बागमती प्रदेश मन्त्रिपरिषद्को बैठक ११ दिनदेखि बस्न सकेको छैन । प्रदेशको प्रमुख सचिव र नवनियुक्त मन्त्री र राज्यमन्त्रीले कार्यभार सम्हालेपछि हालसम्म बैठक नबसेको हो । यसअघि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गर्न वैशाख ७ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
आइतबार साँझ नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र राज्यमन्त्री डा. रामकुमार अधिकारीसहित मन्त्रिपरिषद्को पूर्ण बैठक हुने भएको छ ।
यस्तै, बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्द पौडेलले पनि पहिलो पटक बैठक सञ्चालन गर्ने भएका छन् । यसअघि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको भूमिका निर्वाह गरिसकेका डा. पौडेल प्रमुख सचिव भएर आएको एक हप्तापछि बैठक हुन लागेको हो ।
बैठकमा बागमती प्रदेशमा कोरोना नियन्त्रणको विषयले प्राथमिकता पाउने भएको छ । बैठकमा प्रदेशमा कोरोना नियन्त्रणका लागि स्थानीय तह र केन्द्रसँगको समन्वयको विषय पनि उठ्ने भएका छन् ।
नीति तथा कार्यक्रमको लागि सुझाव सुरु
प्रदेशको अब हुने मन्त्रिपरिषद्को बैठकमा वर्षे (बजेट) अधिवेशनको तयारी र सरकारको स्थायित्वको अवस्थाबारे पनि छलफल हुन सक्ने एक मन्त्रीले बताए ।
बागमती प्रदेशको आर्थिक वर्ष २०७८÷०७९ लागि बजेट निर्माण गर्न नीति तथा कार्यक्रममा सुझाव संकलन सुरु भइसकेको छ । प्रमुख सचिव डा. पौडेलका अनुसार अहिले मन्त्रालयगत रुपमा विषयगत सुझाव संकलन भइरहेको छ ।
सामाजिक सञ्जाल, इमेलमार्फत सरकारले सुझाव लिइरहेको सचिव पौडेलले बताए । कोरोना भाइरसको संक्रमण त्रासका कारण गोष्ठी र अन्तरक्रिया गरेर नीति तथा कार्यक्रमको लागि सुझाव संकलन भने भएको छैन ।
नीति तथा कार्यक्रममा ठूला आयोजनाको पहिचान र सम्भावना समेत निर्धारण गर्न सरकारले काम सुरु गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।