वीरेन्द्रनगरको कोभिड नियन्त्रण योजना : ५० बेडको आइसोलेसन सेन्टर, निःशुल्क एम्बुलेन्स सेवा
फरकधार / १९ बैशाख, २०७८

कोरोना संक्रमित बढ्दै गएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजनसहितको ५० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने भएको छ । 

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोनाको दोस्रो लहर अत्यधिक मात्रामा फैलिरहेको छ । संक्रमितको दरसँगै मृत्युदर पनि बढिरहेको छ । यस अवस्थालाई मध्यनजर गर्दै वीरेन्द्रनगरले अक्सिजनसहितको ५० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने जनाएको हो । 

प्रदेश अस्पताल सुर्खेतमा कोरोनाका बिरामीले अस्पतालमा बेड पाउन मुस्किल हुने अवस्था आएपछि वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अस्पताल सञ्चालन गर्न लागेको नगरउपप्रमुख मोहनमाया ढकालले बताइन् ।

उनका अनुसार तत्कालै २५ बेडको सेवा सुरु गरिनेछ । भने २५ बेड फेरि थप गरिनेछ । जसका लागि कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा विकास गरिनेछ । नगरपालिकाको निर्णयअनुसार अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उपप्रमुख ढकालले बताइन् । 

यस्तै, नगरपालिकाले कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरेको छ । आइतबार प्रदेश अस्पताल कालागाउँमा कार्यरत बालरोग विशेषज्ञ डा.नवराज केसी र डा. प्रदीप न्यौपानेसँग नगरपालिकाले एम्बुलेन्स सञ्चालनका लागि छलफल गरेको उप–प्रमुख ढकालले जानकारी दिइन् ।

नागरिकलाई कुनै समस्या पर्यो भने तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा आउन उपप्रमुख ढकालले आग्रह गरिन् । 

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १६:४३:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया