नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओली श्री ३ जंगबहादुरभन्दा पनि बलियो बन्न खोजेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले अब ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताए ।
प्रधानमन्त्री ओलीले देश निर्माण,नेपाली जनताको समस्या समाधान गर्नुको साटो आफू र आफ्ना आसेपासेलाई मात्र खुसी पारेको तर्क गर्दै नेता पौडेलले ओली सरकार सञ्चालनमा पूर्ण रुपमा असफल भएको पनि आरोप लगाए ।
ओलीमा अहंकार, दम्भ बढेको भन्दै ओलीको विकल्प नखोजे मुलुकमा अस्थिरता बढ्ने, मुलुकको संरचना सबै कब्जा हुने समेत पौडेलले दाबी गरे ।
सोही कार्यक्रममा बोल्दै नेकपा माओवादीका नेता वामदेव क्षेत्रीले ओली दुईजिब्रे भएको आरोप लगाए । लुम्बिनी प्रदेशमा भएको घटनामा पैसाको चलखेल भएको क्षेत्रीको दाबी छ ।
लुम्बिनीमा कांग्रेस माओवादी र जसपा मिलेर मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए पनि अन्तिम समयमा जसपाका चार सांसदले पोख्रेललाई साथ दिएका थिए । अहिले ती चारैजनालाई मन्त्री बनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।