logo-img

जसपाले कारबाही गरेपछि लुम्बिनीका चार सांसद सर्वोच्च जाँदै

एक साताअघि मात्रै लुम्बिनी प्रदेशको मन्त्री बनेका चारजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। मुख्यमन्त्री शंकर पोखरेल क्याबिनेटमा मन्त्री बनेपछि उनीहरुलाई बिहीबार पदमुक्त गरिएको थियो। 

उपेन्द्र यादव र डा.  बाबुराम भट्टराईको पत्रका आधारमा त्यहाँका सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरिदिएपछि  उनीहरु अदालत जान लागेका हुन्। सांसदहरु सन्तोष कुमार पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले आफूहरुलाई पदबाट हटाउने निर्णयविरुद्ध न्यायिक बाटो खोज्ने भएका हुन्। उनीहरु सबैजना अहिले पोखरेल नेतृत्वको क्याबिनेटका सदस्य छन्।

उनीहरुलाई पदमुक्त गरिएपछि जसपामा विभाजनको औपचारिक सुरुवात भएको छ। डा. भट्टराई र यादवले पत्र पठाएर ती सांसदमाथि कारबाही चलाएपछि अध्यक्ष महन्थ ठाकुरले हिजै आपत्ति जनाइसकेका छन्। 

लुम्बिनीले फुटतर्फ जसपा, सांसद हटाएपछि महन्थ-राजेन्द्र र बाबुराम-उपेन्द्र आमनेसामने



मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका उनीहरुमाथि जसपाका दुई नेताको पत्रका आधारमा बिहीबार पदमुक्त गरिएको थियो। जसपा संसदीय दलको बैठकसमेत नबसेको अवस्थामा दुई नेताको पत्रकै भरमा सभामुख घर्तीले उनीहरुको पद रिक्त रहेको जानकारी गराएका थिए। 

प्रदेश सभा सचिवालयले बिहीबार सूचना निकालेर जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको र त्यही अनुरूप चार सांसदलाई पदमुक्त गरिएको उल्लेख गरेको थियो। तर यसविरुद्ध चारैजना सर्वोच्च अदालत जाने भएका हुन्। 



ती चार सांसदलाई कारबाही गरेको कुरालाई लिएर अध्यक्ष महन्थ ठाकुरले असन्तुष्टि जनाउँदै बिहीबारै अलग्गै पत्र पठाएका छन्। भट्टराई र यादवले पत्र पठाएर कारबाही गरेको भन्दै ठाकुर पक्षले त्यसमा असहमति जनाउँदै अर्को पत्र पठाइसकेको हो। 

लुम्बिनी प्रदेश सभामा जसपाका ६ मध्ये ४ जना सांसद सरकारमा सहभागी भए। तर सहसराम यादव र पुर्मति ढेगाले सरकारमा जाने अन्य सांसदको निर्णयको विरोध गरिरहेका छन्। सन्तोषकुमार पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (क) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। त्यस्तै सुमन शर्मा रायमाझी र कल्पना पाण्डे  समानुपातिक सांसद हुन्। 



विवाद 

अध्यक्ष ठाकुर पक्षले केन्द्रीय कारिणीको बैठक नबसी कारबाही गरेको भन्दै आपत्ति जनाएको थियो। जसपाले अहिलेसम्म संसदीय दलको नेता छान्‍न सकेको छैन भने केन्द्रीय कार्यकारिणीको बैठक बोलाउने कुरामा पनि विवाद छ। संसदीय दलमा ठाकुरको बहुमत छ भने कार्यकारिणीमा यादवको पकड छ।

त्यहीकारण गत मंगलबार बसेको पदाधिकारी बैठकमा ठाकुर र यादव पक्षबीच विवाद भएको थियो। उक्त बैठकमा यादव र अर्का नेता राजेन्द्र महतोबीच तँ तँ र म म सम्म झरेर विवाद भएको थियो। कार्यकारिणीमा यादव र भट्टराईको बहुमत छ, यता संसदीय दलमा भने ठाकुरको बहुमत रहेको छ। 

आफ्नो पक्षको बहुमत रहेकाले यादव र संघीय परिषद डा.भट्टराईले कार्यकारिणी समितिको बैठक बोलाउन माग गरेका थिए । तर ठाकुरले त्यसलाई नकारिदिएका छन्। ठाकुर र महतो लगायतले कोरोना संकट बढेको भन्दै लकडाउन खुलेपछि मात्रै बैठक बस्ने अडान लिएका थिए।

यता लुम्बिनीको विवादमा अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशमा संसदीय दलको निर्णय नै आधिकारिक हुने अडान लिएका छन्। लुम्बिनी प्रदेशमा जसपाको प्रदेश समिति नबनेको भन्दै ठाकुरले प्रदेश संसदीय दल नै स्वायत्त रहेको तर्क गरेका छन्। 

यता वरिष्ठ नेता राजेन्द्र महतोले पनि लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीलाई अवैधानिक भनेका छन्। उनले पार्टीमा निर्णय नै नगरी गरिएको कारबाहीलाई अस्वीकार गरिने पनि बताएका छन्। 

  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया