कहिले भरिएला बुलबुले ताल ? पर्यटकलाई खल्लो
डेढवर्षदेखि सुक्खा, प्रत्येक वर्ष घट्दै पानीका मुहान

सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित बुलबुले ताल ऐतिहासिक महत्व बोकेको एक सम्पदा हो। पर्यटकीय रुपमा पनि यो निकै चर्चित छ। 

यो तालमा जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो। समुन्द्र सतहबाट करिब ६५७ मिटर (२१५७ फिट) उचाइमा अवस्थित बुलबुले वीरेन्द्रनगरको सबैभन्दा ठूलो पानीको स्रोत हो। 

पछिल्लो डेढ वर्षयता ताल बिस्तारका लागि पानी सुकाइएको छ। ऐतिहासिक महत्व बोकेको ताल लामो समयसम्म सुकाइएको भन्दै चर्को आलोचना भइरहेको छ। 

बुलबुले तालमा अत्याधिक मात्रामा आन्तरिक पर्यटकको उपस्थिति रहन्छ। तालको सुन्दरता हेर्न बुलबुले जाने पर्यटकहरु पछिल्लो समय सुकेको ताल देख्दा निराश भएर फर्कने गरेका छन्। ताल बिस्तार हुनु राम्रो पक्ष भएपनि बिस्तारको नाममा पानी सुकाएर लामो समयसम्म बेवारिसे राख्नु गम्भीर लापरवाही भएको सरोकार वालाहरुको गुनासो छ। 

अघिल्लो वर्षको मंसिरमा बुलबुले ताल सुकाइएको थियो। पानी सुकाएर डोजर प्रयोग गरेर तालको बिस्तार गरिएको छ। बिस्तारको काम अपूर्ण हुँदा ताल बाँझो खेतजस्तै भएको छ। 

गत आर्थिक २०७६÷०७७ मा कर्णाली प्रदेश सरकार प्रदेश वन तथा वातावरण निर्देशनालयबाट १ करोड ४६ लाखको लगानीमा मजदुर निर्माण सेवाले ११ हजार वर्ग मटिरमा फैलिएको ताललाई २८ हजार वर्गमिटर भन्दा ठूलो बनाएको थियो। 



ताल बिस्तार भए पनि तालको एक भाग होचो र एक भाग अग्लो भएका कारण पानी भरिन सकेको छैन। पानी पर्खालबाट चुहिँदा ताल बाँझो खेत जस्तै देखिएको छ। पहिलो चरणको काम सकिए पनि दोस्रो चरण अन्तर्गतको काम समयमा नै हुन सकेको छैन। 

निर्देशनालयबाट हाल इक्राम खोला बग्ने छेउमा तटबन्धन लगाउने काम भइरहेको छ। ७७ लाखको ठेक्कामा के आर विल्डर्सले निर्माणको काम गरिरहेको छ। ४४ लाखको लागतमा तालको वरिपरि पर्खालमा रेलिङ लगाउने काम अभियान निर्माण सेवा सुर्खेतले गरिरहेको छ। 



वरिपरि निर्माणको काम सकेर ताललाई सरसफाई गरेको अवस्थामा ताल भरिने वन तथा वातावरण निर्देशनालयका निर्देशक शिवराम अधिकारीले जानकारी दिए। ‘आवश्यकता भन्दा कम बजेट विनियोजना हुँदा निर्माणको काम केहि ढिला भएको हो,’ उलने भने, ‘हामी सँग बजेटको अभाव छ। 

आगामी आर्थिक वर्षमा पनि प्रदेश सरकारसँग बजेट हामीले माग गर्ने तयारी रहेको उनले सुनाए।

वरपरिका अन्य व्यवस्थापकीय काममा सुधार हुँदै गए नि मुख्य ताल बाँझो खेत जस्तै हुँदा बुलबुल आउँदा नमज्जा लाग्ने गरेको त्यहा घुम्न पुगेका भूपेन्द्र भण्डारीले बताए। ‘बुलबुलेको सबैभन्दा आक्रर्षणको ताल नै हो,’ उनले भने, ‘ताल नै सुकेको देख्दा अरु जति राम्रो भए पनि नराम्रो लाग्दो रहेछ।’ 

लामो समय ताल सुकाउँदा बुलबुले उजाड जस्तै देखिएको अन्य पर्यटकहरुको पनि गुनासो छ। तालमा डोजर प्रयोग गर्दा ताल क्षेत्र वरिपरिको पानीको सहत पनि घटेको छ। 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले चालु आर्थिक वर्षको असार मसान्तसम्म बुलबुले ताल भरिने प्रतिवद्धता व्यक्त गरे। ‘तटबन्धन र रेलिङको काम सकिएपछि ताल सफा गरेर भरिने छ,’ उनले भने, ‘अहिले निर्माणको काम तिव्रताका साथ अघि बढेको छ। बुलबुले क्षेत्रमा पहिलाको तुलनामा केही पानी घटेको हाम्रो अनुमान छ।’ 

गुरु योजना अनुसार ताल विकासको काम अघि बढिरहेको नगरप्रमुख सुवेदीको भनाइ छ। 

‘हाल सिसी क्यामरा जोड्ने, वरिपरि मर्मत गर्ने, बगौँचा निर्माण गर्ने जस्ता व्यवस्थापकी काम भइरहेका छन्’ सुवेदीले सुनाए।  बुलबुले उद्यान व्यवस्थापनका लागि संघीय सरकार र वीरेन्दन्द्रनगर नगरपालिकाले चालु आवमा ५० लाख बजेट छुट्याएका छन्। बुलबुले उद्यानको गुरुयोजना अनुसार ५०औँ करोड बजेट लाग्ने भन्दै नगरप्रमुख सुवेदीले आवश्यक बजेट नहुँदा ढिलाई हुँगै गएको बताए।

बिस्तारका लागि डेढ वर्ष अघिदेखि सुकाइएको बुलबुले ताल। तस्बिरः वसन्त भण्डारी 

  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार १८:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया