सत्तारुढ दल नेकपा एमाले आगामी मंसिर २-६ मा महाधिवेशन तयारी थालेको छ। वैशाख ६, १० र १२ गते बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको निर्णय तथा निर्देशन पठाउन वैशाख १३ मा जारी गरिएको अन्तर पार्टी निर्देशन-१० लाई हेर्दा एमाले दशौं महाधिवेशनमा होमिइसकेको छ।
महाधिवेशन तयारीका निम्ति एमालेले मातहत कमिटीहरूको अधिवेशन तालिका समेत जारी गर्दै निर्देशन दिइसकेको छ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नाम विवादसम्बन्धी मुद्दामा सुनुवाई गर्दै सत्तारुढ नेकपा खारेज गरेको थियो। उक्त निर्णयसँगै पुनःस्थापित भएको एमाले र माओवादी अहिले आआफ्नो बाटोमा लागिसकेका छन् । तर, एमालेको आन्तरिक कलह भने, विगतमा नेकपा रहँदा सरहकै जारी छ ।
पार्टी र सत्ताको बागडोर सम्हालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउने गरी अगाडि बढेको देखिँदैन। झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका एमाले नेताहरु पनि मिल्ने ढंगले अगाडि बढेको देखिँदैन । यस्तो अवस्थामा एमालेको दशौं महाधिवेशन तोकिएकै मितिमा गर्न निकै गाह्रो देखिन्छ ।
चलायमान बन्दै पार्टी कमिटी
एमाले अध्यक्ष ओलीले १९ पेज लामो १० बुँदे निर्देशन जारी गरेका छन्। निर्देशनमा भनिएको छ, ‘प्रदेश, जिल्ला र त्यस मातहतमा पालिकाको वडा तहसम्म संगठन कमिटी बनाउने । कमिटीको पदाधिकारीमा अध्यक्ष र सचिव रहने । कमिटी र सचिवालयको सदस्य संख्या नेकपाको कार्यकालमा भए सरहकै हुने।’
प्रदेश संगठन कमिटीको योजना अनुरुप २०७८ जेठ मसान्तभित्र जिल्ला र त्यस मातहतका सबै तहमा पार्टी कमिटीहरूको पुनर्गठन गरी संगठन कमिटीमा रुपान्तरण गर्न निर्देशन गरिएको छ । त्यस्तै जनसंगठनहरुको केन्द्रदेखि स्थानीय तहसम्मको र प्रवास क्षेत्रको समग्र संगठनात्मक काम पनि यही अवधिमा सम्पन्न गर्न भनिएको छ ।
एमाले र माओवादीबीच २०७५ जेठ २ गते एकीकरण भएर नेकपा बनेपश्चात् पार्टीका आन्तरिक कमिटीहरु निकै कमजोर भएका थिए । पार्टी एकीकरणपछि केन्द्रीय नेताहरुको खिचातानीले पार्टीको आन्तरिक जीवन ध्वस्त प्राय: बनेको थियो । त्यसैलाई माथि उकास्न अहिले ओलीले महाधिवेशनको तयारी स्वरुप मातहत कमिटीहरु सक्रिय बनाउन निर्देशन गरेका हुन् ।
सदस्यता नवीकरण
एमालेले आगामी असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्न निर्देशन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकालका पार्टी सदस्यहरु र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको समयमा कायम रहेका पार्टी सदस्यहरुलाई नवीकरणको अवसर दिने एमालेको निर्णय रहेको छ।
सबै तहमा पार्टी तथा जनसंगठनहरुको संगठनात्मक संरचना निर्माण गर्न र पार्टी सदस्यता नवीकरण गर्न जिल्ला कमिटीले प्रत्येक पालिकामा ७ जनाको दरले विशेष कार्यदल गठन गरी खटाउनेछ। प्रदेश कमिटीका तर्फबाट प्रत्येक पालिकामा २ जनाको दरले सहजकर्ता खटाउने एमालेको तयारी छ ।
तल्ला कमिटीका निर्वाचन कार्यतालिका
एमालेले दशौं महाधिवेशनको तयारीस्वरुप विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न २०७८ साउन २५-२७ मा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्दैछ । त्यस्तै भदौ ५ गते वडा कमिटीको अधिवेशन, भदौ १५ गते पालिका कमिटीको अधिवेशन, भदौ ३० गते जिल्ला कमिटीको अधिवेशन र असोज २३ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ।
सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने एमालेको तयारी छ ।
कति सम्भव मंसिरमा महाधिवेशन ?
विश्व कोरोना भाइरस संक्रमण दोस्रो लहरका कारण आतंकित छ । संक्रमणले नेपाललाई पनि गाँज्दै लगेपछि नेपालका विभिन्न सहर लकडाउनको स्थितिमा छन् । छिमेकी राष्ट्र भारतमा कोभिड-१९ संक्रमण र त्यसका कारण उत्पन्न परिस्थिति हेर्ने हो भने नेपालमा पनि त्यो अवस्था आउन धेरै बेर छैन । तर, सत्तारुढ नेकपा एमाले भने, दशौं महाधिवेशनको तयारीमा जुटेको छ ।
त्यसो त एमालेले कोरोना महामारी नियन्त्रण गर्ने कार्यमा स्वयमसेवी रुपमा जुट्न आफ्ना नेता, कार्यकर्तालाई निर्देशन गरिसकेको छ ।
तर, यस्तो अवस्थामा गरिएको पार्टी महाधिवेशनको तयारी कति प्रभावकारी बन्ला ? भनेर हामीले एमालेकै नेताहरुलाई सोधेका छौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमाले केन्द्रीय सदस्य सूर्य थापा मंसिर आउन धेरै समय बाँकी रहेकाले अहिले नै महाधिवेशन गर्न गाह्रो हुने विषयमा सोच्न आवश्यक नरहेको बताउँछन्। ‘पार्टीको महाधिवेशन गर्ने भनेर भर्खरै निर्णय भएको छ।
महाधिवेशनकै निम्ति पार्टीका गतिविधिहरु चलायमान बनाउने भन्ने कुरा पनि भएको छ’, नेता थापाले भने, ‘समय अझै बाँकी छ । गर्दै जाँदा हुन्छ भन्ने हो । बाँकी कुरा कोभिड लगायतका समस्याका कारण महाधिवेशन मंसिरमा हुने कुरामा अवरोध हुन गएमा त्यतिबेलै हेरौँला।’ कोरोना महामारी वा अन्य कारणले महाधिवेशन पर धकेलिन सक्ने कुरामा भने थापाले नकारेनन् ।
यस्ता गतिविधिले पार्टी फुट्छ
कोरोना महामारीको दोस्रो चरणको भेरियन्टका कारण समस्या बढ्दै गएपछि एमालेभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको खनाल-नेपाल समूहले केन्द्रमा आयोजना हुने सम्पूर्ण कार्यक्रम हालका लागि स्थगित गरेको छ।
तर, पार्टीको आन्तरिक विवाद समाधान नहुँदै महाधिवेशनसम्बन्धी गतिविधि अगाडि बढ्नुले थप समस्या निम्त्याउने खनाल-नेपाल पक्षको दाबी छ। कोभिडका कारण अहिले बाहिरी गतिविधि बन्द भए पनि ओली पक्षले महाधिवेशन लक्षित कार्यतालिका सार्वजनिक गर्दा थप समस्या उत्पन्न हुने केन्द्रीय सदस्य मेटमणि चौधरी बताउँछन् ।
यस्ता गतिविधिले पार्टी विभाजन हुने उनको तर्क छ। ‘महाधिवेशन लक्षित सर्कुलर जारी भएको कुरा सुन्यौं । पार्टीभित्र विवाद कायम रहेकै अवस्थामा हुने यस्ता गतिविधिले पार्टीमा थप समस्या निम्त्याउँछ’, नेता चौधरीले भने, ‘यस्ता समस्यालाई समाधान गरेर मात्र अगाडि बढ्नुपर्छ । नत्र केपी ओली नै पार्टी फुटाउने लागेका छन् भन्ने कुरा देखिन्छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।