राजेन्द्र महतोले भने : सांसद हटाउने निर्णय फर्जी हो, दोषीलाई कारबाही हुन्छ

जनता समाजवादी पार्टी नेपालमा वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनी प्रदेशका चार सांसदलाई हटाउने अध्यक्ष उपेन्द्र यादव  र डा. बाबुराम भट्टराईको निर्णयलाई गलत र फर्जी भनेका छन्। 

पार्टीमा छलफल नै नगरी गरिएको उक्त निर्णयमा संलग्न दोषीलाई पनि छानबिन गरी कारबाही चलाउने चेतावनी महतोले दिएका छन्। लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेर सरकारमा गएका चार सांसदलाई यादव-भट्टराईको पत्रमार्फत त्यहाँका सभामुख पूर्णमान घर्तीले पदमुक्त गर्न निर्णय लिएका थिए।

उक्त निर्णय लगत्तै जसपा अध्यक्ष महन्थ ठाकुरले पत्र पठाएर जसपाले अहिलेसम्म सांसद हटाउने कुनै निर्णय नगरेको बताएका छन्। अध्यक्ष ठाकुरको पत्र प्रदेश सभा सचिवालयमा पुगिसकेको छ। यता वरिष्ठ नेता महतोले यादव-भट्टराईले जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नै नबसी चालेको उक्त कदम क्षम्य नहुने बताएका हुन्। 

'लुम्बिनीका चार सांसद हटाउने कुनै निर्णय पार्टीले गरेकै छैन। त्यो सबै गलत हो ,फर्जी हो, हाम्रो केन्द्रीय कार्यसमितिको बैठक नै बसेको छैन। त्यसैले कारबाही गर्न मिल्दैन', उनले अगाडि भने, 'सांसदहरुमाथि कारबाही चलाउने पनि विधि र प्रक्रिया हुन्छ। पार्टीले निर्णय लिएर विधि प्रक्रिया अनुसार अघि बढ्नुपर्छ।'

उनले पदमुक्त गरिने सांसदहरुलाई पार्टीले पहिले स्पष्टीकरण सोध्नुपर्ने  बताए। 'पहिले त स्पष्टीकरण सोध्नुपर्छ। लुम्बिनीबारेको यो निर्णय हामी कसैको सहमति र समन्वयमा भएको छैन', महतोले थपे, 'यसको छानबिन हुनुपर्छ। यो प्रकरणमा को दोषी हो? हामी पत्ता लगाउँछौँ, कारबाही गर्छौँ।'



नेता महतोले पार्टी फुट्ने कुरालाई अहिले हतार गरेर बोल्न उचित नहुने बताए। 'लुम्बिनीबारे भएको यो निर्णय गलत छ। पार्टी फुट्ने कुरामा अहिले केही बोल्दिनँ। हेरौँ के हुन्छ', उनले थपे, 'फर्जी काममा लुम्बिनीका सभामुखको पनि मिलेमतो रहेको देखियो। जहाँबाट भएको छ, जसले गरेको छ। यो गलत भएको छ, छानबिन हुनुपर्छ।'



  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार २१:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया