गण्डकी प्रदेशमा एमालेबाट निर्वाचित मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कुनै पनि हालतमा हटाउने योजनामा रहेका प्रतिपक्षीलाई 'फ्लोर क्रस' को चिन्ताले पिरोलेको छ।
एमालेका असन्तुष्ट सांसदहरुले कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस गरिदिएर अविश्वास प्रस्ताव फेल हुने डरले चिन्तामा परेका कांग्रेस, माओवादी र जनमोर्चाले आफ्नो पक्षका २६ सांसदहरुलाई पोखराको एउटा होटलमा राखेका हुन्।
एउटै होटलमा राखेर तीन दलले ती सांसदहरुलाई कुनै पनि हालतमा फ्लोर क्रस प्रयास नगर्न निर्देशन दिइरहेका छन्।
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ती २६ जना सांसदहरुलाई पोखरास्थित कुटी रिसोर्टमा राखेर नेताहरुले कडा निगरानी गरिरहेका छन्।
कांग्रेस र माओवादी केन्द्रको नेतृत्वकै निर्देशनमा कर्णाली घटना दोहोरिन नदिन भन्दै पोखराकै महँगो होटल एन्ड रिसोर्टमा लगेर उनीहरुलाई राखेका हुन्।
उक्त रिसोर्ट स्रोतका अनुसार त्यहाँ एउटा कोठाकै दैनिक भाडा ७ हजारदेखि १२ हजार रुपैयाँसम्म रहेको छ। यो कुरा रिसोर्टको वेबसाइटमा पनि राखिएको छ। फ्लोर क्रसको चिन्ताले नै सबै सांसदलाई कांग्रेस-माओवादीले एकै होटलमा राखेका हुन्।
कर्णाली प्रदेशमा नेकपा एमाले माधव नेपाल समूहका चारजना सांसदले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको कुर्सी जोगाइदिएका थिए।
यता गण्डकीमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका २ जना सांसदले हस्ताक्षर गरेका छन्।
उता निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका तीनजना सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन्। तर उनीहरु गाउँका कार्यकर्ता र केन्द्रका नेताको चेपुवामा परेका छन्।
गाउँका कार्यकर्ताले कुनै हालतमा कांग्रेस र माओवादीसँग मिल्न नदिन दबाब दिइरहेका बेला केन्द्रीय नेतृत्वले भने मुख्यमन्त्री गुरुङविरुद्ध उभिनै पर्ने दबाब दिइरहेको छ।
गण्डकीमा ६० जना सांसद छन्। त्यहाँ प्रदेश सरकार बनाउन ३१ जना सांसद भए बहुमत पुग्छ। कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका २ सांसद मिल्दा २९ जना हुन्छन्। यस्तोमा जनमोर्चाको साथ पाउँदा त्यहाँ प्रतिपक्षीको बहुमत पुग्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।