सुध्रिएको नेपाली ब्याटिङ : आशा जगायो, भरोसा गरिहाल्नु हतार

नेपाली क्रिकेटमा सधैँ देखिने एउटा समस्या हो ब्याटिङ नचल्नु। नेपाली टोलीको यसअघिका ब्याटिङ हेर्दा एकदिवसीय मान्यता पाएको टोलीजस्तो भान हुँदैनथ्यो।  

नेपाली टोलीमा राम्रो सुरुवात गर्ने ओपनिङ जोडीको जहिल्यै अभाव देखियो। सुरुवात राम्रो गर्दा पनि कुनै एक वा दुई ब्याट्सम्यान आउट हुनेबित्तिकै ब्याटिङ लाइन धरमराउने नेपाली टोलीको मूल समस्या हो। 

ब्याटिङकै समस्याका कारण जित नजिक पुगेर थुप्रै खेल नेपालले गुमाएको छ। ब्याट्सम्यानहरू कति नचलेर पछिल्ला क्रममा आएका बलरले केही रन जोडी नेपालको इज्जत जोगाएका थुप्रै उदाहरण छन्। 

२०१८ फेब्रुअरी १४ मा नामिबियामा भएको क्यानडाविरुद्धको खेलमा जित हात पार्दै नेपाललाई एकदिवसीय मान्यता दिलाउने क्रममा पनि यस्तै समस्या देखिएको थियो।  ९ विकेट गुमिसकेको अवस्थामा करण केसी र सन्दीप लामिछानेले अविश्वासनीय प्रदर्शन गर्दै नेपाललाई महत्वपूर्ण जित दिलाएका थिए।

सबैले आशा मारिसकेको अवस्थामा ९ विकेटपछि ५१ रनको साझेदारी गर्दै जितसम्म पुर्‍याएका थिए करण र सन्दीपले।



नेपाली टोलीको ब्याटिङ नेपाली क्रिकेट समर्थकलाई प्राय निराश बनाउने गरेको थियो। तर त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजमा समर्थकले नेपालको सानदार ब्याटिङ देख्न पाए। 



चारै खेलमा नेपाली टोलीले ब्याटिमा राम्रो प्रदर्शन गर्‍यो। २०६ रन बनाएर पनि नेदरल्याण्डविरुद्धको दोस्रो खेलमा हार व्यहोर्नु दुखद् भएपनि ब्याटिङमा नेपालको प्रदर्शनको सबैले प्रसंशा गरे। 

यस प्रतियोगिताको समूह चरणका ४ खेलको ब्याटिङ हेर्दा केही हदसम्म नेपाली टोलीको ब्याटिङमा सुधार आएको आभास हुन्छ।  

सिरिजको पहिलो खेलमा नेपाल र नेदरल्यान्ड प्रतिस्पर्धा गरेका थिए।टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्डकले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पारेको थियो। 

१३७ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनिङमा आएका दुई डेब्यूसियन ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुवात गरे।

उनीहरूले पहिलो विकेटका लागि १२.४ ओभरमा ११६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै मात्र १ विकेट गुमाएर जित हात पार्‍यो। 

कुशल र आसिफले पहिलो खेलमै कीर्तिमान बनाए। उनीहरूको यो साझेदारी टि–२० मा पहिलो विकेटका लागि नेपालको सबैभन्दा ठूलो थियो। 

यसघि पुर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ले सन् २०१९ मा भुटान विरूद्ध पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए। 

नेदरल्यान्डविरूद्ध कुशलले ४६ बलमा समान ५–५ चौका र छक्काको मद्दतले ६२ रन बनाउँदा ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका आसिफ ५४ रनमा अविजित रहे। 

दोस्रो खेलमा मलेसियाविरूद्ध पनि नेपालले टस जितेर बलिङ रोज्यो। पहिलो ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा १०९ रनमै समेटियो। 

११० रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल र आफिले फेरि उत्कृष्ट साझेदारी गरे।

उनीहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले १२.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। यस खेलमा कुशल र आसिफले पहिलो विकेटका लागि ११.१ ओभरमा १०२ रनको साझेदारी गरे। यो उनीहरूको लागतार दोस्रो १०० रन भन्दा माथिको साझेदारी थियो। 

सिरिजको तेस्रो खेलमा पनि नेपालले टस जित्यो तर यसपटक उसले ब्याटिङ गर्ने निर्णय गर्‍यो। नेदरल्यान्ड विरूद्धको यो खेलमा अघिल्ला दुई खेलका जस्तो ओपनिङ साझदारी बन्न सकेन। 

दोस्रो ओभरको अन्तिम बलमा आसिफ खातै नखोली पेभिलियन फिर्किए। त्यतिबेला नेपालको स्कोर २० रन थियो। 
नेपालले पहिलो विकेट सस्तैमा गुमाए पनि रनको गति सुस्त भएन कुशल भुर्तेलले र दिपेन्द्रसिंह ऐरीले अर्धशक बनाए। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रनको योगफल तयार पर्‍यो। 

कुशलले ४६ बलमा ८ चौका र १ छक्काको मद्दतले ६२ र दीपेन्द्रले ३० बलमा ३ चौका र ५ छक्काको मद्दतले ६० रन बनाए।  टि–२० मा २०७ रनको लक्ष्य ठूलै मानिन्छ तर नेपाली बलरले लय गुमाउँदा नेदरल्यान्डले यो लक्ष्य ७ विकेट गुमाएर ३ बल बाँकी छँदै पूरा गर्‍यो। 

नेपालको उत्कृष्ट ब्याटिङ समूह चरणको अन्तिम खेलमा मलेसिया विरूद्ध पनि जारी रह्यो। यो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रनको योगफल तयार पारेको थियो। 

यो नेपालको टि–२० अन्तर्राष्‍ट्रियमा दोस्रो ठूलो योगफल हो। नेपाल सबैभन्दा बढी सन् २०१९ मा भुटान विरूद्ध २३६ रन बनाएको थियो।

अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल यो खेलमा जम्न सकेनन्। उनी ४.१ ओभरमा १६ रन बनाउँदै आउट भए। यस खेलमा करण केसीको आक्रामक ब्याटिङका निकै तारिफयोग्य रह्यो।

१३ बलमा ७ छक्काको मद्दतले ४५ रन बनाएर आउट भएका करणले अर्धशतक बनाउने अवसर गुमाए। 

२१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै समेटिएपछि नेपालले खेल ६९ रनले आफ्नो पक्षमा पर्‍यो। यी ४ खेलको ब्याटिङ प्रदर्शन हेर्दा नेपाली टोलीमा भरपर्दो ओपनिङ जोडी भएको खण्डमा ब्याटिङ लाइनमा राम्रो सुधार आउने देखियो। 

सुरुवातमै राम्रो प्रदर्शन भएको खण्डमा पछिल्ला क्रममा आउने ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्दा स्कोर राम्रो बन्ने यस प्रदर्शनले देखायो। 

यो सिरिजबाट नेपालले कुशल र आसिफका रुपमा राम्रो ओपनिङ जोडी फेला पारेको आँकलन क्रिकेट समर्थकको छ। अब नेपाली टोलीको ब्याटिङमा सुधार आउला की भन्नेमा आशाका किरणहरू देखा परेका छन्। होमग्राउण्डमा मात्र दुई टोलीसँग भएको खेलकै आधारमा यसलाई मूल्यांकन गरी भरोसा गरिहाल्ने स्थिति भने छैन । 

  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १४:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया