करिब १ महिनादेखि काठमाडौं लगायत नेपालमा मुख्य शहरहरूमा कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरले निकै सन्त्रास फैलाएको छ। पछिल्ला दिनमा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ। नयाँ संक्रमित र कोरोनाबाट सिकिस्त बिरामी हुनेहरूको संख्या ह्वात्तै बढेपछि सरकारले काठमाडौं उपत्यका लगायत देशका भीडभाड हुने क्षेत्रमा एकसताका लागि निषेधाज्ञा लगाएको छ।
बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लाका निषेधाज्ञा जारी छ। संक्रमणको उच्च जोखिमको अवस्थामा लगाइएको निषेधाज्ञालाई समेत बेवास्ता गरी लापरवाही भइरहेको देखिन्छ।
शुक्रबार बिहान यस्तै लापरवाही देखियो तीनकुने शान्ति नगरस्थित तरकारी बजारमा। शान्तिनगर तरकारी बजार नाम राखिएको यो तरकारी बजार उपत्यकाका ठूलो थोक तरकारी बजार मध्येको एक हो।
तरकारी अत्यावश्यक वस्तु अन्तर्गत रहेकाले प्रशासनले यसको ढुवानीमा छुट दिएको छ। साथै बिहान बेलुका निश्चित समयका लागि तरकारी बजार खोल्न दिइएको छ।
शान्तिनगरको यो तरकारी बजार पनि बिहान ४ बजेबाट १० बजेसम्म र दिउँसो ४ बजेबाट ६ बजेसम्मका लागि खोल्न दिइएको त्यहाँका व्यापारीले जानकारी दिएका छन्।
शुक्रबार बिहान करिब ९ बजेतिर यस तरकारी बजारमा पुग्दा व्यापारीहरूको बिहानको व्यापार सक्काएर सुस्ताइरहेका थिए। फाट्ट–फुट्ट मात्रै ग्राहकहरू देखिन्थे। कोही पसल छोपेर घर हिँडिसकेका थिए। कोही व्यापारी पसलमा कुरिरहेका थिए।
मास्कबिना प्रवेश निषेध भनेर पोलमा टाँसिएको थियो। स्वास्थ्य मापदण्ड पालना गर्नमा व्यापारी र ग्राहकले समेत कुनै मतलब गरेको देखिन्थ्यो।
बजारको बीचमा एक समूह लुडो खेलेर बसिरहेको थियो। लुडो खेल्नेले मास्क लगाएका थिए। तर मुख र नाक छोपेर होइन, चिउँडो र घाँटीमा मात्रै मास्क झुण्डिएको देखिन्थ्यो। लुडो खेलेको हेर्नेहरू वरिपरि उभिएका थिए।
व्यापरमा व्यस्त थुप्रै व्यापारीका पनि चिउँडो या घाँटीमा मात्रै मास्क थियो। मास्क लगाइरहेका व्यापारी पनि ग्राहक आएर कुरा गर्नुपर्दा चाँही मास्क खोलेर कुरा गरिहरेका थिए। नजिक कोही मान्छे नभएका बेला मास्क नलगाए पनि हुने तर अरु मान्छेको नजिक हुँदा, उनीहरूसँग कुरागर्दा अनिवार्य मास्क लगाउनु पर्ने कुरा उनीहरूलाई थाहा नभएको वा बिर्सिएको, बेवास्ता गरिएको देखिन्थ्यो।
अझ रमाइलो कुरा त के भने व्यापारीहरूको एक समूह भलिबल खेल्न व्यस्त थियो। उनीहरू कसैको मुखमा मास्क थिएन्। भलिबलका दर्शक पनि उत्तिकै थिए।
केही व्यापारीहरू तास आउँदैछ म्यारिज भिड्नुपर्छ भन्दै कुरा गरिरहेका थिए। कोरोनाको उच्च जोखिमपछि जारी गरिएको निषेधाज्ञालाई पर्व मनाउन वा रमाइलो गर्नका लागि दिइएको छुट्टीको रुपमा लिइएको देखियो।
उपत्यकाका विभिन्न ठाउँका खुद्रा व्यापारी तरकारी लिन यहाँ आउने गर्छन्। धेरै तिरका मान्छे आउने भएकाले यहाँ संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो जोखिमयुक्त ठाउँमा देखिएको यो प्रकारको लापरवाहीले निषेधाज्ञा, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सरोकारवाला निकायले गरेको अपिल सबैलाई मजाक उडाइरहेको छ।
यो स्थानमा मात्रै नभएर यस खालका लापरवाही धेरै ठाउँमा देखिन्छ।
संक्रमित बिरामीको चाप र उनीहरूको स्वास्थ्य अवस्था देखेर उपचारमा खटिएका चिकित्सकहरू नै आत्तिन थालेको अवस्था छ। त्यो देख्दा देख्दै पनि अलिकति पनि सजग नहुँदा त्यसले निम्त्याउने जोखिमको जिम्मेवार को ?
भलिबल खेल्दै तरकारी व्यापारीहरु(भिडियो)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।