प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न तयार भइरहेका बेला जनता समाजवादी पार्टीले पदाधिकारी बैठक राखेको छ।
केन्द्रीय कार्यालय बालकुमारीमा जसपाको पदाधिकारी बैठक मंगलवार बिहानदेखि बसिरहेको छ। सम्भावित सत्ता गठबन्धनबारे निर्णय लिन जसपाका नेताहरुको बैठक बसेको हो। यो बैठकमा अध्यक्ष महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राईसहितका नेता सहभागी छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा कांग्रेस-माओवादी जुटेका बेला जसपाको बैठक बसिरहेको छ। बैठकअघि नै नेता भट्टराईले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने बताइसकेका छन्।
तर जसपाभित्र बहुमत सांसदसहित अध्यक्ष ठाकुर र नेता महतो ओलीलाई समर्थन गर्ने पक्षमा छन्। भट्टराई र यादवसहितका नेता अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा उभिएका छन्।
जसपामा स्थगित कार्यकारी समितिको बैठक राखेर सरकारबारे निर्णय लिनुपर्ने दबाव नेताहरुले दिइरहेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको बहुमत रहेको बताइन्छ। तर संसदीय दलमा ठाकुरको पक्षमा करिब २२ सांसद छन्। ठाकुरले ओलीलाई सघाउने निर्णय लिइसकेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।