केपी ओलीका दुई बैसाखी : शेरबहादुर देउवा र महन्थ ठाकुर !
सत्ता जोगाउन ओलीका अनेक राजनीतिक 'कार्ड'

भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन। राजनीतिमा चासो राख्ने  जो कोहीले चिया गफमा उच्चारण गरिरहन्छन् यो वाक्यांश। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनावी गठबन्धन गरेर बहुमतसहितको प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीमा पनि यो तर्क जस्ताको तस्तै लागु हुन्छ। 

२०७७ को सुरुवातदेखि नै बढेको राजनीतिक खिचातानी वर्षको अन्त्यतिर आइपुग्दा चरम चुलीमा पुगेर उनले आफ्ना सारथि गुमाउँदै पराइको साथ खोजिरहेका छन्। प्रतिपक्षमा बसेर सधैँ आफ्नो आलोचना गरिरहने नेताहरु नै यतिबेला ओलीका ‘बैसाखी’ बनेर उभिएका छन्। जसको उदाहरण कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुर बनेका छन्। 

ओली सत्ता संकटमा पर्नेबित्तिकै देउवा र ठाकुरसँग बढेको हिमचिम र चाँडोभन्दा चाँडो चुनावमा जाने देउवाको इच्छाले  यो प्रश्न जन्माएको छ। सर्वोच्च अदालतले नेकपाको आधिकारिकता खारेज गरिदिएपछि ओली ठाकुरलाई फकाउन मधेश केन्द्रित मुद्दामा लागे। उता देउवा फकाउन सत्तालोभको आश्वासन दिन थाले। 

गत वैशाखमा ओलीले तत्कालीन समाजवादी पार्टी फुटाउन सांसद अपहरणसम्मको हर्कत गरेपछि राजपा र समाजवादी मिलेर जसपा बनेको थियो। कालान्तरमा ओलीकै कारण एक वर्षपछि फेरि जसपा फुटको संघारमा पुगेको छ। 

‘कार्ड’ मा माहिर ओली

प्रधानमन्त्री ओली राजनीतिलाई आफू अनुकुल बनाउन अनेक ‘कार्ड’ खेल्छन्। दोस्रोपटक प्रधानमन्त्री भइसकेपछि ओलीले यसबीचमा धेरै कार्डहरू खेलिसकेका छन्। राजनीतिक गतिविधि बढ्दै जाँदा अन्ततः ओली स्वयंसँग पनि विकल्पहरु खुम्चिएका छन्। 



यतिबेला माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन। त्यही कारणले मात्र यतिबेला ओली बहुमतसहितको सरकारमा टिकिरहेका देखिन्छन्। यद्यपि माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता नभएको र उपयुक्त समय हेरेर पत्र लेख्न मात्रै बाँकी भएको स्पष्टीकरण दिइरहेको छ। 

चार दशकदेखि सहयात्रा गर्दै आएका आफ्नै पार्टीका नेताहरुसँग ओलीको सम्बन्ध आगो र पानीको जस्तो बन्दै गएको छ। उत्कर्षमा पुगेको एमालेभित्रको विवाद नेपाल-ओली भेटघाटले केही मत्थर हुने आशा कार्यकर्ता पंक्तिमा थियो। तर, उक्त भेटपछि नेताहरु झनै कडा शैलीमा एकअर्का विरुद्ध लागिरहेका छन्।



यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले सत्ता टिकाउन खेल्ने कार्डबारे रणनीति बनाइरहेको उनी नजिकका नेताहरु बताउन थालेका छन्। 

ओली महन्थ–सम्बन्ध

आफू संकटमा पर्नेबित्तिकै ओलीको पहिलो ‘कार्ड’ बने जसपाका नेता महन्थ ठाकुर। मधेस आन्दोलनसहितका मुद्दाहरूको सम्बोधनदेखि प्रधानमन्त्रीसम्मको ‘आश्वासन’ दिएर ओलीले ठाकुरलाई आफ्नो पोल्टामा पारिसकेका छन्।

सिंगो जसपाले समर्थन गरेन भने पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) समूहको समर्थन लिने ओलीको कोशिस हुनेछ। आफूले समर्थन नपाउने भएमा ओलीले महन्थलाई प्रधानमन्त्री बनाउने कुरा पनि सँगै अगाडि बढाइरहेका छन्। 

मधेसका मुद्दा सम्बोधन हुने भएपछि ठाकुर बरु पार्टी फुटाएर भए पनि ओलीलाई समर्थन गर्ने लाइनमा पुगिसकेका छन्। स्रोतका अनुसार ओली सरकारलाई सहयोग गर्न महन्थ ठाकुरले २२ सांसदलाई मनाइसकेका छन्। 

ठाकुर नेतृत्वको समूह सरकारमा सहभागी भए ८ मन्त्रालयसहित दिने प्रतिवद्धता जनाएको छ। यसका साथै मधेस आन्दोलनताका लगाइएका मुद्दा र रेशम चौधरीको मुद्दा पनि प्रक्रियागत रुपमा टुंग्याउने प्रधानमन्त्री ओली र ठाकुरबीच सहमति भएको छ।

तर, एकातिर एमाले तीन टुक्रामा फुट्ने अर्कोतिर प्रचण्ड-माधव नेपालको एकता र उपेन्द्र-बाबुरामसहितको चुनावी मोर्चा बन्‍ने सम्भावना बढिरहेको टिप्पणी सुरु हुन थालेका छन्।

ओली-देउवा सम्बन्ध

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सबैभन्दा बढी अन्यौलपूर्ण यात्रामा थियो, नेपाली कांग्रेसको नेतृत्व र पूरै संस्थापन पक्ष। 

एकातिर कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय भएको थियो। अर्कातिर, कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष चुनावमा जानु संवैधानिक भन्दै रटान लगाइरहेको थियो।

चुनावमा जान हतार गरिरहेका देउवाको सर्वोच्चले फेरि एमाले र माओवादी केन्द्रलाई २ जेठ अघिकै पूर्ववत् अवस्थामा हुत्याइदिएपछि बढेको थियो। कांग्रेस केन्द्रीय कार्यसमितिले गत चैत २० गते आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। देउवाले चैत २७ गते माओवादी र जसपासँग बैठक गरेपछि खासै सक्रियता देखाएका थिएनन्।  

यसैबीच पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत अविश्वास प्रस्ताव दर्ताका लागि देउवालाई दबाब दिँदै आइरहेका छन्। तर देउवा जसपा तयार नभएसम्म संख्या नपुग्ने भन्दै मानिरहेका छैनन्। 

ओलीको कदमको पार्टीभित्रबाटै चर्को आलोचना हुँदा यसबीचमा देउवा खुलेनन्। बरु, चुनावमा जानु उपयुक्त भएको भन्दै संसद विघटनको मुद्दालाई विरोध गर्न हच्किए। तर, देउवाको संवाद प्रधानमन्त्री ओलीसँग पनि कायम छ। ओलीले जसपाको साथ लिएर सत्तालाई निरन्तरता दिन खोजेको हो कि भन्ने आशंका पछिल्लो पटक उनलाई परेको छ।

ओली नेतृत्वको सरकारले गराउने निर्वाचन निष्पक्ष नहुने भन्दै वैकल्पिक सरकार बनाउन कांग्रेसबाटै देउवालाई ठूलो दबाब छ । माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएको कारण देखाउँदै पन्छिएका देउवा आफैं ओलीको ‘बैसाखी’ बनेको चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ।

  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार १४:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया