कहाँ पुग्यो ओलीलाई ठेगान लगाउने प्रचण्डको योजना ?
राजनीतिले कोल्टे फेर्यो भनेको महिना बित्यो तर आफैँ अनिर्णित

'हिजो र आज काठमाडौंको राजनीति अलिकति फेरिएको छ। कांग्रेसले अर्को सरकार गठनको पहल लिने भनेपछि राजनीतिले कोल्टे फेरेको छ। मलाई कपिलवस्तु नजानु सरकार गठनमा लागौँ भनेका थिए तर म पुगेर आउँछु भनेर आएँ', नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत २१ मा कपिलवस्तुमा हिन्दीमा गरेको भाषण हो यो।

त्यसपछि वैशाखमा ५ मा गृहजिल्ला चितवनमा पुगेर उनले त्यही शैलीको भाषण गरे। उनको भाषणको सार थियो, अब प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बिदाइ हुँदैछ।

‘अहिले बोल्दै गर्दा र घडी हेर्दै गर्दा (घडी हेरेर) म काठमाडौं पुगेर पार्टीहरूको बैठक बस्दैछ । निरंकुश, स्वेच्छाचारी, असंवैधानिक र अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँ’,प्रचण्डले ५ वैशाखमा गृहजिल्ला चितवनको एक कार्यक्रमलाई सम्बोधन गर्दै यसो भनेका थिए।

उनले ५ वैशाखमै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रमा नयाँ कायापलट हुने घोषणा गरे । उनले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभयो । केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ ।’

आफ्नो निर्वाचन क्षेत्रमा ५ वैशाखमा यसरी बोलेका प्रचण्ड काठमाडौं आएपछि सेलाएका छन्। न उनले भने जस्तो ओली बिदा भएका छन् न त राजनीतिले कोल्टे नै फेरेको छ। झन् झन् ओली बिदा गर्न उनले बनाउन खोजेको राजनीतिक समीकरण नै कमजोर हुँदै गएको छ।



‘काठमाडौंमा पार्टीहरूको बैठक छ’ भनेर हतार हतार चितवनको सम्बोधन कोट्याएर हिँडेका प्रचण्ड वैशाख ७ र ८ गते पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित भए । सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको भन्दै दवाव खेपिरहेको बेला प्रचण्डले दुवै बैठकलाई ब्रिफिङ गरे । 

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार ७ गतेको बैठकमा प्रचण्डले केपी ओलीको नेतृत्वको सरकार अपदस्थ गर्नुको विकल्प नरहेको पनि बताएका थिए । साथै, ओलीलाई अपदस्थ गर्न परिस्थिति अनुकुल हुँदै गएको पनि ब्रिफिङ गरेका थिए । तर उनको ब्रिफङ पनि एक साता पुरानो भइसक्यो न ओली हट्ने समीकरण बनेको छ न प्रचण्डले भने जस्तै अपदस्थ गर्न सकेका छन्। 



समर्थन फिर्ता लिन सकेनन्

प्रचण्डले नै दिएको समर्थनका कारण यतिबेला ओली प्रधानमन्त्रीका रुपमा सरकारमा टिकिरहेका छन्। फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएर तत्कालीन नेकपा एमाले र माओवादी ब्यूँताएपछि गठबन्धनमा परिणत सरकारलाई दिएको समर्थन फेरि संसद विघटन हुन सक्ने डरले प्रचण्डले फिर्ता लिन नसकेका हुन्। 

प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त धेरैपटक सार्वजनिक मञ्‍चबाटै माओवादीका कारण ओली सरकार बहुमतमा रहेको बताइसकेका छन्। ओली बहुमतमा नै रहेकाले राजनीतिक रुपमा पनि आफूहरुले उनलाई चलाउन नसक्ने बताइसकेका छन्। 

देउवाले यसो भनिरहँदा पनि ओलीलाई ठेगान लगाउने भन्दै हिँडेका हिँडेका प्रचण्ड तत्काल चुनावमा जानुपर्ने डरले निर्णयमा पुग्न सकेका छैनन्। वैशाख ८ मा बसेको पार्टीको स्थायी कमिटी बैठकलाई समर्थन फिर्ता लिनसक्ने भन्दै निर्णायक बैठकको रुपमा चासोका साथ हेरिएको थियो । अघिल्लो दिनको बैठकमा ओलीलाई अपदस्थ गर्नुपर्ने बिफ्रिङ गरेका प्रचण्डलाई नै यसको सर्वाधिकार दिइएको उपाध्यक्ष श्रेष्ठले बताए। 

सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन कुराले संकटमा परेका प्रचण्डले ‘केन्द्रमा कायापलट’ हुन्छ भनेर चितवनमा गरेको भाषणले यतिबेला उनैलाई गिज्याउने अवस्था उत्पन्‍न भएको छ।

के गर्दैछन् प्रचण्ड ?

त्यसपछि प्रचण्डले कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा ९ वैशाखमा आयोजित अर्को कार्यक्रममा भाग लिए । त्यहाँ पनि उनले ओलीको गलत प्रवृत्तिलाई नेकपाको बहुमतले गलहत्याएको तर्क गरे ।

‘सिस्टम अन्तर्गत नै प्रतिनिधिसभाका बहुमत सदस्यले दलको नेताबाट पनि फालेकै हो', उनले त्यहाँ भनेका थिए, 'सबैले यो कुरामा ध्यान दिन जरुरी छ ।’

त्यसपछि उनी वैशाख १०, ११ र १२ गते सार्वजनिक सभाहरूमा देखिएका छैनन् । ओली इत्तर दलहरुबीच यसबीचमा बैठक पनि हुन सकेको छैन। आइतवार र सोमबार बसेको कांग्रेसको बैठकले अहिले नै ओलीविरुद्ध बहुमत संख्या नजुट्ने ठहरसहित सरकार परिवर्तनको कुरामा तत्कालै अघि नबढ्ने निचोड निकालेको छ।

दैनिक सार्वजनिक कार्यक्रममा देखिने प्रचण्ड चुप रहनुको अर्को कारण पनि हो कोभिड संकट। उनी खुमलटारमै बसेर ओलीविरुद्धका सम्भावित रणनीतिमा काम गरिरहेका अनुमान धेरैको छ। उनको मौनतामा अनेक अड्कलबाजी सुरु भएका छन्। तर प्रचण्डले चाहे जस्तै सजिलै ओलीलाई सरकारबाट बिदा गर्ने सम्भावना भने झन् कम हुँदै गएको छ।

स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने जिम्मा दिएपछि प्रचण्ड सार्वजनिक रुपमा सक्रिय छैनन् । प्रचण्डनिकट स्रोतहरूका अनुसार उनी निवासमै व्यस्त छन् । नेता, कार्यकर्तासँग भेटघाट गर्दै दिन बिताइरहेका छन् । अहिले निवासमै विधानबारे नेता, कार्यकर्तासँग सुझाव लिइरहेको निकटस्थहरुको भनाइ छ । 

कोरोनासँगै सत्ता संकट पनि 

यतिबेला नेपालमा कोरोना भाइरसको दोस्रो लहरले संकट ल्याइसकेको छ। एकातिर सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको तीतो यथार्थ छ भने अर्कोतिर सत्ता समीकरण कसरी बनाउने भन्ने संकट र चिन्ता पनि प्रचण्डसामु आइलागेको छ।

ओली सरकार ढाल्न सक्रिय प्रचण्ड अहिले कांग्रेस र जसपाको निर्णयको पर्खाइमा छन्। तर उनी आफैं अनिर्णयको बन्दी बनेको आरोप कांग्रेस सभापति देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लगाइरहेका छन्। 

ओलीको विकल्पमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने त भनेको छ तर उसले पनि संसदमा बहुमत जुटाउने अवस्था छैन। यही संकटबीच विश्वासको मत फिर्ता लिने वा अविश्वास प्रस्ताव दर्ता गरेर अघि बढ्ने कुरामा कांग्रेस र माओवादी अलमलिएका छन्। 

माओवादीले सरकारको समर्थन फिर्ता लिनेबित्तिकैको सम्भावित संकट भनेको नयाँ सरकारका लागि सम्भावित बहुमत अपुग हो। नयाँ सरकार बनाउन नसक्दा प्रधानमन्त्री ओलीले संवैधानिक रुपमै संसद विघटन गरिदिएर चुनाव घोषणा गर्ने बाटो खुल्छ। 

जसकारण पनि प्रचण्ड आफ्नै भूमरीमा फसेका छन्। उनले कांग्रेसमा दबाब बढाए पनि कांग्रेस भने माओवादीले सरकारको समर्थ फिर्ता लिनुपर्ने अडानमा छ। अहिले प्रचण्ड अन्य दलसँगको छलफल छाडेर दलकै विधान तयारीसहितका विषयमा खुमलटारमै बसेर सुझाव लिइरहेका छन्।

सर्वोच्चले ब्यूँताइदिएपछि नेकपा एमालेमा बढेको संकटको अवस्थालाई पनि प्रचण्डले नजिकबाट नियालिरहेका छन्। ५ पुसपछि सँगसँगै मोर्चा बनाएर ओलीविरुद्ध लागेका माधव नेपाल लगायतका नेताहरु यतिबेला ओलीको पेलाइमा परेका छन् । तर प्रचण्डले नेपालसँग फागुन २३ यता मात्रै कम्तीमा १४ पटक एक्ला एक्लै संवाद गरिसकेका छन्। 

एमाले विभाजनको डिलमा पुगेका बेला नेपाल र ओलीबीचको भेटले पनि प्रचण्डलाई गम्भीर बनाएको छ। भलै नेपालले अहिलेसम्म पार्टीभित्रबाटै संघर्ष गर्ने बताएका छन्। ओलीसँग नेपालको वार्ता सफल नहुने बुझेका प्रचण्ड आगामी चुनावमा गठबन्धन या एकतासम्मको विकल्पका लागि तयार छन्। 

यस्तोमा ओलीविरुद्ध रणनीतिक मोर्चा बनाएर अघि बढ्ने तयारी गरेका प्रचण्डलाई नेपालले ओलीसँग थालेको वार्ताले झस्काएको छ। ओलीले एकपछि अर्को कारबाहीको श्रृङ्खला एमालेभित्र चलाइरहँदा एमाले फुट्ने निष्कर्षसहित प्रचण्डले भावी राजनीतिक योजना बुनिरहेको उनी निकट नेताहरु बताउँछन्। 

  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १७:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया