सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट बिहीबार मात्रै ११ जनाको मृत्यु
फरकधार / १६ बैशाख, २०७८
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट बिहिबार मात्र मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक–एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो । 

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीया महिलाको बिहिबार बिहान मृत्यु भएको थियो ।
 
सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

आजै कैलालीको गोदावरी नगरपालिकाका ८७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

जोशीका अनुसार आजै घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय कोरोना संक्रमित युवकको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । सूचना अधिकारी जोशीले आजै धनगढी उपमहानगरपालिकाका ४० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको बताए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।  अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो । 

यस्तै, ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उनमा कडा खालको निमोनिया देखापरेको थियो । उनी भारतबाट आएका थिए ।

यस्तै, अछामका एक वृद्धको पनि मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको हो । ढुंगानाको नेपालगन्जबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए ।

उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्यान गएको कोभिड सम्पर्क व्यक्ति जोशीले जानकारी दिए ।

  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १७:१३:२५,   अन्तिम अपडेट : बैशाख १६, २०७८ बिहीबार १७:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया