उपत्यकाका कोभिड संक्रमितको उपचारमा एक हजार शय्या थपिँदै
स्वास्थ्य मन्त्री भन्छन् : संक्रमितको उपचारबाट सरकारले हातखुट्टा छाडेको छैन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ का सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन्। 

उनले शनिबार भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन्। 'बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन', उनले भने, 'सरकार जिम्मेवारी साथ कर्तव्यपालनामा अगाडि बढेको छ।'

मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएको थियो। तर मन्त्री त्रिपाठीले शनिबार भिडियो सन्देश जारी गर्दै सरकार जनताका साथमा रहेको स्पष्ट गरे।

मन्त्री त्रिपाठीले संक्रमितको उपचारको सबै जिम्मेवारी सरकारले लिएको बताउँदै संक्रमणबाट आतंकित हुने अवस्था नरहेको जिकिर गरे। सरकार आफ्नो प्रतिवद्धता पूरा गर्न तयार रहेको उनको दाबी थियो। नेपाली जनताको जीवन जोगाउन हरप्रयास गरिरहेको समेत उनले बताए। 

'कोभिड–१९ को दोस्रो लहर गम्भीर र जटिल रहे पनि हामी आतंकित हुने स्थितिमा छैनौँ ', उनले सन्देशमा भनेका छन्, 'सरकार हरेक उपचार विधि र उपचारका लागि अस्पताल थप्‍ने काम गरिरहेको छ।'

एक हजार शय्या थपिँदै



उनले कोरोना संक्रमितको उपचारका लागि  काठमाडौँ उपत्यकामा एक हजार शय्याको व्यवस्था गरिएको बताए। 'सरकार अक्सिजन जोहो गर्नेदेखि लिएर संक्रमितको उपचार गर्न दत्तचित्त भएर लागेको छ', उनले अगाडि भने।

संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुई तीन दिनभित्र नेपालमा आपूर्ति गरिने उनको भनाइ छ ।  मन्त्री त्रिपाठीले एकैचोटि संक्रमणको दोस्रो लहर आएको बताउँदै यो भेरियन्ट आक्रमणकारी रहेकाले हठात संख्या बढ्दो रहेको उल्लेख गरे।



उनले संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो व्यवस्थापनमा कहीँकतै कमजोरी भएको भए  नैतिक जिम्मेवारीसमेत लिइने स्पष्ट गरे। नेपाली जनताको जीवन महत्वपूर्ण भएकाले नै संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको उनको भनाइ छ । 

'संक्रमणको दर घटाउनमा यसले मद्दत पुर्‍याउने छ । महामारीका लागि रोकथाम महत्वपूर्ण विषय हो', उनले भने, 'उपचार दोस्रो  हो । त्यसैले रोकथामका लागि निषेधाज्ञा गरिएको हो।'

उनले सबैलाई निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न र सुरक्षाका सबै मापदण्ड अपनाउन समेत आग्रह गरेका छन्। 

  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार २२:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया