प्रधानमन्त्रीले विश्‍वासको मत लिने, राष्ट्रपतिसँग आजै दुई पटक भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। ओलीले संसदबाट विश्वासको मत लिने गरी आन्तरिक छलफल बढाएका छन्। संसदबाट विश्वासको मत लिनका लागि उनले आजै क्याबिनेट बैठकको बीचमै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका छन्। 

प्रधानमन्त्री ओलीले आजै दिउँसो पनि राष्ट्रपति भण्डारीलाई भेटेका थिए। एमाले स्थायी कमिटीको बैठक सके लगत्तै शीतल निवास पुगेका उनी आजै दोस्रो पटक राष्ट्रपतिलाई भेट्न गएका हुन्। 

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले आगामी वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका छन्। 

एमालेका एकजना नेताका अनुसार ओलीले आजको स्थायी कमिटी बैठकमा पनि यसबारे सङ्केत गरेका थिए। 'पहिल्यैदेखि उहाँले सरकारमा बसिरहन रुचि नगरेको बुझेका थियौँ', ती नेताले भने, 'संसदको अंक गणितले पनि नयाँ सरकार बनाउने सम्भावना छैन। त्यसो हुँदा आफू नेतृत्वको सरकार काम चलाउ भएर चुनावमा जाने निचोड प्रधानमन्त्रीको हुन सक्छ।'

उनले अहिले बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा पनि विश्वासको मत लिनेबारे मन्त्रीहरुलाई जानकारी गराएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीले आगामी वैशाख २७ गते विश्वासको मत लिने गरी तयारी थालेका छन्। 

माओवादी र कांग्रेसले अविश्वास हाल्न बहुमत जुटाउन सकेका छैनन्। जनता समाजवादी पार्टी पनि अहिले दुई चिरा हुन लागेको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। अहिलेसम्म ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता गरेको छैन।



'यदि माधवकुमार नेपालहरुले फ्लोर क्रस गरेर सरकार ढालेको अवस्थामा पनि देश चुनावतिर जाने निचोड प्रधानमन्त्रीको छ', उनीनिकट एक नेता भन्छन्, 'फ्लोर क्रस गर्ने सांसदहरुलाई एमालेले कारबाही गर्न सक्छ। जसरी कर्णालीमा कारबाही भएको थियो।'
 



  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १८:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया