चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याइँदै
स्वास्थ्य प्रवक्ता भन्छन् : एक सातामै पहिलो लट आइपुग्छ
फरकधार / २० बैशाख, २०७८

नेपालले चीनबाट २० हजार अक्सिजन सिलिन्डर किन्ने भएको छ। त्यसका लागि चीनसँग कूटनीतिक पहल गरिएको थियो। 

चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर बेच्न तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक साताभित्रै दुई हजार थान सिलिन्डर नेपाल आइपुग्ने बताए। 

‘पहिलो चरणमा दुई हजार सिलिन्डर एक साताभित्र नेपाल आइपुग्छन्। त्यसपछि बाँकी सिलिन्डर केही समयपछि आउनेछन्’, गौतमले  भने, ‘त्यसका लागि चीनसँग कुटनीतिक पहल गरिएको थियो ।’

कोरोना महामारीको संक्रमण बढेसँगै अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ। त्यो अभाव कम गर्नका लागि सरकारले खाली अक्सिजन सिलिन्डर किन्ने निर्णय गरेको थियो। 

निजी क्षेत्रबाट सञ्चालित अक्सिजन उत्पादक उद्योगहरूले सिलिन्डर अभावमा मागअनुसार उत्पादन गर्न नसकेको जनाएका थिए। सरकारले ग्यास उद्योगीलाई नै सिलिन्डर ल्याउन भनेको थियो। तर, उनीहरूले सिलिन्डर ल्याउन लामो समय चाहिने भन्दै तत्कालका लागि सम्भव नहुने बताएका थिए। 

उनीहरुकै आग्रहमा सरकारले कुटनीतिक पहलमार्फत सिलिन्डर ल्याउन लागेको हो। यसअघि भारतबाट ल्याउने भनिएको थियो। तर, भारतमै ग्यासको हाहाकार मच्चिरहेको बेला त्यहाँको सरकारले दिन नसक्ने जनाएको थियो। 

भारतले दिन नसक्ने जनाएपछि चीनमार्फत ल्याउन लागिएको प्रवक्ता गौतमले बताए। सिलिन्डर आएपछि अस्पतालहरूमा देखिएको अक्सिजन अभावको समस्या हट्ने बताए। 

नेपालमा अक्सिजनको अभाव नरहेको भन्दै सिलिन्डरको समस्या रहेको बताए। ‘नेपालका उद्योगहरूले अक्सिजन त जति मागेपछि दिन तयार छौं भनेका छन्’, उनले भने, ‘तर, सिलिन्डरको अभाव रहेछ। भएका पनि घरमा लगेर थन्काएको अवस्था छ। त्यसैले उहाँहरूलाई हामी सहयोग गर्छौँ।’ 

नेपालमा दुई दर्जन उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन्। उनीहरूले वार्षिक ५० लाख सिलिन्डर बजारमा पठाउने गरेका छन्। तर, बजारमा रहेका सिलिन्डर फिर्ता नहुँदा समस्या भइरहेको उनीहरूको भनाइ छ। 
यसका लागि सरकारले सहयोग गरेको खण्डमा नेपालको मागअनुसार ग्यास दिन सकिने नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए।

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार ११:५०:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया