जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई प्रचण्डको चेतावनी
उद्घाटन र शिलान्यासमा लागेको भन्दै ओलीमाथि आक्रोश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान सरकार जनतालाई राहत दिनुको सट्टा शिलान्यास र उद्घाटनमा केन्द्रित भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको भन्दै उनले संक्रामक भाइरसको दोस्रो लहरका कारण निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तिनका शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले भाइरसबाट संक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 

हालसम्म १४ करोडभन्दा बढी मानिस संक्रमित भएको र ३० लाखको मृत्यु भइसकेको स्मरण गर्दै उनले स्थिति भयावह बन्नेतर्फ सचेत रहनुपर्ने बताएका छन् । छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौँ व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्याङ्कले सचेत बन्न उनले आग्रह गरेका छन् । 

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ,’ उनले भनेका छन्, ‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’ 

महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग उनले अपिल गरेका छन् । 

प्रचण्डले तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई स्वयंसेविका रुपमा यस महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गरेका छन् । उनले आधिकारीक सूचना तथा सन्देश प्रवाह गरी नेपाली पत्रकारिता जगतले महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास लिएका छन् । 



कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा उनले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

 



  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १८:१७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया