'लकडाउन मात्रै समाधान होइन, अर्थतन्त्रमा झन् बोझ थपिन्छ'
विज्ञहरु भन्छन् : भिड हुने ठाउँमा कडाइ गरौँ, थप क्षति हुन नदिऊँ

गत वर्षदेखि फैलिएको कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नै तहसनहस बनाएको छ । नेपालमा पनि त्यसको प्रभाव लकडाउन भएदेखि नै परेको हो । 

एक वर्षको अवधिमा हाम्रा अर्थतन्त्रका सूचकहरु नकारात्मक अवस्थामा पुगेका छन्। अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने साना तथा मझौला उद्योग, कृषि, औद्योगिक, तथा पर्यटन, निर्माण, यातायातलगायत क्षेत्रमा अर्बौं घाटा भएको छ।

कोभिड–१९ को महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि करिब ४ महिना लामो लकडाउन भएको थियो । संक्रमणको जोखिम कायम रहेका केही क्षेत्रमा त्यसपछि पनि निषेधाज्ञा जारी भयो । 

जसले सर्वसाधारणको जनजीवन निकै कष्टपूर्ण बन्यो। मुलुकको अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित भएको थियो। लकडाउनका कारण मुलुकको औद्योगिक उत्पादन, माग, क्रयशक्ति, बचत लगायतमा बहुआयामिक असर परेको छ। सुस्ताएको आर्थिक गतिविधि हालसम्म चलायमान भएको छैन । देशका आर्थिक सूचकहरु अझै ऋणात्मक छन्। 

लकडाउनको प्रतिकूल प्रभाव

लकडाउन, लकडाउनपछिको निषेधाज्ञाका कारण चरम आर्थिक संकटबाट गुज्रिएको मुलुकले त्यस अवधिमा झण्डै सवा खर्बको नोक्सान व्यहोरेको तथ्यांकले देखाएको छ । 



केन्द्रीय तथ्यांक विभागलाई आधार मान्दा गत वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक बनेको छ । त्यस्तै चालु वर्षमा मुलुकको अर्थतन्त्र १४.५ प्रतिशतले खुम्चिन पुगेको विवरण तथ्यांक विभागसँग छ। 

नेपाल राष्ट्र बैंकका अनुसार कोभिडकालमा करिब ७३ प्रतिशत उद्योग कलकारखाना उत्पादन विहीन अवस्थामा पुगेका छन् । 



३.३ प्रतिशत ठूला उद्योगलाई छोडेर बाँकी ९६.७ प्रतिशत उद्योगमध्ये ७३ को उत्पादन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार बन्द र उत्पादन गर्न नसकेका अधिकांश उद्योगहरुमा साना, लघु तथा मझौला उद्योग छन् । 

यता, राष्ट्र बैंककै तथ्यांकलाई टेकेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको प्रतिवेदनले समेत कोभिडका कारण कूल उद्योगको १०.८१ प्रतिशत बन्द भएको र बाँकीका ८९.१९ प्रतिशत उद्योगले आंशिक उत्पादन गरिरहेको देखाएको छ । 

उक्त तथ्यांकमा बन्द हुने अधिकांश उद्योगहरुमा लघु, घरेलु तथा साना मझौला उद्योग नै छन् । लकडाउन अवधिमा मुलुकको कुल जनसंख्याको करिब २२.५ प्रतिशतले रोजगारी गुमाएको तथ्यांक राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरिसकेको छ ।  

कोरोना भाइरसका कारण पछिल्लो समय मुलुकले चार दशकयताकै कठिन अर्थतन्त्रको सामना गर्नुपरेको अवस्था छ । विस्तारै उठ्दै गरेको अर्थतन्त्रमा पुनः संकुचन आउने चिन्ता बढेको छ। उद्योगी व्यवसायीलाई यसले तनाव दिन थालेको छ।

फेरि लकडाउन त्रास 

छिमेकी भारतसँगै अन्य थुप्रै देशहरुमा कोरोना भाइरसको दोस्रो लहर बढिरहेको छ। खुला सीमाका कारण पछिल्ला दिनमा भारतमा बढ्दो संक्रमणले नेपालमा पनि उच्च जोखिम निम्त्याउने चिकित्सकहरुले बताइरहेका छन् । 

शनिबार मात्रै भारतमा ३ लाख ४८ हजार संक्रमित थपिएका छन्। एकै दिन २ हजार ७६१ जनाको मृत्यु भएको छ । भारतसँगै नेपालको संक्रमण दर पनि तीव्र गतिमा बढ्दै गएको छ । 

शनिबार मात्रै नेपालमा कोरोना भाइरसबाट ३१ सय २२ संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भएको छ । केही महिना अघिसम्म नेपालमा संक्रमितको संख्या सयभन्दा कम थियो । यस्तो अवस्थामा फेरि लकडाउन हुने प्रश्नले सबैलाई पिरोलेको छ। यिनै आशंकाबीच अर्थविद् र उद्योगी व्यवसायीमा लकडाउनको त्रास उत्पन्न भएको छ । 

कोरोना भाइरस संक्रमणको दोस्रो लहर, लकडाउनको सम्भावना र त्यसपछिको अर्थतन्त्रको दिशालाई लिएर अर्थविद्हरु पनि चिन्तित छन्। 

अर्को लकडाउनले आर्थिक मन्दी आउँछ


चन्द्रमणि अधिकारी, अर्थविद्

लकडाउनको मतलब कानुनी निषेध हो, अर्थात कानुनको माध्यमबाट रोग सर्ने काम नगर्नु भन्ने बुझिन्छ । तर सबै समाधान लकडाउन मात्रै होइन । नेपालको सन्दर्भमा लकडाउनको पालना राम्ररी भएको देखिँदैन । पार्टीका सभा, सम्मेलन, बैठकदेखि विवाह, भोजभतेर लगायत भिड हुने काम विगतमा पनि भइरहेकै थिए। अहिले पनि त्यो क्रम जारी नै छ। 

नेताहरु आफैंले कानुन ल्याएर त्यसको उपहास गरिरहेका छन्। जनतामा पनि जबसम्म आफूलाई पर्दैन, तबसम्म कोरोना छैन भन्नेमा बुझाइ छ। लकडाउनअघि सबैलाई सचेत गराउनु आवश्यक छ । 

आगामी दिनमा संक्रमण दर बढ्दै गएको अवस्थामा पुरानै शैलीको लकडाउन गर्ने सोच बनाएको छ भने त्यो असफल हुने छ । यसले न त रोग नियन्त्रण गर्छ न त आर्थिक गतिविधि चलायमान बन्न दिन्छ । एकातिर आमजनताको सोचाइमा परिवर्तन आउनु जरुरी छ भने अर्कोतर्फ सत्ता चलाउनेहरूले उदाहरणीय काम गर्नुपर्ने अवस्था छ । 

सरकारले लकडाउनलाई मात्रै महत्व नदिएर मुलुकको समग्र अर्थतन्त्रमा पनि ध्यान दिनुपर्छ । पहिलो चरणजस्तै पूर्ण रुपमा लकडाउन गर्दा अर्थतन्त्रमा थप बोझ थपिने निश्चित छ । त्यसैले सरकारले अत्यधिक भिड हुने र बढी जोखिमका क्षेत्रमा लकडाउन गर्दा उपयुक्त हुन्छ । 

पहिलो चरणझैँ लकडाउन गर्दा मुलुकको अर्थतन्त्रले निकै कठिन बाटो समात्ने छ । गत वर्ष मुलुकको अर्थतन्त्र १.९९ प्रतिशतले ऋणात्मक बनेको छ भने चालु आवको पहिलो चौमासिक पनि करिब ५ प्रतिशतले ऋणात्मक नै रह्यो । 

पहिलो कोभिड महामारी घट्दा केही समयअघि मुलुकमा करिब ६० प्रतिशतको हाराहारीमा मात्रै उद्योग सञ्चालनमा थिए। अहिले पुनः महामारीको दोस्रो चरण फैलिँदै जाँदा ती उद्योग क्रमशः बन्द हुने अवस्थामा छन् । 

महामारीलाई यसरी नै फैलिन दिन हो भने एकातिर लाखौं मानिसको ज्यान जान्छ भने अर्कोतर्फ अर्थतन्त्र धरासायी बन्छ । हालसम्म न्यून वर्गको मात्रै चुल्हो निभेको र रोजीरोटी गुमेको अवस्था रहेकोमा आगामी दिनमा मध्यम वर्गसम्मका व्यक्तिहरु भोकमरीको अवस्थामा पुग्ने अवस्था सिर्जना हुन्छ ।

यस वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। तर आगामी दिनमा यदि लकडाउन भयो भने आर्थिक वृद्धिदर नकारात्मक दिशामा पुग्छ भने सरकारलाई ऋणको भार समेत थप हुने छ । 

विप्रेषणमा समेत ठूलो असर पर्ने हुँदा राज्यसँग आम्दानी स्रोतको कमी हुने छ । यसपटक मुलुक जसोतसो आर्थिक मन्दीको चपेटामा परेन। तर अब पुनः लकडाउन भयो भने मुलुक आर्थिक मन्दीमा पर्ने निश्चित देखिएको छ । 

पुनः लकडाउन अर्थतन्त्रलाई उपयुक्त छैन


विश्व पौडेल, अर्थविद्

 
पहिलो चरणझैँ पुनः लकडाउन उपयुक्त छैन । अहिले नेपालको सबै क्षेत्रमा एउटै रुपमा महामारी फैलिसकेको छैन । तसर्थ, स्थानीय सरकारले आफ्नो क्षेत्रको स्थिती हेरेर लकडाउन गर्दा नै उपयुक्त हुन्छ । कारोना अहिले कहाँबाटै फैलिएको पत्ता लाग्न सकेको छैन । त्यसैले पहिले त स्रोत नै पत्ता लगाउन पर्‍यो । 

हामी यहाँसम्म आइपुग्दा पहिलो चरणको महामारीबाट धेरै कुरा सिकिसकेका छौं । सर्वप्रथम त हामी जनतादेखि सरकारी तहसम्म सबै सर्तक हुनु आवश्यक छ, र यदि त्यसो नभएमा पूर्ण लकडाउन गरे पनि फाइदा हँुदैन । लकडाउन मात्रै विकल्प होइन । यससँगै सरकारले अर्थतन्त्रको पाटोलाई पनि हेर्नु जरुरी छ । 

पहिलो चरणको महामारीको लकडाउनका कारण हाम्रो अर्थतन्त्र निकै खुम्चिन पुगेको छ । करिब २२ लाखले रोजगारी गुमाएका छन् भने लाखौं जनसंख्या भोकमरीमा परेका छन् । यसरी आगामी दिनमा पनि पूर्ण लकडाउन भए मुलुकमा भोकमरीको अवस्था गम्भीर भन्दै जाने छ, थप जनसंख्याले रोजगारी गुमाउने निश्चित छ । 

त्यस्तै लकडाउनपछिको केही समययता मुलुकको अर्थतन्त्रमा ‘भी’ आकारको सुधार देखिएको थियो । तर अब त्यही तरिकाले लकडाउन भयो भने अर्थतन्त्रले निकै नकारात्मक लय समात्ने छ, जसबाट माथि उठ्न निकै लामो समय लाग्ने छ । समग्रमा भन्नुपर्दा हाम्रो मुलुकको अर्थतन्त्र मन्दीको बाटोमा जाने देखिन्छ । 

लकडाउनले आर्थिक वृद्धिदरमा धक्का पार्छ


डा.चिरञ्जीवी नेपाल, पूर्व गर्भनर एवम् अर्थविद्

   
मानव स्वास्थ्यभन्दा ठूलो अरु केही हुन्न, यदि मानव स्वस्थ्य नै रहेन भने आर्थिक क्रियाकलाप लगायत अन्य कुराको कुनै औचित्य हुँदैन । पछिल्लो समय जुन प्रकारले संक्रमण दर फैलिरहेको छ, त्यो क्रम जारी रह्यो भने लकडाउन गर्नुको अरु कुनै विकल्प छैन ।

अहिले न त सरकारी स्तरमा नै गम्भीरता देखिएको छ न त आम जनमानसमा नै गम्भीरता देखिएको छ । आफ्नो लागि भन्दा अरुको लागि सर्तक हुनु परेको भन्ने सोच सबैमा देखिएको छ । सर्वप्रथम त राज्यले कडाइका साथ लकडाउनका उपायहरु अपनाएर अघि बढ्नुपर्ने देखिएको छ । 

लकडाउनले अर्थतन्त्रमा संकुचन त पक्कै ल्याउँछ नै, तर त्यसो भन्दैमा रोगका कारण सबैलाई मर्न पनि दिनु भएन नि । सरकारले अन्य मुलुकहरुको जस्तै उपाय अंगालेर आवश्यक खाना लगायतका दैनिक आवश्यकताका लागि न्यूनतम खर्च व्यवस्था गर्नु जरुरी छ । यसरी राज्यले आफ्नो दायित्व पूरा गरेर मुलुकमा लकडाउन गर्दा खासै असर पार्दैन । आम जनताबाट लिएको विभिन्न करबापतको रकम, वैदेशिक ऋण सहायता लगायतलाई सदुपयोग गर्नुपर्ने यति बेलाको अवस्था छ । 

लकडाउनका कारण केही समय आर्थिक क्रियाकलाप बन्द हुँदा अर्थतन्त्रमा ठूलो धक्का पर्छ । अहिले केही लय समातेको अर्थतन्त्र लकडाउन भएको अवस्थामा पुनः ऋणात्मक बन्ने निश्चित नै छ । आर्थिक वृद्धिदरमा सुधार हुने भनिए पनि यति बेलाको मुलुकको अवस्था हेर्दा आर्थिक वृद्धिदरमा पनि धक्का पुग्ने छ । 

लकडाउनले अर्थतन्त्रलाई थप ऋणात्मक बनाउँछ


रामेश्वर खनाल, पूर्व अर्थसचिव एवम अर्थविद्

कोरोना भाइरसको पहिलो चरणका कारण मुलुकमा उत्पन्न संकटलाई दोस्रो चरणले थप गहिरो पार्ने देखिएको छ । तर त्यसो भन्दैमा लकडाउन गर्नु ठीक होइन भन्ने होइन । जनताको जीवनभन्दा ठूलो मुलुकको अर्थतन्त्र कहिले हुँदैन । सर्वप्रथम त सरकारले यो कुरामा ध्यान दिन आवश्यक छ । तर लकडाउन पूर्व सरकारले आम जनताको दैनिक रोजीरोटी र अत्यावश्यक वस्तुको व्यवस्था कसरी गर्ने हो, त्यसतर्फ बढी गम्भीर हुनुपर्छ । 

हामीमा सरकारीस्तरदेखि आम जनतासम्म यसबारे चेतना देखिँदैन । कसैले पनि स्वास्थ्य मापदण्डका नियम पालना गरेका छैनन् । तसर्थ सरकारले सर्वप्रथम त आम जनमानसलाई सुसूचित गराउनु पर्‍यो । 

सरकारले सही सूचना प्रवाह गर्नु उत्तिकै आवश्यक छ । अब अहिले पहिलो लहर, दोस्रो लहर, डबल म्यूटेन्ट भनिरहँदा सिक्किम हुँदै बंगालबाट टिर्पल म्यूटेन्ट देखिन थालेको छ । यस्तो सबैभन्दा महत्वपूर्ण विषय भनेकै सतर्कता हो । 

हो, लकडाउनले अर्थतन्त्रलाई धरापमा पार्छ । अब पहिलो चरणको कोरोनाको विषयमा नै भन्नु पर्दा २२ लाख भन्दा बढीले रोजगारी गुमाएका छन् । तर सरकारले त्यसमा केही गरेको छैन । 

अत्यन्त पूँजीवादी राष्ट्र अमेरिका, त्यस्तै युरोपियन मुलुकहरुले आफ्ना देशका जनताका लागि गाँस, बासको उचित व्यवस्था गरेको छ । तर नेपालले ती रोजगारी गुमाएका जनताका लागि केही पनि गरेको छैन । आगामी दिनमा यसरी नै लकडाउन भयो भने बेरोजगारको संख्या पहिलो चरणको तुलनामा दोब्बरले बढी हुने अवस्था सिर्जना हुन्छ । 

तर पहिलो चरण पार गरेर यहाँसम्म आइपुग्दा हामीले धेरै कुरा सिकेका छौं । अर्थतन्त्रमा केही नकारात्मक असर त आइ नै हाल्छ तर गत वर्ष लकडाउनको समयमा जस्तो अर्थतन्त्र सुस्त भने हुँदैन । 

अहिले व्यापार व्यवसाय गर्नेहरुले अनलाइनको माध्यमबाट कारोबार गर्न सक्छन् । लकडाउनपश्चात ई–कमर्श व्यवसाय निकै फराकिलो भएको छ । 

त्यस्तै अन्य व्यापारी/व्यवसायीले पनि अब कसरी अघि बढ्ने भनेर सोचिसकेका छन् । हाम्रो अर्थतन्त्र पहिले झैं खुम्चिँदैन किनभने हाम्रो काम गर्ने शैलीमा परिवर्तन आएको छ । 

चालु आर्थिक वर्ष अन्त्य हुन २ महिना बाँकी नै छ, यस्तोमा यदी लकडाउन भइहाले पनि सो वर्ष हाम्रो अर्थतन्त्र थप ऋणात्मक बन्दैन, यसमा म आफू अर्थविद्को हिसाबले ठोकुवा गरेर भन्न सक्छु । 

यस वर्ष न्यूनतम ३ प्रतिशत र अधिकतम ४.५ देखि ५ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल हुन्छ । तर आगामी आर्थिक वर्ष २०७८/७९ मा यदी लकडाउन भयो भने अर्थतन्त्र उल्टो दिशामा जाने छ अर्थात थप ऋणात्मक बन्ने छ । किनभने कोरोनाका काारण आगामी आवमा आर्थिक गतिविधि सुस्त हुने अवस्था अहिले नै देखिएको छ । 

  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार २०:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया