सुदूरपश्चिममा कोरोना संक्रमण दर भयावह, कोभिड अस्पताल संक्रमितले भरिभराउ

सूदुरपश्चिममा कोरोना संक्रमितको दर तीव्र रूपले बढिरहेको छ । एक सातामा नै प्रदेशका कोभिड अस्पताल भरिभराउ भएका छन् ।

५५ शय्याको धनगढी कोरोना अस्पतालमा ५४ जना बिरामी भर्ना गरिएको अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । कोभिड अस्पतालमा उपचार गरिरहेका अधिकांश बिरामीको अवस्था चिन्ताजनक छ ।

सूचना अधिकारी श्रेष्ठले भने, ‘तीनजनाको भेन्टिलेटर र ११ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ । २५ जनाको अक्सिजन दिएर उपचार भइरहेको छ भने मध्यम कडा खालका १५ जना संक्रमितलाई मोडरेटमा राखिएको छ ।’ 

गम्भीर प्रकृतिका बिरामी थपिए अस्पतालमा राख्ने ठाउँ नभएको उनको भनाइ छ । ‘हामीले कोरोना पुष्टि भएर अवस्था गम्भीर भएका बिरामीलाई मात्र भर्ना गर्छाैं’, उनले भने । ‘सामान्य लक्षण भएका बिरामीलाई घरमै पठाइरहेका छौँ । अब गम्भीर प्रकृतिका कोभिड संक्रमितलाई अस्पतालमा राख्ने ठाउँ छैन,’ श्रेष्ठ थप्छन् । अस्पतालको उपलब्ध क्षमताबारे माथिल्लो निकायलाई जानकारी गराइसकेको उनले जानकारी दिए ।

यस्तै, कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल पनि संक्रमितले भरिएको छ । अस्पतालका व्यवस्थापक दीपेन्द्रसिंह रावलका अनुसार महाकाली अस्पतालको अस्थायी कोरोना अस्पतालमा हाल ५४ जना बिरामी भर्ना भएका छन् । जसमध्ये ६ जनालाई भेन्टिलेटर र १२ जनालाई अक्सिजनको सहायतामा राखिएको छ । महाकाली अस्पतालमा कोरोनाका बिरामीका लागि ५० बेड आइसोलेसन, ६ बेडको आइसियू र १८ बेड आपतकालीन बेड गरी ७४ बेडको व्यवस्था गरिएको छ ।
  
उपचारमा निकै समस्या भएको अस्पतालले जनाएको छ । अस्पतालकै १७ जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जनशक्तिसमेत चरम अभाव भएको अस्पताल व्यवस्थापक रावलले बताए । 

विगतमा स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन बन्द गरिएपछि प्रदेशका दुई ठूला अस्पतालमा बिरामीको चाप बढेको हो । प्रदेशमा सबैभन्दा बढी संक्रमण दर बढेको धनगढीमा भने उपमहानगरपालिकाले आइसोलेसन सञ्चालन गरेको छ । 



त्यहाँ पनि ६४ जना संक्रमितलाई राखिएको वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले जानकारी दिए । यस्तै, सेती र महाकाली अस्पतालबाहेक अन्य सात पहाडी जिल्लाका अस्पतालमा पनि गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि उपकरण जडान गरिएको छ । 

तर, दक्ष जनशक्ति नहुँदा सबै उपकरण प्रयोगमा ल्याउन नसकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थान र दक्ष जनशक्ति व्यवस्थापनमा जुटेको बताएको छ । 



मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने प्रयास गरिएको बताए । उनले बन्द अवस्थामा रहेका उपकरण सञ्चालन गर्नका लागि छोटो समयको तालिम दिएर स्वास्थ्यकर्मी परिचालन गर्ने पनि तयारी भइरहेको दाबी गरेका छन् ।

  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १८:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया