प्रदेश २ : नामका लागि ६ र राजधानीका लागि ७ प्रस्ताव दर्ता

प्रदेश नम्बर २ को राजधानीका लागि ७ र नामकरणका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन् । 

आज दिउँसो ३ बजेसम्म निर्धारण गरिएको समयसीमाभित्र ती प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिएका छन् ।

प्रदेशसभा सचिवालयमा प्रदेशको नामकरणका लागि मधेस, जानकी, मिथिला भोजपुरा र मध्यमधेश प्रदेश नाम दर्ता गराइएको छ । त्यस्तै, राजधानीका लागि जनकपुरधामको पक्षमा ५ र वीरगन्जको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको सचिव यादवले बताए । 

सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा)को तर्फबाट पार्टीका सचेतक शैलेन्द्र यादव र नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश दर्ता गराएका छन् । 

त्यस्तै, नेकपा एमालेका प्रमोदकुमार यादवले जानकी, एमालेकै शारदादेवी थापाले जनक र नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएका हुन् । 

त्यस्तै, नेपाली कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले मध्यमधेश प्रदेश नामकरण तोक्न प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए । सांसद शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशियादेवी थरुनीले मध्यमधेश प्रदेश प्रस्तावको समर्थन गरेका छन् । 



त्यस्तै, राजधानीमा ७ वटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह र सिंगासन साह कलवारले वीरगन्जलाई प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएका छन् भने बाँकी सबैले जनकपुरधामलाई स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गराएका हुन् । 

सचिव यादवले प्रस्ताव दर्ता भए पनि निर्वाचनको समय अहिले नतोकिएको जानकारी दिएका छन् । प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।



  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार १७:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया