एम्बुलेन्स आउँदै आएन, ट्रयाक्टरमा लैजाँदा बाटैमा ज्यान गयो कोरोना संक्रमितको
वडाध्यक्ष भन्छन् : पिपिई सुटको बहानामा निजी एम्बुलेन्सले बोक्न मानेनन्

देशभर कोरोना संकट चुलिरहँदा तीनै तहका सरकारको तयारी बेकामे हुँदै गएको देखिएको छ। संघीय, प्रदेश र स्थानीय तहका सरकारको निकम्मापनका कारण सर्वसाधारणले उपचार नै नपाइ ज्यान गुमाउन थालेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि संक्रमितका लागि अस्पतालको बेड अभाव नहुने बताइरहेका बेला घरबाट अस्पताल लैजाने एम्बुलेन्ससमेत पाउने अवस्था छैन। यस्तै दर्दनाक दृश्य नवलपरासीको देवचुली नगरपालिकाबाट आएको छ। 

पूर्व नवलपरासीस्थित देवचुली नगरपालिका वडा नम्बर १३ निवासी एकजना कोरोना संक्रमितलाई लिन कुनै एम्बुलेन्स आउनै मानेनन्। घरबाट समयमा अस्पताल पुर्‍याउने भरपर्दो साधन अभावमा ती संक्रमितले बाटैमा दम तोड्नुपरेको छ।

जिल्लामा रहेका कयौँ एम्बुलेन्सलाई परिवारका सदस्यले खबर गर्दा पनि आएनन्। त्यहीकारण ६८ वर्षीय थिनप्रसाद काफ्लेलाई परिवारका सदस्य सामान ढुवानी गर्ने ट्याक्टरको डालीमा हालेर अस्पताल लगे। 

ललितपुरस्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएका उनी नवलपरासीस्थित होम आइसोलेसन बसेका थिए । वैशाख २० गते स्वास्थ्य नाजुक भएपछि अस्पताल लान खोज्दा कुनै पनि एम्बुलेन्स र अन्य यात्रु बोक्ने सवारी साधन आएनन्। 

त्यसपछि परिवारका सदस्यले बाध्य भएर ट्याक्टरको सहारा लिए। कोभिड संक्रमित भएका कारण परिवारका एक सदस्यले बल लगाएर उनलाई ट्याक्टरको डालीमा चढाए। अन्य छिमेकीहरू उनलाई ट्याक्टरमा चढाउँदा कोरोना सर्ने डरले छेउमा समेत जान मानेनन्। 



त्यसपछि उनलाई ट्याक्टरको डालीमा हालेर दम्कौली अस्पताल लगियो। तर उनले अस्पतालको मुख देख्नै पाएनन्, बाटैमा ज्यान गुमाए। यदि अक्सिजन सपोर्टसहितको एम्बुलेन्स आएको भए उनको ज्यान जोगिन सक्थ्यो।

उनलाई अस्पताल लैजान दम्कौली अस्पताल फोन गर्दा कुनै एम्बुलेन्स खाली नभएको जवाफ परिवारका सदस्यले पाए। एम्बुलेन्स तयार नभएपछि निजी सवारी साधन खोजियो। तर ती पनि मानेनन्। अन्त्यमा परिवारका सदस्य घरका अभिभावकलाई ट्रयाक्टरमा हालेर अस्पताल लैजान बाध्य भए।



कोभिड संक्रमण भएको भन्दै उनलाई कुनै साधनले बोक्नै मानेनन्। कोभिड सर्ने भन्दै छिमेकीले पनि भएका गाडीमा बोकिदिएनन्। 

काफ्लेले निजी अस्पतालमा कोभिड परिक्षण गराएको भन्दै उनको स्वास्थ्यबारे जानकारी लिन नगरपालिका र वडाबाट कोही पनि नआएको परिवारका सदस्यले गुनासो गरेका छन्।

५ दिनदेखि होम आइसोलेसनमा बसेका उनलाई सोमबार बिहान श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि परिवारका सदस्यले एम्बुलेन्स खोज्न थालेका थिए। तर अस्पतालले एम्बुलेन्स बिरामी बोकेर पोखरा गएको भनेपछि काफ्लेले उपचार नै नपाइ ज्यान गुमाएका हुन्। 

देवचुली नगरपालिका-१३ का वडाध्यक्ष दिलबहादुर खत्रीले एम्बुलेन्स नआएकै कारण काफ्लेको ज्यान गएको बताए। 'अस्पतालको एम्बुलेन्स व्यस्त रहेछ। अन्य एम्बुलेन्सले हामीसँग पीपीई सुट छैन भनेर बिरामीलाई अस्पताल लान मानेनन्,’ उनले भने, 'त्यहीकारण समयमा अस्पताल पुर्‍याउन नसक्दा ज्यान गएको हो।' 

यसबारेमा नगरपालिका र वडाको गम्भीर ध्यानाकर्षण भएको उनले बताए। 'आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने तर्फ सबै सजग रहन्छौं', उनले भने, 'नगरपालिकालाई यसले एउटा पाठ पनि सिकाएको छ।'

मृतकका परिवारमा श्रीमती, छोरा बुहारी र एकजना नाति छन्। उनीहरु घरमै धार्मिक परम्परा अनुसार काजक्रिया गरेर बसिरहेका छन्। 

भिडियो

 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १३:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया