कहिले बन्छ, घोराही-मुर्कुटी सडक ?

‘सडक बनाउँछाैँ, बन्दैछ, बन्छ भन्न लागेको पनि पाँच-सात वर्ष नै भयो । अघिल्लो वर्ष र यो वर्ष कोरोनाले रोक्यो । अहिले त किन बन्दैन भनी सोध्दा कोरोनाले काम रोक्यो भन्छन । बन्छ कि अब, बन्न-बन्न आँटेको बेला फेरि सडक उस्तै हुन्छ । अहिले त टिप्पर पनि चल्दैनन् । वैशाखभरि सडक बनाइसकेर जेठबाट कालोपत्रे सडकमा हामी बस चढ्ने रे । ठेकेदारले काम सुस्तसुस्त गरेका छन् ।

जेठमा कालोपत्रे सडकमा बस चढ्ने रहर पनि पोहोर परारको जस्तै होला ? यो वर्ष पनि सडक बन्दैन कि भन्ने पीर हामीलाई छ ।’ बंगालाचुली–३ का स्थानीय लोकबहादुर विश्वकर्माले भने–‘अब सडक कहिले बन्छ ?’ सडक निर्माणले गति लिन नसक्दा हिउँदमा धुलो र बर्खामा हिलो खानुपर्ने बाध्यता स्थानीयहरूले वर्षाैंदेखि भोग्दै आइरहेका छन् । जसकारण सडक निर्माणले चाँडै पूर्णता पाओस् भन्ने आशामा स्थानीय बासिन्दा बसिरहेका छन् । 
    
निर्माण सुरु भएको लामो समयसम्म पनि सडक निर्माण सम्पन्न हुन नसक्दा दुर्गम पहाडीवासीले सडक सुविधाका नाममा दुविधा भोग्दै आइरहेको पीडा उनले यसरी पोेखे । सडक निर्माणमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा सम्पन्न हुन नसकेको उनको भनाइ छ । निर्माण कम्पनीको ढिलासुस्ती र सम्बन्धित निकायको मौनताका कारण दुर्गम पहाडीवासीले सडकको मार खप्नु परिरहेको दुखेसो उनको छ ।

२०७२ सालदेखि निर्माण सुरु भएको घोराही–मुर्कुटीे १९ किलोमिटर कालोपत्रे सडक निर्माणको काम यही जेष्ठ १ गतेसम्म गरिसक्ने सम्झौता छ । तर, हालसम्म सडक निर्माणको काम ७० प्रतिशत मात्रै सम्पन्न भएको छ । ३३ करोडको लागतमा निर्माण हुन लागिरहेको उक्त सडकको कामले तीब्रता नपाउँदा दाङका पूर्व–उत्तरी पहाडवासीहरू यो वर्षको बर्खामा पनि सडकको दुख भोग्नुपर्ने कुरामा चिन्तित छन् ।

‘हामीलाई टाउको दुखाइ भयो’

‘सिमेन्ट उद्योगका टिप्पर बन्द गरी सडक निर्माण गर्ने वातावरण स्थानीयपालिकाले गर्‍यो । कयौं जोखिम हुँदाहुँदै पनि गाउँपालिकाले कार्यपालिकाबाट निर्णय गरी सडक निर्माणको बाधक बनेको टिप्पर बन्द गर्‍यो । उद्योगहितभन्दा पनि हामीले जनताको हितका लागि काम गर्‍यौँ । जो कामले निर्माण कम्पनीलाई पनि सहयोग पुर्‍याएको थियो । तर, त्यो अनुरूप उपलब्धि हामीले पाउन सकेनौँ ।’

बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले भने–‘धेरै दबाब दबाउँदै भए पनि हामीले दुई पटक टिप्पर बन्द गरायौँ । तर, त्यो कामले सार्थकता पाउन सकेन ।’ दुर्गम वस्तीलाई सुगम र सहज बनाउन सडक निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय सरकार अघि बढे पनि त्यो अनुरूपको काम सरोकारवाला निकाय र सम्बन्धित पक्षले गर्न नसकेको उहाँको गुनासो छ ।



उनले थपे– ‘टिप्पर बन्द गर्दा उद्योग, कतिपय राजनीतिक दलले हाम्रो विरोध गरे, अब फेरि समयमा सडक बनेन भने जनताले पनि  हाम्रै विरोध गर्ने हो । त्यो कसले बुझ्ने ?’

सडक निर्माणका कारण दुर्गम फेरिन नसक्दा यहाँको महिला, बालबालिका र स्थानीय किसानको अवस्था समेत फेरिन अझै सकेको छैन ।  जसको प्रत्यक्ष मार उनीहरूमाथि नै परिरहेको छ । तर, दुर्गमलाई फेर्न सडकले नै सक्ने, सडक निर्माणलाई सबैले चासोका साथ लिनुपर्ने गाउँपालिकाका उपाध्यक्ष यमुना थापा घर्तीको भनाइ छ । 



जनप्रतिनिधिहरूलाई राजनीतिक, सामाजिक र संगठनात्मक दबाब मात्रै होइन, उक्त सडक स्तरोन्नतिका लागि कतिपय अवस्थामा प्रशासनिक दबाबहरू पनि गाउँपालिका प्रशासनले खेप्नु परेको छ ।

राज्यको तर्फबाट राज्यको विकासका लागि राज्यका सहयोगी निजी क्षेत्रलाई पनि अप्ठेरोमा पार्न हुन्न भन्ने थियो । तर, हामीले त्यो अप्ठेरोभन्दा नागरिकको अप्ठेरोलाई हेर्दा सडक बन्द गर्ने गराउने र सडक निर्माण गरी नागरिकको दैनिकीमा सहजता थप्ने उद्देश्य राखे पनि त्यो अनुरूपको तीव्र काम कम्पनीले गर्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको भनाइ छ ।

निर्माणाधीन सडकका कारण स्थानीय वातावरण प्रदुषण, जोखिमपूर्ण यात्रा लगायतका थुप्रै समस्या स्थानीय नागरिकले व्यहोर्नु परिरहे पनि त्यसको समाधानका लागि तीव्रताका साथ काम हुन नसकेको उहाँको भनाई छ । उनले भने– ‘जेठ १ गतेबाट टिप्पर चल्छन्, सहमति त्यतिसम्मको छ । अब सडक निर्माणको काम पो कहिले सकिन्छ ?’

असारसम्म सकिन्छ 

घोराही–मुर्कुटी सडक निर्माणको जिम्मा जलजला निर्माण कम्पनीले लिएको छ । कम्पनीले स्थानीय सरकार, स्थानीय प्रशासन र उद्योगहरूसँग यही वैशाख मसान्तसम्म कालोपत्रेको काम सक्ने सम्झौता गरी निर्माण अघि बढाएको छ । स्थानीय सरकार र प्रशासनले पनि उद्योगका मालवाहक ढुवानी उक्त समयावधिसम्म सञ्चालनमा रोक लगाएका छन् । तर, सडक डिभिजनले दाङले पनि असार मसान्तसम्म सडक निर्माणको कामले पूर्णता पाउने आंकलन गरेकोे छ ।

त्यो आंकलनले स्थानीयलाई त्रसित पारेको छ । बन्दै गरेको सडक पुनः उही हालतमा मालवाहक ढुवानीका कारण फर्किने हो कि भन्ने पीर छ । तर, सडक डिभिजन दाङका सूचना अधिकारी अमिर सुवेदीले भने, ‘असार मसान्तसम्म सडक निर्माणको म्याद छ । कोरोना कहरका कारण पुस मसान्तसम्म म्याद थप गरिएको छ ।

तोकिएको समयसम्म उक्त सडकको निर्माण जसरी पनि सकिन्छ ।’ कोरोना संक्रमणको महामारी पुनः बढेकाले पुनः सडक निर्माणको काम रोकिन्छ कि भन्ने आशंका उनको छ । तर, सडक निर्माणलाई सहज बनाउन स्थानीय प्रशासनसँग पहल गरिने समेत उनको भनाइ छ ।

उक्त सडकमा लागत रकम ठूलो रहे पनि सडक कालोपत्रे प्रविधि भने कमजोर रहेको रहेको समेत बताए । सडक निर्माण डी.बी.एस.टी. प्रविधिको रहेको छ । जसको भार वाहन क्षमता १० टनको मात्रै रहेको छ । यस विषयमा निर्माण कम्पनीलाई  फोन सम्पर्क हुन सकेको छैन । 

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १४:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया