नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधानविपरीतका क्रियाकलाप बन्द नभएसम्म आफूहरूको अभियान बन्द नहुने बताएका छन् ।
बुधबार नेकपा(एमाले) माधव समूहका नेताहरुको छलफलपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नेता रावलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधानविपरीत गरेका गतिविधिविरुद्ध देशव्यापी रुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुन्जेलसम्म आफुहरुको अभियान जारी रहने बताए ।
‘उहाँले सर्वोच्च अदालतको फैसलाविपरीत र नेकपा(एमाले)को विधानविपरीत केन्द्रीय कमिटीलाई भंग गर्नुभो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि,’उनले भने, ‘मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टिकरण सोध्ने यी जति पनि गतिविधि गर्नुभएको छ यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौँ राष्ट्रिय महाधिवेशनको निर्णयविपरीतका गतिविधि हुन् ।’
एमालेको सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि यसविरुद्ध अभियान चलाएको भन्दै उनले सो अभियान देशव्यापी रुपमा सफलताका साथ अघि बढिरहेको बताए । उनले भने, ‘जबसम्म पार्टीको विधान मिच्ने केपी शर्मा ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइँदैन तबसम्म हामी अघि बढ्नुपर्छ भन्ने कुरालाई पुनर्पुष्टि गरेका छौँ ।’
सरकारले कोरोनाविरुद्ध प्रभावकारी पाइला चाल्न नसकेको बताउँदै नेता रावलले भने, ‘सरकारले यस्तो अवस्थामा जुन प्रकारले प्रभावकारी पाइला चाल्नुपथ्र्यो, औषधि उपचार, स्वास्थ्यकर्मीलगायत अरु काम गर्नुपथ्र्यो, त्यसतर्फ सरकारले प्रभावकारी रुपमा काम गरेको पनि देखिएन ।’
अध्यक्ष ओलीले आफुहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताउँदै उनले नेपालको कानुनबमोजिम ओलीले आफुलाई कारबाही गर्न नसक्ने दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।