गण्डकी प्रदेश सांसद शाहीलाई तेस्रो परीक्षणमा कोरोना संक्रमण पुष्टि
फरकधार / १६ बैशाख, २०७८

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिम विक्रम शाहीलाई तेस्रो परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका छ । दुईवटा रिपोर्टसहित पोखराकै चरक अस्पतालमा भर्ना भएका शाहीलाई तेस्रो पटक परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । 

यसअघि प्रदेशसभामा सबै सांसद र कर्मचारीलाई परीक्षण गर्दा उनीमा कोरोना संक्रमण नरहेको पाइएको थियो । तर, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मत दिने समयमा उनी गायव भएपछि उनमा कोरोना संक्रमण भएको भनिएको थियो । 

सांसद हराएको भनेर हल्ला भएपछि उनी चरक अस्पतालमा कोरोना उपचारमा रहेको पाइएको थियो । यसबीचमा उनमा कोरोना संक्रमण नभएको र सत्ता जोगाउन उनलाई लुकाइएको आरोप जनमोर्चाले नै लगाएपछि शाहीको तेस्रो पटक कोरोना परीक्षण गरिएको हो ।

यसअघि, गण्डकी प्रदेश प्रयोगशालाले मंगलबारको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखाएका शाहीले बुधबार कोरोना पोजेटिभ भएको रिपोर्ट देखाएर अस्पताल भर्ना भएको बुझिएको छ । उनले कोरोना पोजेटिभ भएको रिपोर्ट देखाएपछि भर्ना गरेर उनको उपचार चलिरहेको अस्पतालले जनाएको छ । 

उनलाई भेट्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चरक मेमोरियल अस्पताल पुगेका थिए । सांसद शाही चरक अस्पतालको आइसियूमा रहेको भन्ने खबर पाएपछि मुख्यमन्त्री गुरुङ उनलाई भेट्न सो अस्पताल पुगेका थिए । 

तर, अस्पताल प्रशासनले भने स्वास्थ्य जोखिम देखाउँदै भेट्न दिएन । सो अस्पतालका निर्देशक कपिल पोखरेलका अनुसार जोखिम बढ्ने भएकाले भेट्न नदिइएको हो ।

गण्डकीको ६० सदस्यीय प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । एमालेका २८ सांसद छन् । सरकारमा रहेको जनमोर्चाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार ७:११:५,   अन्तिम अपडेट : बैशाख १६, २०७८ बिहीबार ७:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया