प्रदेश २ मा एनेस्थेसियोलोजिस्टदेखि​  स्विपरसम्म ४१७ दरबन्दी थपियो

प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि  ४१७ अस्थायी दरबन्दी थपेको छ । 

प्रदेश मन्त्रिपरिषद् बैठकले सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

कोरोना उपचार तथा नियन्त्रणका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिस्टदेखि लिएर स्वीपरसम्मको पद रहेको छ । थप गरिएका दरबन्दीमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ ।

बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला-जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्री समेत निर्धारण गरेको छ । 

जसअन्तर्गत सप्तरी जिल्लाका लागि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र बारा तथा पर्सा जिल्लाका लागि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ । 

जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धित जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पुलको रुपमा काम गर्ने भएका छन् । बैठकले यसअघि पिसिसिएमसीको निर्णयहरुलाई समेत अनुमोदन गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १७:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया