ओलीलाई विश्‍वासको मत : महन्थ ठाकुरले दिने, उपेन्द्र यादवले नदिने
माधव पक्षले धोका नदिए महन्थको साथले सरकार जोगिने

२७ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन । यो दिन ओलीले एक तिरबाट दुई शिकार गर्न लागेको चर्चा भइरहेको छ

सत्ता बदल्न तयार भएकाहरुलाई यो दिन अवसर बनेको छ। कांग्रेस–माओवादीसहितलाई यो दिन अवसरका रुपमा आएको छ। तर प्रधानमन्त्री आफैँ भने विश्वासको मत लिएर पुनः सरकार चलाउन चाहन्छन् । 

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेकी हुन् ।

संसदको विशेष अधिवेशनबाट ओलीले विश्वासको मत नपाए सरकार ढल्छ, अर्थात उनी काम चलाउमा परिणत हुन्छन्। यदि बहुमत आए उनकै सरकार अर्को निर्वाचनसम्म चल्ने छ।

कांग्रेससहितका दलले ओली सरकार हटाउने योजनालाई मूर्तरूप दिने अवसर पनि आएको छ। उता अहिलेसम्म समर्थन फिर्ता नगरेको माओवादीलाई भने यसले संकट ल्याइदिएको छ। विश्वासको मत दिए ओली नै अघि बढ्छन् नदिएमा सरकार ढलेर देश चुनावतिर जाने जोखिम छ। यही अवस्थामा माओवादी चुनावमा गएर हार्ने जुवा खेल्ने पक्षमा छैन। 

राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरिसकेपछि सत्तारुढ, प्रमुख प्रतिपक्षीसहित अन्य दलहरु पक्ष वा विपक्षमा जानेबारे रणनीति निर्माणमा जुटेका छन्। 



ठाकुरको तयारी

ओली सरकार टिकाउने वा ढाल्ने खेलमा जनता समाजवादी पार्टी निर्णायक छ । निर्णायक भएकैले जसपा अहिले दुई समूहमा विभाजित छ। अध्यक्ष महन्थ ठाकुरको समूह ओलीलाई सघाउन तयार छ भने उपेन्द्र यादव  नेतृत्वको समूह विपक्षमा उभिएको छ।



अहिले जसपामा ठाकुर नेतृत्वको पक्ष विश्वासको मतलाई लिएर सक्रिय भएको स्रोतले जनाएको छ । एकढिक्का भएर जाने निर्णयसहित जसपाले आफ्ना सांसदलाई बोलाउन थालेको छ । स्रोतका अनुसार हिजो भएको सहमति बमोजिम हस्ताक्षर संकलनका लागि सांसदहरुलाई काठमाडौं बोलाउन थालिएको छ । 

ठाकुरनिकट सांसदलाई फोन गरेर भन्न थालिएको छ, ‘तपाई कहाँ हुनुहुन्छ, काठमाडौं हो भने यतै बस्नुहोला । बाहिर हो भने आजसम्म आउनुहोला।’ शीर्ष नेता आफैँ फोन गरेर सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई काठमाडौं आउन भनिरहेका छन्। बहुमत सांसदको हस्ताक्षर संकलन गरेर ओली सरकारलाई विश्वासको मत दिने तयारीमा ठाकुर पक्ष लागेको छ।

परीक्षाको घडीमा जसपा

दलहरु अहिले दुई कित्तामा विभाजित छन् । एउटा खेमा प्रधानमन्त्री ओलीलाई जसरी पनि सरकारबाट हटाउने तयारीमा छ भने अर्को खेमा ओली सरकारलाई सघाउने पक्षमा छ । 

अहिलेसम्मको राजनीतिक दृश्य अनुसार ओलीलाई सरकारबाट हटाउने पक्षमा कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम–उपेन्द्रको समूह लागिपरेको छ । ओलीको बचाउमा ठाकुर–राजेन्द्र महतो नेतृत्वको जसपा खेमा लागेको छ।

सरकार गिराउने वा टिकाउने यो दुईवटै खेलमा जसपा निर्णायक बन्न पुगेको छ । सरकारको सन्दर्भमा जसपा निर्णायक गोटी बनेपछि दुई धारमा विभाजित मात्रै भएको छैन, पार्टी नै फुटको संघारमा छ।

तर जुन विवादले जसपा दुई गुटमा विभाजित भयो, त्यो खेल २७ वैशाखबाट समाप्त हुँदैछ । त्यसैले यो विषय झन् रोचक बन्न पुगेको छ । परीक्षाको घडीमा जसपाले कसलाई समर्थन गर्छ? यो विषय जति रोचक बनेको छ, उतिकै पेचिलो पनि छ।

विश्वासको मत दिँदैनौ : उपेन्द्र यादव 
 

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको विपक्षमा उभिने तयारी रहेको प्रतिक्रिया दिएका छन् । फरकधारसँग कुरा गर्दै उनले भने,‘ प्रधानमन्त्रीलाई किन विश्वासको मत दिने? उहाँले तीन वर्षमा के राम्रो गर्नुभयो र विश्वासको मत दिनलाई, केही काम उपलब्धिमूलक छैन।’ 

ओलीले जनताको जीउधनको रक्षा पनि गर्न नसकेको उनले बताए। ‘न राम्रो काम, न लोकतन्त्रको रक्षा, न त कोरोनाबाट जनताको जीउधनको रक्षा गर्नुभयो’, उनले भने, ‘विश्वासको मत लिने लायकको काम नगर्नु भएकोले हामी सहयोग गर्दैनौँ।’ पूरै पार्टी नै विश्वासको मतमा ओलीविरुद्ध जाने गरी छलफल भइरहेको उनको भनाइ छ ।

बैठकले निर्णय गर्छ : कर्ण

यसबारे अन्य नेताहरुको प्रतिक्रिया पनि अलग अलग छ। ‘सरकारले हाम्रो माग जसले सम्बोधन गरिसकेको छ, हामी समर्थन गर्छौँ’, जसपा नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘यसबारे पार्टी बैठकले निर्णय गर्छ, पार्टीको निर्णय जे आउँछ हामी त्यही गर्छौँ।’ 

विश्वासको मतको विपक्षमा जसपा जान्छ कि जाँदैन भन्ने प्रश्नमा पनि उनले होइन भन्न सकेनन्। उनका अनुसार ठाकुर नेतृत्वको खेमा ओली सरकारलाई नै सघाउने तयारीमा छ।

यस्तो छ अंक गणित 

प्रतिनिधिसभामा हाल कायम २७१ को बहुमतका लागि १३६ जना सांसद आवश्यक पर्छ । सत्तारुढ एमालेमा १२१ सांसद छन् । एमालेका पूरा सांसद ओलीको पक्षमा उभिएमा सजिलै बहुमत पुग्छ। 

राजनीतिक रुपमा माओवादी केन्द्र ओलीको विपक्षमा रहे पनि सदनबाट विश्वासको मत फिर्ता लिन सकेको छैन । विपक्षी दलहरुले पनि अहिलेसम्म प्रधानमन्त्रीको विपक्षमा मत पुर्‍याउन सकेका छैनन् । कांग्रेस, माओवादी लगायतका दलले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सकेका छैनन् ।

प्रधानमन्त्रीको विपक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका १८ जना सांसद गरी १२८ मत छ। तर एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरे या अनुपस्थित भएमा ओलीलाई समस्या पर्छ।

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १७:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया