सञ्चालनमा आउन सकेनन् प्रदेशमा होल्डिङ एरिया, मोरङमा स्थान चयनमै समस्या


प्रदेश कोरोना क्राइसेस म्यानेजमेन्ट कमिटी (पीसीसीएमसी) ले भारतबाट आउनेहरूलाई राख्नका लागि सीमासँग जोडिएका जिल्लामा होल्डिङ एरिया तत्काल बनाउने निर्णय गरेको भए तापनि अझै प्रदेशमा होल्डिङ एरिया सञ्चालनमा आउन सकेका छैनन् । 

पीसीसीएमसीले निर्णय गरेको चार दिन बितिसक्दा पनि मोरङमा भने अझै होल्डिङ एरिया कहाँ बनाउने भनेर स्थानसमेत तय भएको छैन ।

झापा र इलाममा होल्डिङ सेन्टर बन्दै गरेको भए पनि सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ । सुनसरीमा पुरानै होल्डिङ एरियामा सञ्चालन गर्ने तयारी भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । होल्डिङ एरिया सञ्चालन नहुँदा भारतबाट नेपाल प्रवेश गरेकाहरूलाई कहाँ राख्ने उनीहरूको स्वास्थ्य समस्या भए कसरी समन्वय गर्ने भन्नेमा समस्या भएको छ । 

सीमामा रहेका हेल्थ डेक्समा भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिन थालेको छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ आए पिसिआर परीक्षण गर्ने गरिएको छ ।

पिसिआर परीक्षणको रिर्पोट नआउन्जेलसम्म पनि मानिसलाई कहाँ र कसरी राख्ने भन्ने समस्या भएको सीमा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थकर्मीले बताए । रानीस्थित हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीका अनुसार भारतबाट नेपाल आउनेहरूलाई राख्ने स्थान नहुँदा त्यत्तिकै घर पठाउनु परिरहेको छ । यसले समुदायमा कोरोना संक्रमण फैलने खतरा बढिरहेको छ । 


भारतसँग सिमाना जोडिएका र आधिकारिक रूपमा खुल्ला गरिएका सीमानाका आसपासमा होल्डिङ एरिया बनाउने र त्यसको सबै लागत प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको छ । यसअघि विद्यालयमा होल्डिङ एरिया बनाइएको थियो ।



यस पटक विद्यालयमा नबनाउनु भन्ने भएकाले होल्डिङ एरिया कहाँ बनाउने भनेर निर्णय भइनसकेको प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले बताए । उनले भने, “हामी आवश्यक समन्वय गरेर चाँडै होल्डिङ एरिया निर्माण गर्ने तयारीमा लागेका छाैँ । केही दिनमै निर्माण गरेर सञ्चालन गर्ने छाैँ ।”

निरौलाका अनुसार प्रदेशबाट बजेट आउने भनिए तापनि  अहिलेसम्म बजेट आइसकेको छैन । लागत व्यहोर्ने भनिए पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बजेट भने अझै पुगिनसकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी गराए । उनका अनुसार झापामा रहेका २ वटा आधिकारिक सीमा नाकाबाट दैनिक ६ सयको हाराहारीमा नेपाल प्रवेश गरिरहेका छन् । 



उनीहरूलाई राख्नका लागि होल्डिङ एरिया बनिरहेको र आइतबार सम्ममा सञ्चालनमा आउने तिमिल्सिना बताए । उनले भने,“प्रदेश सरकारले बजेट पठाइनसक्दा टेन्ट पालको राख्ने काम भइरहेको छ । हामीले बजेट माग गरेर पठाएका छौँ । आइतबार सम्ममा बजेट आउँछ ।”

नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीसँगको समन्वयमा होल्डिङ एरिया बनाइरहेको तिमिल्सिनाले बताए । 

इलाममा भने दुई खाले होल्डिङ एरिया बनाउने तयारी रहेको छ । तिमिल्सिनाका अनुसार भारतबाट प्रवेश गरेकालाई होटलमा बस्न चाहे होटलमा समेत बस्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रदेश सरकारसँग समन्वयमा सूर्याेदय नगरपालिकामा पनि होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको छ । 

यसका लागि आवश्यक लागत इस्टिमेट प्रदेश सरकारलाई पठाएका छौँ । इलामस्थित पशुपतिनगरबाट दैनिक ३० जनाको हाराहारीमा नेपाल प्रवेश भइरहेको उनले बताए । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार सुनसरीमा होल्डिङ एरिया बनिसकेको उल्लेख गरेका छन् ।

उनले गाडी सञ्चालनमै रहेकाले अहिले नै होल्डिंग एरियामा नराखेको ढकालले जानकारी दिए । उनका अनुसार शंकास्पद र कोरोना पोजेटिभ देखिएकाहरुलाई भने छुट्टै गाडीमा राखेर सम्बन्धित पालिकामा पठाउने गरिएको छ । प्रदेश- १ मा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र गौरीगन्ज, मोरङको रानी र सुनसरीको भान्टाबारीलाई भारतबाट नेपाल प्रवेश गर्ने आधिकारिक नाका खुल्ला गरिएको छ । ती सबै नाकामा हेल्थ डेक्स सञ्चालन गरिएको छ  । 
 

 

 

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १४:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया