विश्वासको मत लिने घोषणापछि ओलीका विकल्प के-के ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छिन्। फागुन २३ गतेपछि कानुनी रुपमा एउटै पार्टी भएको तर व्यवहारिक रुपमा फरक-फरक पार्टीको अभ्यास गर्दै आएको एमालेभित्र अहिले पनि दुई समूहको शक्ति संघर्ष जारी छ।

पुस ५ गते प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा फागुन ११ गते पुनःस्थापित भयो। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्कायो। तर पुस ५ देखि फागुन २३ सम्म छुट्टाछुट्टै पार्टीको अभ्यास गर्दै आएका एमालेको ओली पक्ष र माधव नेपाल पक्षले अहिलेसम्म छुट्टा-छुट्टै गतिविधि गर्दै आएका छन् ।

विपक्षी दल प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन हरसम्भव प्रयास गरिरहेका छन्। आफ्नै पार्टीभित्रको विवाद उत्कर्षमा छ। यस्तो अवस्थामा प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णयले यतिबेला राजनीतिमा नयाँ तरंग ल्याएको छ ।  

के उद्देश्यले विश्वासको मत लिदैछन् ओली भन्ने सबैको चासोको विषय बनेको छ।

ओलीले विश्वासको मत पाउने सम्भावना कति ? विश्वासको मत पाएनन् भने के हुन्छ ? नेपाल पक्षले के गर्ला ? माओवादी केन्द्रले नै पनि विश्वासको मत कायमै राख्ला अथवा के गर्छ ? के ओली चुनावमै जान चाहन्छन् ? यही विषयहरुमा ओलीका के-के विकल्प छन् भनेर हामीले खोज्ने प्रयास गरेका छौ।

सहज छैन ओलीलाई



अहिलेकै अवस्थामा संसदमा रहेको अंकगणित र राजनीतिक परिस्थितिअनुसार ओलीले प्रतिनिधिभा आफ्नो पक्षमा विश्वासको मत पाउन सक्ने अवस्था छैन। २७५ सदस्यीय प्रतिनिधिसभामा हाल जम्मा २६६ जना सांसद छन्। त्यसमध्ये सभामुख र चारजना निलम्बित सांसदले मतदान गर्न पाउँदैनन् । कांग्रेसका २, जसपाका २ जना निलम्बनमा छन्। माओवादी केन्द्रका ४ सांसद् पदमुक्त भएका छन्। त्यसपश्चात् प्रतिनिधिसभामा एमालेको एक्लै १२१ मत छ। कांग्रेस ६१, माओवादी केन्द्र ४९, जसपा ३२ र साना दलको तीन सिट छ।

प्रधानमन्त्री ओलीलाई बहुमत पुग्न १३६ सांसद चाहिन्छन्। एमालेका सबैले एकजुट भएर मत हालेको खण्डमा थप १५ सांसद भए पुग्छ ओलीलाई पुग्छ। जसपाको महन्थ ठाकुर पक्षले मत दिँदा पनि विश्वासको मत पुग्ने अवस्था आउछ। उक्त पक्षले ओलीलाई मत दिने पक्कापक्की जस्तै छ। जसपा मात्र होइन राप्रपा र नेपाल मजदूर किसान पार्टीका एक-एक मत पनि ओलीले पाउन सक्ने सम्भावना छ।



जसपासँग अहिले ३२ मत छ। जसपाको एउटा पक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले ओलीलाई सघाउने बताइसकेका छन्। तर बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको पक्षमा छैनन्। यस्तो अवस्थामा जसपालाई विभाजन गराएर आफ्नो पार्टी एक बनाउन सकेको खण्डमा ओलीले विश्वासको मत पाउन सक्ने सम्भावना छ।

विश्वासको मत नपाएमा के हुन्छ ?

तर फरक पार्टीकै अभ्यास गर्दै आएको नेता माधव नेपाल पक्षले के गर्ला भन्ने कुरा अहिले महत्वपूर्ण विषय बनेको छ । अबको राजनीति कता जान्छ भन्ने कुराको निर्क्योल नेपाल पक्षको हातमा रहेको प्राध्यापक खड्क केसी बताउँछन्।

बैशाख २७ गते विश्वासको मत लिँदा नेपाल पक्षका केही सांसदले मात्र पनि ओलीलाई मत दिएनन् भने ओलीले बहुमत प्राप्त गर्न सक्दैनन्। त्यसो हुँदा संसदको सबैभन्दा ठूलो दल एमाले र दलको नेता ओली नै भएकाले संविधानको धारा ७६ (३) अनुसार ओली पुनः प्रधानमन्त्री नियुक्त हुने अवस्था आउँछ।

पुनः प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार ओली फेरि प्रतिनिधिसभामा विश्वासको मतका लागि जानेछन्। तर, सोही परिस्थितीअनुसार ओलीले पुनः बहुमत पाउन सक्ने अवस्था भने रहनेछैन। तत्पश्चात् संविधानको धारा १७६(७) आकर्षित हुनेछ। प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्ने र संसद्ले नयाँ प्रधानमन्त्री पनि दिन नसक्ने अवस्थाको सिर्जना भएको अवस्थामा धारा ७६(७) को वैधानिक प्रावधानअनुसार प्रतिनिधिसभा स्वतः विघटन भई मुलुकमा नयाँ चुनावको घोषणा गर्नुपर्ने अवस्था आउँछ।

प्राध्यापक खड्ग केसी प्रतिनिधिसभाको अहिलेको मतको अवस्था हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन पनि सक्ने र नपाउन पनि सक्ने दुवै सम्भावना रहेको बताउँछन्। ओलीको पक्षमा विश्वासको मत आउँदा एक वर्षसम्मका लागि सबैकुरा अगाडी बढ्ने सम्भावना भएपनि बहुमत आइहाल्ने स्थिति भने नरहेको केसीको भनाइ छ।

ओलीले विश्वासको मत गुमाएको अवस्थामा मुलुक अन्ततः निर्वाचनमै जाने सम्भावना रहेको उनी बताउँछन्। अर्को पक्षले पनि तत्काल बहुमत पुर्‍याउन सक्ने अवस्था देखिदैन। 'विश्वासको मत गुमाएमा उहाँ(ओली)को सरकार विघटन हुन्छ र संविधानको धारा ७६(३) आकर्षित हुन्छ। त्यसअनुसार सबैभन्दा ठूलो दलको हिसाबले ओली नेतृत्वकै सरकार बन्छ', प्राध्यापक केसी भन्छन्, 'उहाँले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ। त्यो चरणमा पनि उहाँले विश्वासको मत पाउन सक्नुभएन भने।

अन्ततः निर्वाचनमै जानुपर्ने हुन्छ। अबको निष्कर्ष भनेको निर्वाचनमा मुलुक जाने सम्भावना नै बढी देख्छु म।'

नेपाल पक्षबाट खतरा

ओली आफ्नै पार्टीका माधव नेपाल-झलनाथ खनाल पक्षबाट भने, असुरक्षित छन्। नेपाल पक्षका ३० सांसद्लाई ओलीले स्पष्टीकरण सोधेका छन्। जसमा वरिष्ठ नेता झलनाथ  खनाल र माधवकुमार नेपालसहितका सांसद्हरु छन्।

त्यसमध्ये ध्रुब शाही र पार्वती विसुन्खेले संस्थापन पक्ष रोजिसकेका छन्। राजबहादुर शाहीले पनि पार्टी विभाजन हुने अवस्थामा संस्थापन पक्षलाई नै साथ दिने बताउँदै आएका छन्। गंगा थारुले पनि पछिल्लो चरणमा ओलीलाई साथ दिने संकेत देखाएकी छिन्।

त्यसो त नेपाल पक्षका योगेश भट्टराई लगायतका नेताहरु पनि पार्टी विभाजन गरेर जाने पक्षमा देखिदैनन्। त्यसो हुँदा पनि फ्लोर क्रस गर्ने नेपाल पक्षलाई रोक्न नसकेमा ओलीलाई विश्वासको मत पुग्दैन।

के गर्ला माओवादी ?

ओलीले विश्वासको मत लिने घोषणा गरिसकेका छन्। वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भइसकेको छ। अहिलेसम्म माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन कानुनी रुपमा फिर्ता लिएको छैन। ओलीविरुद्ध बहुमत पुर्‍याउन नसकेकै कारण कांग्रेस, माओवादी, जसपा (बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष)ले संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न सकिरहेको छैन।

यही अवस्थामा ओलीले विश्वासको मत लिँदैछन्। ओली आफैँले विश्वासको मत लिइरहँदा माओवादीले विश्वासको मत कायमै राख्‍ने सम्भावना कति हुन्छ? भन्ने कुरा पनि अहिलेको महत्वपूर्ण विषय हो। सबैभन्दा ठूलो नैतिक संकट अहिले माओवादीलाई पर्दैछ। अधिवक्ता तथा पत्रकार लोकेन्द्र ओली माओवादीले ओलीलाई समर्थन कायम राखिराख्‍ने सम्भावना न्यून रहेको बताउँछन्। ओलीविरुद्ध बहुमत पुर्‍याउन नसक्दा अविश्वासको प्रस्ताव अगाडि नबढाएपनि ओली आफैँले विश्वासको मत लिँन खोज्दा भने माओवादीले समर्थन कायमै राखिरहने सम्भावना नहुने उनको भनाइ छ।  

विश्वासको मतमा फेल भएमा प्रधानमन्त्री ओली कामचालाउ भई अन्ततः निर्वाचनमा जाने स्थिति नै देखिएको अधिवक्ता ओलीले बताए। 'अब माधव नेपाल पक्षले साथ नदिएमा ओलीले विश्वासको मत गुमाउँछन्। अर्को पक्षले पनि यही अवस्थामा बहुमत पुर्‍याउन सक्ने देखिँदैन। त्यसो हुँदा सरकार कामचलाउ हुन्छ', अधिवक्ता ओलीले भने, 'ओली कामचलाउ भइसकेपछि पनि सरकार निर्माणको आह्वान त ओलीलाई नै गर्छ किनभने उ सबैभन्दा ठूलो दल हो। अन्ततः स्थिति चुनावमा जान्छ होला भन्ने लाग्छ।'

ओली समूहका निकट एमाले नेता गोकुल बास्कोटाको भनाइले पनि अब मुलुक चुनावतिर जाने संकेत देखिन्छ। 'ल अब बाह्रै महिना नै सरकारको विरोध गरी बस्ने जति सबैलाई आनन्द भो होला नि। मिसनवालालाई शुभकामना छ', नेता बास्कोटाले सामाजिक सञ्जालमा भनेका छन्, 'ओली हटाउन नसके वा जनतामा जानु परेमा फेरि उही किच-किच गर्ने हैन। उडाएरै हान्ने हो सुतेको ठाउँमा हान्ने शैली लोकतन्त्रमा काम छैन।'

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार ८:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया