प्रधानमन्त्रीले विश्वासको मत लिँदै : वैशाख २७ गते संसद् बोलाउन सिफारिस

सरकारले आगामी वैशाख २७ गतेका लागि संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही दिन विश्वासको मत लिने भएका छन्। 

बालुवाटारमा आइतवार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। आजको बैठकले आगामी वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वान गर्ने निर्णय लिएको छ। त्यही दिन प्रमले विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकबाट भएको हो।

संवैधानिक व्यवस्था अनुसार आफूमाथिको विश्वासको मत जाँच्न प्रधानमन्त्री उचित लागेका बेला विश्वासको मत संसदमा जाँच्न पाउँछन्। माओवादीले हालसम्म पनि समर्थन फिर्ता नगरेको अवस्थमा ओलीले विश्वासको मत लिन लागेका हुन्। 

अहिले पनि सरकार बहुमतमै छ। तर प्रधानमन्त्रीले विश्वासको मत जाँच्न लागेका हुन्। प्रधानमन्त्रीले आफ्नो पद जोगाउन अहिले १३५ देखि १३८ सांसदको मत लिनुपर्ने हुन्छ।

अहिले प्रतिनिधिसभा २७५ सदस्यमध्ये एमालेका १२१ जना छ। कांग्रेसका ६१ जना छन् भने माओवादीका ४९ जना छन्। माओवादीले एमालेमा गएका चारजनालाई पदमुक्त गरेको छ। जनता समाजवादी पार्टीका ३२, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्रका १/१ जना छन्। 

नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। तर उसले ओलीलाई बिदा गरेर कांग्रेस र जनता समाजवादी पार्टीसँग संयुक्त सरकार बनाउन खोजिरहेको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय लिइसकेको छ। उता निर्णायक मानिएको जनता समाजवादी पार्टी विभाजित रहेको छ। 





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १८:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया