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेका थिए। उनले नेता नेपाललाई फोन गर्दै आफू बालुवाटारबाट हिँडेको जानकारी गराएका थिए।
' म बालुवाटारबाट निस्किएँ, तपाईं कहाँ पुग्नुभयो?', ओलीको भनाइ उद्धृत गर्दै नेपालसम्वद्ध स्रोतले भन्यो, 'पार्टी कार्यालय शिलान्यास सँगै गर्नुपर्छ, म आउँदैछु, तपाईं पनि आइजानुस्।'

बल्खुमा एमाले अध्यक्ष केपी शर्मा ओली
तर नेता नेपालले आफू अहिले आफ्नै निर्वाचन क्षेत्रस्थित मूलपानीमा रहेको बताएका थिए। उनले ओलीलाई जवाफमा भने, 'म मूलपानीमा सानो भेटघाटमा छु, तपाईं जाँदै गर्नुस्, अब म निस्किन्छु।'
ओलीले बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्दै गर्दा नेता नेपाल भने काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत मूलपानीको एक भेटघाटमा व्यस्त थिए। उनी प्रदेश सांसद एवम् ओली पक्षका नेता मणिराम फुयालसहित त्यहाँ पुगेका थिए।
नेता नेपाल कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयालकी आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुगेका थिए। तर ओलीले शिलान्यास कार्यक्रम सकिसक्दा पनि नेता नेपाल उक्त कार्यक्रममा पुगेका छैनन्।
ओलीले हिजो होटल मेरियटमा भएको वार्ताका क्रममा मदननगर बल्खुमा निर्माण गर्न लागिएको पार्टी कार्यालय शिलान्यास कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए।
मेरियटमा भएको करिब २ घण्टा लामो वार्ताका क्रममा बल्खुमा भूकम्पले भत्काएको भवन भएको ठाउँमा नयाँ भवन शिलान्यासमा सहभागी हुन नेता नेपाललाई आग्रह गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो। यसअघिको महाधिवेशन आयोजक कमिटी बैठकमा उक्त निर्णय भएको थियो।

मूलपानीमा वरिष्ठ नेता माधवकुमार नेपाल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।