गम्भीर भएर कोरोना संकट समाधानमा लाग्न सरकारलाई देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न सरकारलाई आग्रह गरेका छन् । 

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारलाई गम्भीर भएर कोरोना संकट समाधानमा लाग्न र परिस्थितिलाई थप जटिल हुन नदिन आग्रह गरेका हुन् । 

कांग्रेस सभापति देउवाले भनेका छन्, ‘यस अवस्थामा परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न म सरकारसँग माग गर्दछु । साथै, संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु।’

सरकार समयमै गम्भीर नहुनाले खोपको समुचित व्यवस्थापन हुन नसकेको टिप्पणी गर्दै देउवाले कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताएका हुन् । 

नेपाललाई खोप सहयोग गर्ने मित्रराष्ट्रहरु भारत र चीनलाई उनले धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘मित्रराष्ट्र भारतबाट सुरुमै १० लाख डोज निःशुल्क खोप प्राप्त भएको कारण ठूलो राहत महसुस भएको थियो । पछि चीनबाट पनि खोप निःशुल्क प्राप्त भई वितरण हुँदैछ । यस सहयोगका लागि दुवै मित्रराष्ट्रहरुलाई धन्यवाद दिन चाहन्छु ।’ 

अझै ठूलो संख्यामा खोपको आवश्यकता रहेको उल्लेख गर्दै देउवाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गरेका छन् । 



देउवाले कोभिड–१९ बाट सुरक्षित हुन अनिवार्य मास्कलगायत सुरक्षा व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुशरण गर्न पनि सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छन्।



  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार १८:४२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया