सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको छ, छानबिन हुनुपर्छ : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् । 

बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबााही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न माग गरे । गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विच अफ गरी गायव भएका थिए ।

नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाएर राजनीतिक सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए । खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलले बताए । 

‘कीर्ते नक्कली बहाना बनाएर, अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु, विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उडाउने काम भयो,’ उनले भने, ‘खिमविक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको व्ययवस्थामा यस्ता खेल, 
कीर्ते जालसाजी खेल, अलोकतान्त्रिक षड्यन्त्रको छानबिन हुनुपर्छ ।’ 

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबााही गर्नुपर्ने बताए । स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले बताए ।  उनले भने, ‘यहाँ त सिडिओ पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौँ आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षडयन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ ।’ 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ’आइसियू’मा भर्ना भएका थिए। मंगलबारसम्म सकुशल रहेका शाही मत विभाजनको हुनुअघि अस्पतालको आइसियुमा भेटिनु शंकास्पद देखिन्छ । राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । कोरोना संक्रमण भएको भन्दै शाही चरक अस्पतालमा भेटिएका थिए ।





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १७:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया