कोरोनाको दोस्रो लहरपछि होटल व्यवसायीको चिन्ता : अब कसरी टिक्न सकिन्छ ?

विश्वव्यापी कोरोना महामारीले सबैभन्दा बढी मारमा परेको होटल व्यवसाय नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएसँगै अझै बढी समस्यामा पर्ने भएको छ । कोरोना संक्रमण सुरु भएसँगै चपेटामा परेको होटल व्यवसाय हालसम्म पनि लयमा फर्कन सकेको थिएन । कोरोना संक्रमणका कारण लामो समयसम्म भएको लकडाउन पश्चात् सञ्चालनमा आउने तयारीमा रहेको होटल व्यवसाय पुनः दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै व्यवसाय नै टाट पल्टिने अवस्थामा पुगेको हो ।

पहिलो चरणको लकडाउन पश्चात् साना होटल, रेस्टुराँ तथा क्लबहरू खुले पनि तारे होटल सञ्चालनमा आउन सकेका थिएनन् । विदेशी पर्यटक लक्षित होटलहरु लामो समय बन्द भएर पुनः सञ्चालनमा ल्याउन नयाँ योजना बनाइरहँदा कोरोनाको दोस्रो लहरको संक्रमणले पुनः लकडाउन हुँदा व्यवसाय नै टाट पल्टिने अवस्थामा पुगेको होटल मेरियट काठमाडौंका उपाध्यक्ष सुमित अग्रवाल बताउँछन् ।

‘हामी होटल सञ्चालकलाई पहिलो वा दोस्रो चरणको कोराना संक्रमण र लकडाउन भन्ने नै छैन,’ उनले भने, ‘हामीले पहिलो चरणको लकडाउनदेखि नै होटल व्यवसायमा घाटा व्यहोर्दै आएका छौं जुन अहिले पनि निरन्तर नै छ ।’

उनका अनुसार यही गतिमा कोरोना संक्रमण फैलँदै जाने हो भने नेपालमा ठूला तारे होटलहरु बन्द नै हुने अवस्थामा पुग्ने छन् । विशेष गरी पाँच तारे होटल खर्चालु विदेशी पर्यटकलाई लक्षित गरी खोलिएका छन् । तर, कोरोनाले विदेशी पर्यटक आउन नसक्दा आन्तरिक पर्यटकलाई लक्षित गरी तारे होटलहरुले विभिन्न प्याकेज ल्याएका थिए । त्यसरी प्याकेज ल्याएर होटल सञ्चालन गर्दा कुनै राम्रो नतिजा नआएको र सञ्चालन खर्चले गर्दा होटल अझै बढी घाटामा गएको अग्रवाल बताउँछन् ।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण कहिलेसम्म जाने हो निश्चित छैन तर अहिलेकै अवस्था हेर्दा पनि सन् २०२३ सम्म तारे होटलहरु चल्ने अवस्था देखिएको छैन’, उनले भने, ‘ठूला होटलहरु २ वर्ष नचल्ने हो भने त्यसको घाटा पूर्ति गरेर सञ्चालन मुनाफामा जान ५ वर्ष लाग्नेछ ।’

पहिलो चरणको लकडाउन सुरु भएसँगै होटल एसोसिएसन नेपालका अध्यक्ष सिर्जना राणाले सञ्चालन गर्दै आएको होटल अन्नपूर्ण खर्च धान्न नसक्ने भन्दै बन्द भएको थियो । सर्वसाधारणलाई सेयर जारी गरेका ठूला पाँच तारे होटलहरुले प्रकाशित गरेको वित्तीय विवरण हेर्ने हो भने पनि कोरोनाका कारण घाटा उच्च रहेको छ ।



भर्खरै मात्रै चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको चन्द्रागिरि हिल्स लिमिटेडको घाटा १८ करोड २२ लाख रुपैयाँ छ । जबकि उक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ मात्र रहेको छ । यसैगरी ८४ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सोल्टी होटलको चालु आवको दोस्रो त्रैमाससम्मको घाटा मात्रै ११ करोड ५ लाख रुपैयाँ छ ।

नेप्सेमा सूचीकृत पाँच तारे होटलमध्ये १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ओरेन्टियल होटलको ६ महिनाको घाटा १४ करोड रुपैयाँ रहेको छ । यसैगरी तारागाउँ रिजेन्सी होटलको दोस्रो त्रैमाससम्मको घाटा ८ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको चुक्ता पुँजी १ खर्ब ८८ करोड रुपैयाँ रहेको छ । यसैगरी नेप्सेमा सूचीकृत नभएका तारे होटलहरुको घाटा पनि उत्तिकै उच्च रहेको सम्बद्ध सञ्चालकहरु बताउँछन् । 



यसैगरी हानका प्रथम उपाध्यक्ष विनायक शाह पनि कोरोनाको सेकेन्ड भेरियन्ट सुरु भएसँगै होटल क्षेत्र थप तहसनहन हुने बताउँछन् । ‘हामीले अहिलेसम्म जेनतेन गरी कुल क्षमताको १० प्रतिशत मात्रै सञ्चालन गर्दै आएका थियौं अबका दिनमा त्यो पनि बन्द हुने भयो’, उनले भने, ‘साथै यही अवस्था केही समय रहने हो भने होटल व्यवसायले अबको ५ वर्षसम्म पनि प्रतिफल दिन नसक्ने उनको भनाइ थियो ।’

कोरोनाबाट उच्च प्रभावित होटल व्यवसायका लागि सरकारले आगामी आवको बजेटमार्फत् राहतका प्याकेज नल्याएको खण्डमा सबै होटलहरु बैंक करप्ट हुने सम्भावना उच्च रहेको समेत उनको भनाइ छ ।

‘अहिले मौद्रिक नीतिले कोरोनाबाट उच्च प्रभावित होटल व्यवसायका लागि २ वर्षसम्म किस्ता तथा व्याज तिर्न नपर्ने गरी छुट दिएको छ,’ उनले भने, ‘२ वर्षपछि व्यवसायीहरुले ती सबै किस्ता र ब्याज एकैपटक तिर्न सक्छन् कि सक्दैनन् त्यो मुख्य विषय हो ।’ साथै अहिले रेस्टुराँ तथा होटल व्यवसायमा सिजनल र रेगुलर गरी करिब ११ लाख श्रमिक रहेको र ती श्रमिकको भविष्यसमेत अन्योलमा रहेको उनी ठम्याइ छ ।

होटल व्यवसायीहरुलाई सहुलियत कर्जाको व्यवस्था मिलाएर सरकारले बचाउनु अत्यावश्यक भइसकेको राणाको भनाइ छ । उनी भन्छिन्, ‘उद्योग सरह होटलले पनि सेवा सुविधा पाउनुका साथै सरकारले करमा छुट दिनुपर्छ ।’ 

झन्झटिलो प्रक्रिया भएको कारणले होटल व्यवसायीहरुले पुनर्कर्जा लिन नसकेको हुँदा त्यसलाई सहज बनाउनु पर्ने होटल व्यवसायीले औँल्याएका छन् । पुनर्कर्जामा ब्याज कम गरेर भए पनि होटल व्यवसायीलाई टिकाउने नीति बनाउन सरकारले ध्यान दिनु पर्ने देखिएको उनीहरुको ठम्याइ छ । 

नेपालमा तारे होटल मात्र करिब १४० छन् भने अन्य साना ठूला गरी लगभग ८० हजार होटल सञ्चालनमा रहेको होटल संघको दाबी छ । होटल व्यवसाय समेत एक अभिन्न अंग रहेको पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ । 

पर्यटन क्षेत्रले मुलुकको जिडिपीमा तीनदेखि सात प्रतिशत योगदान गर्दै आएको छ । भनिन्छ, नेपालमा एक जना विदेशी पर्यटक आउँदा नौ जनाका लागि रोजगारी सिर्जना हुन्छ । तर, समस्या के देखिँदैछ भने जो पर्यटकका रुपमा यहाँ आउँथे उनीहरु नै बेरोजगार हुने अवस्था सिर्जना भइसकेको छ ।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १५:२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया