logo-img

सीमा व्यवस्थापनमा जनशक्ति अभाव,  बिओपी पोस्ट अझै त्रिपाल मुनि
फाइल तस्बिर

नेपाल-भारत सीमामा हुने अवैध आवत-जावत रोक्न सुरक्षाकर्मीको अभाव भएको छ । यसले कोरोना रोकथाम र नियन्त्रणमा समेत चुनौती थपिएको छ । 

सरकारले नेपाल-भारत सिमानामा हुने अवैध कारोबार र सिमाना व्यवस्थापनको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ ।

भारतमा कोरोनाको माहामारी फैलिएसँगै नेपाल आउनेहरु बढेका छन् । यसले नेपालमा पनि कोरोनाको त्रास बढाएको छ । खुला सीमाका कारण व्यवस्थापन गर्न समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रदेश एकको पाँचथर, इलाम, झापा, मोरङ र सुनसरी भारतसँग जोडिएको छ । तीमध्ये अहिले ४६ स्थानमा वोर्डर आउटपोस्ट स्थापना गरिएको छ ।

यस्तै ३३ स्थानमा फरवार्ड आउट पोस्ट स्थापना गरी लुकीछिपी नेपाल प्रवेश गर्नेको निगरानी बढाइएको छ ।

केही दिन भित्रमै २० स्थानमा फरवार्ड आउटपोस्ट राख्ने तयारी भएको छ । सशस्त्र प्रहरी बल प्रदेश १ को प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी वंशीराज दाहालले जनशक्ति अभावमा काम गर्न असहज भएको बताए ।



उनले भने, ‘हामीले पटक-पटक जनशक्ति माग गरिरहेका छौं । यसको व्यवस्था हुन सकेको छैन ।’

गत वर्षको कोरोना महामारीका बेला जनपद प्रहरीसँगको सहकार्यमा बिओपीहरू व्यवस्थापन गरिएको थियो । यसपटक लकडाउन भइनसकेका कारण जनपद प्रहरीलाई सीमामा पठाउन नसकिएको डिआइजी दाहालले बताए । 



‘जनपद प्रहरी रेगुलर पुलिसिङमै व्यस्त छ’, उनले भने, ‘यस्तो अवस्थामा खुला सिमाना अहिले प्रदेशमा भएको सशस्त्रको जनशक्तिको भरमा मात्रै व्यवस्थापन हुन सक्दैन ।

इलाममा  भारतसँग ५२ दशमलव ५ किमि, झापामा १४४ दशमलव २ किमि सिमाना जोडिएको छ । 

मोरङमा ६२ दशमलव २ र सुनसरीमा ६१ दशमलव २ किमि सिमाना भारतसँग जोडिएको छ । यदि ती स्थानलाई कभर गर्ने हो भने २९१ स्थानमा बिओपी स्थापना गर्नुपर्छ । 

डिआइजी दाहालले भने अहिले ४६ वटा बिओपी र ३३ वटा फर्वाड बिओपीले सीमा कभर गर्न समस्या छ । थप २१२ स्थानमै स्रोत साधन र जनशक्तिसहित बोर्डर आउटपोस्ट स्थापना गर्न सके समस्या नरहने दाहालले बताए ।

पाल मुनि बिओपी 

स्थापना भएका ४६ मध्ये आधाको मात्रै भौतिक संरचना बनेको छ । आधा बिओपीको संरचना बन्न थालेको भए पनि निर्माण सम्पन्न हुन अझै समय लाग्नेछ । 
संरचना नबन्दा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपाल मुनि बसेर सीमामा हुने अवैध कारोबार रोक्न खटिएका छन् ।

‘बिओपीमा नै आवश्यक भौतिक पूर्वाधार पुर्‍याउन सकिएको छैन’, डिआइजी दाहालले भने, ‘अघिल्लो वर्षको कोरोना कहरपछि बिओपीमा बिजुली र खानेपानी पुर्‍याउने प्रयास गरेका छौं ।’

उनले सर्वसाधारणको खेत, जंगल र खोलाको बगरमा बसेर सुरक्षा दिइरहेको बताए । ‘भौतिक पूर्वाधारका कारण समेत कोरोना संकटका बेला भारतबाट नेपाल आउने र नेपालबाट भारत जानेहरूलाई रोक्न सकिएको छैन’, उनले भने, ‘भारतबाट नेपाल आएकाहरूलाई समातेर कहाँ राख्ने ? हामी आफैं बस्ने स्थान छैन ।’ 

सरकारले सिमानामा आएकाहरूलाई राख्न होल्डिङ सेन्टर बनाउने भने पनि अहिलेसम्म प्रदेशमा यस्ता सेन्टरहरूको निर्माण भइसकेको छैन ।

  • प्रकाशित मिति : वैशाख १३, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया