प्रधानमन्त्री र वामदेव गौतमबीच बालुवाटारमा 'डिनर मिटिङ'
वामदेवको प्रतिक्रिया : ओलीसँगको सम्बन्ध जमानादेखि अटूट छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूसँगको सम्वादलाई तीव्र बनाएका छन्। केही दिनयता आफ्नै पार्टी र अन्य पार्टीका समेत नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका उनी दुई दिनदेखि वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफलमा छन्।

केही दिनयता उनले आफ्नै पार्टीका नेताहरूसँगको सम्वादलाई तीव्र बनाएका छन्। बुधबार मात्रै उनले असन्तुष्ट समूहका एमाले नेता योगेशकुमार भट्टराई र वरिष्ठ नेता नेपालसँग फेस टु फेस वार्ता गरे। 

त्यसपछि उनले बुधबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेर संवाद अघि बढाउन आग्रह गरे।

बिहीबार पनि उनले नेता नेपालसँग होटल मेरियटमा करिब २ घण्टा संवाद गरे। नेता नेपालले त्यहाँबाट निस्किँदा सुनाउने गरी त्यस्तो केही प्रगति नभएको बताए। उनले आफ्ना विश्वासपात्र केही पत्रकारलाई भने हिजोभन्दा आज कुरा बिग्रिएको सुनाए।  

वामदेवसँग वार्ता

नेता नेपालसँगको वार्ता सकारात्मक भए पनि केही सहमति नभएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोदी दुगडले बताए। नेपालसँगको वार्ता सकारात्मक नभएको अवस्थामा ओली आफूसँग संगत नै नगर्ने घोषणा गरेका नेता वामदेव गौतमलाई बालुवाटार बोलाए।



बिहीबार साँझ बालुवाटार पुगेका गौतमले त्यहाँ कानुन मन्त्री लीलानाथ श्रेष्ठ, एमाले प्रमुख सचेतक विशाल भट्टराई र प्रधानमन्त्रीसँगै खाना पनि खाएका छन्। वामदेवलाई प्रधानमन्त्रीसहितका नेताहरुले बालुवाटारमा स्वागत गरेका छन्। 

नेता नेपाल अध्यक्ष ओलीसँगको वार्तापछि जहाजबाट जनकपुर पुगेका छन्। ओलीले नेता गौतमलाई बालुवाटारमै बोलाएर खानासहितको स्वागत गरेका छन्। ओलीले नेता गौतमसँग रातिको खाना पनि सँगै खाएका छन्। 



प्रधानमन्त्री र वामदेव भेटको पुष्टि एमाले प्रमुख सचेतक विशाल भट्टराईले गरेका हुन्।  बालुवाटारमा संवादपछि नेता भट्टराईले नै ती तस्बिर सार्वजनिक गरेका हुन्। 

'कमरेड वामदेव गौतमलाई मैले सोधेँ, 'तपाईंरुबीचको सम्वाद सकारात्मक-नकारात्मक जे जस्तो भए पनि तस्बिर सार्वजनिक गर्छु है!', भट्टराईले भनेका छन्। 

वामदेवले यसो भने

संवादका क्रममा वामदेवले ओलीसँगको सम्बन्ध अटुट रहेको बताएको भट्टराईले सुनाए। 'केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा एमालेको अध्यक्ष हो', उनले भनेका थिए, 'तर उहाँसँगको मेरो सम्बन्ध पदका कारण बनेको होइन जमानादेखिको हो र अटुट रहिरहनेछ।'

नेता भट्टराईले वामदेवको यही बोलीलाई लिएर उनले थप निर्णय लिने पनि दाबी गरे। 'अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्‍ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि!', भट्टराईले भनेका छन्। 

  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार २२:४३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया