विद्युतीय मेसिनले धानेन, दाउरामा जलाइँदै कोभिड संक्रमितको शव (फोटो/भिडियो)
हिजो मात्रै ३२ शव आए, आज अझै बढ्न सक्ने

कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण उपत्यकामा मानिसहरुको मृत्यु हुने क्रम बढेपछि शव व्यवस्थापनमा चुनौती थपिएको छ। पहिलो लहरको कोरोनाकालमा पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमै जलाउने गरिन्थ्यो। 

तर यसपटक कोरोनाको कडा संक्रमणका कारण मानिसको मृत्युदर उपत्यकामा ह्वात्तै बढेपछि विद्युतीय शवदाह गृहले धान्‍न नसकेको हो। विद्युतीय शवदाह गृहले नधानेपछि त्यसकै पछाडि बागमती किनारमा चिता बनाएर जलाउन थालिएको हो।

उपत्यका बाहिर प्रशस्त ठाउँ हुने स्थानमा कोभिडबाट ज्यान गुमाएकाहरुको शव नेपाली सेनाले गाड्ने गरेको थियो। तर उपत्यकामा गाड्ने ठाउँ नहुँदा नेपाली सेनाले जलाउन पशुपति क्षेत्रको शवदाह गृहमा लाने गरेको छ।

सेनाले विभिन्न अस्पताल र घरबाट व्यवस्थापनका लागि लगेका शवलाई विद्युतीय शवदाह गृहले जलाउन नभ्याएपछि त्यसको पछाडि बागमती किनारमा चिता बनाएर जलाउन थालिएको हो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत कोभिड संक्रमितको शव जलाउने कामको नेतृत्व लिएका सुवास कार्कीले आइतवार मात्रै ३२ वटा शव आएको बताए। 

भिडियो



शवदाह गृह पछाडि एक पटकमा चार वटासम्म चिता बनाएर शव जलाउने गरिएको छ। यसअघि मन्त्रिपरिषद्ले विद्युतीय शवदाह गृह थप्ने निर्णय गरेको थियो। तर त्यहाँ रहेको एउटा शवदाह गृहको मेसिन बिग्रिएकाले  किनारमै जलाउन थालिएको हो। 

'विद्युतीय शवदाह गृह पछाडि चारवटा चिता बनाइसकेका छौँ। अब  त्यसले पनि धान्न देखिएन', कार्कीले भने, 'अब थप चारवटा चिता बढाएर आठवटा पुर्‍याउँदैछौ।' कोभिड संक्रमितको शव अनिवार्य विद्युतीय शवदाह गृहमा जलाउने गरिएकोमा अब धान्‍न नसकेपछि दाउरामै जलाउन थालिएको हो। उपत्यकामा निधन भएका सबैको शव नेपाली सेनाले व्यवस्थापन जिम्मा लिएको छ।



त्यहाँ शव जलाइरहेका कर्मचारीहरुले शव आउने क्रम तीव्र भएकाले जलाउन नभ्याउने अवस्था आएको बताए। 'अहिले नै चारवटा जलाइरहेका छौँ', एक कर्मचारीले भने, 'अझै हिजो बितेका आठजनाको आउँदैछ। आज बितेकाहरू झन् धेरै रहेको खबर  आएको छ।'

यस्तो छ अवस्था 

विद्युतीय शवदाह गृहमा एउटा मात्रै मेसिन सञ्चालनमा छ। जसले एउटा शव जलाउन कम्तीमा एक घण्टा लगाउँछ।

'विद्युतीय शवदाह गृहको मेसिनले एउटा शव जलाउन करिब एक घण्टा लगाउँछ। अब त्यो मेसिनले मात्रै धान्‍न सकेन', कार्कीले फरकधारसँग भने, 'त्यहीकारण अब हामीले चिता बनाएर दाउराको प्रयोगबाट शव जलाउन थालेका हौँ। हिजो ३२ वटा शव आएका थिए। आज अझै त्यो संख्या बढ्ने थाहा पाएर चिता पनि आठवटा बनाउँदैछौँ।'

विद्युतीय मेसिनले नधानेपछि पशुपति क्षेत्र विकास कोषले आइतवार बेलुकादेखि कोभिड संक्रमितको शव चितामै जलाउन थालेको हो। कोभिड संक्रमितको शव पशुपति मन्दिर क्षेत्रको घाटमा नलगी विद्युतीय शवदाह गृह नजिकै बागमती किनारमा शव जलाइरहेको कार्कीले जानकारी दिए। 

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १४:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया