सुदूरमा कोरोना : भेन्टिलेटर र आइसियू अभावमा मृत्युदर बढ्दै, प्रदेश सरकारको बेवास्ता

सुदूरपश्चिम प्रदेशमा भेन्टिलेटर र आइसियू बेड नपाएर दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु हुने दर बढ्दै गएको छ । पहाडी जिल्लामा मात्र नभएर प्रदेशको अस्थायी मुकाम धनगढीमा नै दैनिक संक्रमितको मुत्यु हुने गरेको छ ।

बिहीबार मात्र प्रदेशमा दर्जन बढी संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक वर्षीय बालकदेखि वृद्धसम्म रहेका छन् । कैलालीमा मात्र बिहीबार ६ जना संक्रमितको ज्यान गयो । शुक्रबार बिहान कैलालीका २ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुष र लम्कीचुहा १ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कैलालीको धनगढीस्थित ४५ शैय्याको कोरोना अस्थायी अस्पताल भवनको वरपर अक्सिजनका सिलिन्डर ठड्याइएका छन् । भित्र रहेका कोरोना संक्रमितको ज्यान जोगाउने एक मात्र उपाय हो अक्सिजन । तर, त्यो अक्सिजन दिने बेड नै छैनन् ।

अस्पतालका प्रवक्ता दिलीप श्रेष्ठका अनुसार धनगढीमा १३ वर्षदेखि ५० वर्ष उमेर समूहका मानिसमा अत्यधिक संक्रमण देखिएको छ । कोरोना समुदायस्तरमै फैलिसकेको छ । सेती अञ्चल अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका पाँचवटा भेन्टिलेटर, १० वटा आइसियू र ४५ वटा सामान्य बेड सबै संक्रमितले भरिएका छन् ।

अस्पतालका बेडहरु भरिएर ग्यालरीमा समेत उपचार गर्ने अवस्था आइपरेको छ । ‘कोरोनाका लागि ५५ वटा बेड छन् यहाँ । सुदूरपश्चिमका नौवटा जिल्लाको रेफर सेन्टर हो यो । यति थोरै जनशक्ति र पूर्वाधारले त धान्नै सक्दैन,’ श्रेष्ठले भने ।

अवस्था कति जटिल भइसकेको छ भने अस्पतालको आफ्नै प्लान्टबाट उत्पादित अक्सिजनले नधानेर अक्सिजन खरिद गर्नु परिरहेको छ । एक दिनमा ४७ किलोका ७४ वटा अक्सिजन सिलिन्डर उत्पादन अस्पतालकै प्लान्टबाट हुन्छ । तर, त्यतिले नपुगेर थप १ सय जति अक्सिजन सिलिन्डर दैनिक खरिद गर्नु परिरहेको अस्पतालले जनाएको छ ।



गत वर्ष माघमा कोरोना संक्रमितको संख्या घट्न थालेसँगै कोरोनाका लागि भनेर राखिएका जनशक्ति पनि अन्यत्र पठाइएपछि अहिले धान्न नसकिएको बताउँछन्, अस्पतालका सूचना अधिकारी श्रेष्ठ । उनले भने, ‘सीमित जनशक्तिले यता अस्पताल र उता कोभिड अस्पताल पनि धान्नुपर्दा अहिले त हामी अस्तब्यस्त छौँ ।’

अहिले अस्थायी कोरोना अस्पतालसँगै ५० बेडको अर्को अस्पताल पनि निर्माण सुरु भएको छ । तर, त्यो अस्पताल तयार हुन कम्तीमा पनि एक महिना समय लाग्नेछ । क्वारेन्टाइन र आइसोलेसनको अभावमा लक्षण नदेखिएका तर, संक्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेसनमा बस्न भनिएको छ । 



एकातिर जनशक्ति अभाव छ । अर्कोतिर भएका जनशक्तिले गतवर्ष नै सरकारले घोषणा गरेको जोखिम भत्ता अझै पाएका छैनन् । ‘भएका जनशक्ति पनि कामको चापले डिमोटिभेटेड होलान् जस्तो भइसक्यो,’ श्रेष्ठले भने ।

अस्पतालमा अन्य रोगको उपचार गर्न आएका बिरामीहरूलाई जाँच गर्दा पनि कोरोना संक्रमण देखिन थालेको छ । अवस्था यस्तै रह्यो भने सम्पूर्ण अस्पताललाई नै कोभिड अस्पतालमा बदल्नुपर्ने अवस्था आउन सक्छ । कोभिड वार्डमा भर्ना भएकी कञ्चनपुर झलारीकी ६० वर्षीया नन्दा लावड अरु नै रोगको उपचार गराउन आएकी थिइन् । तर, उनमा कोरोना संक्रमण देखियो ।

निर्णय छैन्, निर्देशन मात्र
बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा धनगढीमा बैठक बस्यो । त्यो बैठकले कुनै पनि निर्णय गर्न सकेन । सम्बन्धित निकायलाई निर्देशन मात्र दिएर बैठक सकियो । 

प्रदेशका सामाजिक विकासमन्त्री लगायत स्वास्थ्य सरोकारवाला, प्रशासन र स्थानीय तहका प्रमुखलाई बिहीवार आफ्नो सचिवालयमा मुख्यमन्त्री भट्टले संक्रमितको उपचारमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन मात्र दिए ।

अक्सिजनको पनि अभाव
आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिण्डर ४७ किलोग्राम गरेर दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालको अहिले त्यो परिमाण घटेको छ । 

सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले ५५ देखि ६० सिलिन्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिन्डरको आवश्यकता पर्छ ।’ कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजनको माग ह्वात्तै बढेको उनको भनाइ छ । 

‘तर हामीले मागका आधारमा उत्पादन गर्न नसके पनि जसोतसो व्यवस्थापन गरिरहेका छौँ । संक्रमित थपिँदै गएमा अक्सिजन आपूर्तिमा असहज हुनसक्छ’, श्रेष्ठले भने ।

महाकालीमा पनि उस्तै
कञ्चनपुरको महाकाली अस्पताललाई पनि अक्सिजन व्यवस्थापनमा समस्या हुन थालेको छ । धनगढी र नेपालगञ्जबाट आपूर्ति गर्दै आएको अस्पताललाई गम्भीर संक्रमित बढ्दा अक्सिजनको माग थेग्न मुश्किल भएको हो । अक्सिजन अभावका कारण संक्रमितको उपचारमा समस्या हुन थालेको  छ । 

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले विगतमा दैनिक ४० सिलिन्डर खरिद गर्ने गरेकोमा माग वृद्धि भएका बेला १५ वटासम्म पाउन मुश्किल हुन थालेकोले अक्सिजनको चरम अभाव सिर्जना भएको बताए ।

‘महाकाली अस्पतालमा ६० जना संक्रमित भर्ना भएका छन्,’ डाक्टर रोकायाले भने, ‘उनीहरूमध्ये ६ जना आइसियू, १५ जना एचडियू युनिट र २५ जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार गरिरहेका छौँ । सबैलाई अक्सिजन दिनुपर्ने भएकाले माग बढेको छ । अझै संक्रमित थपिँदै गए समस्या हुनसक्छ ।’

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १०:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया